काठमाडौं । गत शनिबार नागपोखरीस्थित मेरियट होटलमा करिब तीन हजार युवा–युवती जम्मा भएका थिए । यूरोपमा बसाइसराई तथा वैदेशिक रोजगारीसम्बन्धि सेमिनारमा सहभागी हुन उनीहरू त्यहाँ पुगेका थिए । त्यसका लागि पोल्यान्डबाट दुई जना आएका थिए । उनीहरूले नै मेरियटमा सेमिनार गर्ने भनेर सामाजिक सञ्जालमार्फत प्रचार गरेका थिए ।
सस्तोमा पोल्याण्ड जान पाउने आशामा हजारौं युवा–युवती त्यहाँ जम्मा भएका थिए । तर, उनीहरु होटलको गेटबाटै भित्र छिर्न पाएनन् । दिनभर होटलमा तनाव भयो । होटलमा प्रहरी टोली खटियो । अन्ततः कार्यक्रम पनि रद्द भयो ।
सेमिनार गर्न भनेर आएका पोल्याण्डका ३० वर्षिया रेता फेयाडोसिक र ३७ वर्षिय ओलेग फेयाडोसिकलाईलाई प्रहरीले पक्राउ ग¥यो । नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति नलिई यसरी कार्यक्रम गरिएको भन्दै पक्राउ गरिएको छ । हालै वैदेशिक रोजगार ठगी मुद्दामा अनुसन्धान अघि बढेको छ ।
तर, नेपालका मेनपावर कम्पनीबाट प्रभावित भएर प्रहरी समेतको मिलेमतोमा सो कार्यक्रम रद्द गरी पोल्याण्डका नागरिकलाई थुनाएको सेमिनारमा गएकाहरुको आरोप छ । आफुहरुसँग उनीहरुले पैसा नलिएको र पोल्याण्ड जाने प्रक्रियाको बारेमा मात्र जानकारी दिन लागेको बताएका छन् ।
नेपालका केही मेनपावर कम्पनीले पनि पोल्याण्ड पठाउने तयारी गरेको र यसरी उनीहरुले सिधैं लैजादा आफुहरुको धन्दामा असर गर्ने भएकाले थुनाएको आरोप प्रहरीमाथि लागेको छ ।