Logo
Logo

मन्त्रीलाई कति ढाँट्ने ?


756
Shares

काठमाडौं । नेपाल वायुेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले पटक–पटक सञ्चालक समितिको बैठक बोलाउँदै स्थगित गर्दै हावादारी योजना बाहिर ल्याएको निगम सञ्चालकले दृष्टिलाई जानकारी गराएको छ ।

ती सञ्चालकका अनुसार अर्बौं घाटामा गएको निगमले आन्तरिक स्रोतबाट कसरी जहाज किन्न सक्छ, जबकि नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषबाट लिइएको ऋण र ब्याजसमेत तिर्न नसक्ने अवस्थामा निगम पुगेको छ ।

निगम स्रोतका अनुसार निगमले खरिद गरेको दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी एयरबस जहाजको सावाँ र ब्याज ४६ अर्ब ३२ करोड ४३ लाख ३४ हजार ३ सय ९५ रुपैयाँ नागरिक लगानी कोष र सञ्चय कोषलाई तिर्नुपर्ने देखिन्छ । यस रकममा केही सावाँ ब्याज बुझाए पनि निगम घाटामा गएकोले अर्बौं रुपैयाँ बुझाउन बाँकी छ ।

निगम स्रोतका अनुसार आन्तरिक उडानका लागि जहाज खरिद गर्नुभन्दा ऋण तिर्नु उपयुक्त हुन्छ । तर, कमिशन खानकै लागि छ वटा चिनियाँ जहाज थन्क्याएर २ वटा १९ सिटे जहाज खरिद गर्ने योजना बनाइएको कुरा सार्वजनिक गरिएको छ ।

निगम स्रोतका अनुसार अध्यक्ष अधिकारीले आन्तरिक उडानका लागि नयाँ जहाज खरिद गर्ने प्रस्ताव सञ्चलाक समितिमा ल्याएका छैनन् । निगम स्रोतका अनुसार अध्यक्ष अधिकारीले मन्त्रीज्यूको आदेशमा खरिद गर्न लागेको बताउने गरेका छन् । मन्त्रिपरिषद्बाट नीतिगत निर्णय गरेर मन्त्रीलाई फसाउने योजना बनाइएको छ ।

निगमका सञ्चालकहरुले निगमको वास्तविक आम्दानी खर्चको विवरण माग्दासमेत अध्यक्ष अधिकारीले दिएका छैनन् । तर, मिडियामा मन्त्रीलाई झुक्याउन निगमको आर्थिक अवस्था सुधार भएको झुठो तथ्यांक सार्वजनिक गरेका छन् ।

निगम स्रोतका अनुसार निगमले अहिले पनि ग्राउण्ड हयाण्डलिङको स्रोतबाट कर्मचारीलाई तलब खुवाउने अवस्था छ । तर, व्यवस्थापनले भने ऋण तिर्न छाडेर कमिशनकै लागि १९ सिटे जहाज किन्ने योजना बनाएको छ ।

निगमको विभिन्न विभागमा रहँदा समेत भ्रष्ट र अनैतिक भनेर चिनिएका अध्यक्ष अधिकारी अहिले पनि सर्वोच्च अदालतको अन्तरिम आदेशमा टिकिरहेका छन् । सर्वोच्च अदालतको पूर्ण फैसलाबाट कुनै पनि दिन खुस्कन सक्ने देखेरै मन्त्री किरातीको पालामा करोडौं कमिशन खाने योजना बुनिरहेका छन् ।

यसमा मन्त्री किरातीको मौनतालाई निगम कर्मचारीहरुले रहस्यमय ढंगले हेरेका छन् । भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने मन्त्री किरातीले भ्रष्टाचारको आरोपमा मन्त्रिपरिषद्बाट बर्खास्त अधिकारीजस्ता व्यक्तिलाई किन काँखी च्यापेका हुन् बुझ्न सकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्