काठमाडौं । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले हालै चार एआइजीलाई चार प्रदेशको अनुगमनमा खटाए । सीमा क्षेत्रमा सुरक्षा निकायकै मिलेमतोमा तस्करी हुने गरेको सूचनाका आधारमा एआइजीलाई ‘अन द स्पट’ कारबाहीको अधिकारसहित खटाइएको थियो । जसमध्ये एआइजीद्वय मिरा चौधरी र टेकबहादुर तामाङले प्रतिवेदन बुझाइसकेका छन् । ती प्रतिवेदनमा सीमा क्षेत्रका कतिपय ठाउँमा प्रहरीको भूमिका शंकास्पद देखिएको भन्दै कारबाहीको सिफारिस भएको छ ।
यसरी कारबाही सिफारिस भए पनि सीमावर्ती जिल्लामा अवैध गतिविधि रोकिएको छैन । जस्तो कि कपिलवस्तुमा हालै प्रहरीले स्रोत नखुलेको पाँच लाख बरामद गरेको थियो । तर, अनुसन्धान बिना नै छाड्ने प्रयास भयो । उक्त घटना डिआइजीले थाहा पाएपछि बल्ल अनुसन्धान सुरु भएको छ ।
गत ६ गते कपिलवस्तु नगरपालिका १ बहादुरगञ्ज चोकमा दुर्घटना हुँदा दुई जना घाइते भए । मोटरसाइकल र ट्याक्टर ठोक्किदा लु ७६ प ८५७ नम्बरको मोटरसाइकलमा सवार मनोज गुप्ता र सोमनाथ चौहान घाइते भए । उनीहरुको मोटरसाइकलमा पाँच लाख रुपैयाँ बरामद भयो ।
सो पैसा चलखेलका आधारमा प्रहरीले फिर्ता दिन लागेको थियो । एसपी प्रेम बस्नेतले सेटिङका आधारमा पैसा फिर्ता दिन लागेका थिए, तर गुप्ता सीमा क्षेत्रमा अवैध कारोबारमा संलग्न व्यक्ति भएको भन्दै लुम्बिनी प्रदेशका डिआइजी उमेशराज जोशीले सूचना पाएपछि अनुसन्धान अघि बढाइएको स्रोत बताउँछ ।
कपिलवस्तुमा एसपी बस्नेतको मिलेमतोमा तस्करी जारी रहेको स्थानीय बताउँछन् । यशोधारा गाउँपालिकाको जयकुमार गुप्ता, दिलिप गुप्ता, दिनेश यादब, सुनिल यादब लगायतले प्रहरीसँग सेटिङ मिलाएर किराना सामान तस्करी गर्दै आएका छन् । एसपीका घुमुवा श्याम चौधरी लगायतलाई पैसा दिएर तस्करी हुने गरेको छ ।
उता इप्रका कोहलपुरले पनि बदमासी गरेको पाइएको छ । बेश्यावृत्तिको आरोपमा होटलमा छापा हानी अभियुक्तलाई छाडेको आरोप कोहलपुर प्रहरीमाथि लागेको छ । बसपार्कको एक होटलमा छापा हानी गत ४ जेठमा तीन जनालाई पक्राउ गरेको थियो । जसमा मुख्य व्यक्ति बैजनाथ–२ का पुष्कर गाइन थिए । उनलाई छाडेर चित्र नेपाली र पूर्ण विकलाई मात्र थुनेको प्रहरी स्रोतले जनाएको छ । यसमा डिएसपी सुन्दर तिवारी पनि छानबिनमा पर्ने सम्भावना छ ।