भ्रष्टाचार मुद्दामा जेल सजाय भुक्तान गरेर निस्कँदा तत्कालीन कांग्रेस नेता खुमबहादुर खड्कालाई ‘एक क्विन्टल’को फूल मालाले स्वागत गरियो । आज खुमबहादुर भौतिक रूपमा छैनन् । तर, खुमबहादुरलाई फूल मालाले स्वागत गर्ने मनोवृत्तिहरू उच्च मनोबलका साथ समाजमा रजगज चलाइरहेका छन् ।
भ्रष्टाचार मुद्दामा सजाय भुक्तान गरिसकेका जेपी गुप्ताका महान् वाणीहरू सामाजिक सञ्जालमा छरपस्ट पढ्न पाइन्छ । दुःखको कुरा के भने– नैतिक रूपमा पतित जेपीले नैतिकताको पाठ सिकाइरहेका छन् । स्टाटसहरू पढ्दा यस्तो लाग्छ– दुनियाँले नैतिकताको पाठ जेपी बाट सिकुन् ! ठीक भन्नु भयो, राम्रो छ, चित्त बुझ्यो… यस्तै यस्तै कमेन्ट लेख्ने र सेयर गर्नेहरू कति हो कति !
भ्रष्टाचार जस्तो जघन्य अपराध गरेर सजाय काटिसकेका खुमबहादुरलाई फूल मालाले स्वागत गर्ने र जेपीको नैतिक शिक्षा पढ्नेहरूको मनोभाव एउटै हो । उनीहरूलाई लाग्छ– ‘भ्रष्टाचार गरेर खुमबहादुर र जेपीले दुनियाँकै महान् काम गरे । उनीहरूलाई घृणा भावले होइन, आदर्श भावले हेरिनु पर्छ ।’
दुई वर्ष अघि आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्मा भ्रष्टाचार मुद्दामा पक्राउ परे । शर्माको अनुहारमा लाज, शरम, हीनताबोध वा ग्लानि केही देखिएन । उनी मुस्कुराउँदै हिरासत पुगे । त्यसअघि, ठूलै कुरा गरेर ठूलै पुण्य कमाएको भावमा अभिव्यक्ति दिए । उनको हाउभाउ र मनोभाव बुझ्दा लाग्थ्यो– भ्रष्टाचार गर्नु पुण्यकर्म हो !
केही वर्ष अघि तत्कालीन सञ्चारमन्त्री तथा एमाले नेता गोकुल बाँस्कोटाले ७० करोड भ्रष्टाचार डिल गरेको अडियो लिक भयो । त्यो प्रकरणमा गोकुलले मन्त्री पद त गुमाए । तर, आजसम्म पनि गोकुललाई भ्रष्टाचार डिल हीनताको विषय बन्न सकेको छैन । खुलेआम बोल्दै छन्– ‘७० करोड खाएकै हो, के भो त ?’ उनै गोकुललाई जनताले अर्को चुनाव जिताएर पठाए । सामाजिक रूपमा दण्डित गर्नुपर्ने व्यक्तिलाई पुरस्कृत गरियो ।
केही समय अघि तत्कालीन राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले राजावादी दुर्गा प्रसाईँसँग दुई करोड रुपैयाँ भ्रष्टाचार डिल गरेको अडियो लिक भयो । उनलाई पनि आफ्नो कर्तुत सार्वजनिक भएको घटनाले अलिकति पनि छोएन । अलिकति लाज पनि लागेन । बरु, उल्टै धमास दिए– ‘मलाई कारबाही गरे कोर टिमको पोल खोल्छु ।’ पार्टीले सांसद पद त खोस्यो । तर, ढाकाकुमार अझै उच्च मनोबलका साथ रजगज गरिरहेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परे । बयानका लागि सरकारी वकिलको कार्यालय पु¥याउँदा उनले देखाएको हाउभाउले दुनियाँलाई चकित तुल्यायो । ठूलै युद्ध जितेर विजयउत्सव मनाइरहे झैँ मुस्कुराएर विजय भावको हात हल्लाउँदै फोटो खिचाए । भलै, रायमाझी हालसम्म अभियुक्त मात्र हुन् । अभियोग प्रमाणित नभए सफाइ पाउँछन् । तर, उपप्रधानमन्त्री समेत भइसकेका व्यक्ति जुन आरोपमा पक्राउ परे त्यो सामान्य कुरा होइन ।
प्रस्तुत घटनाक्रमहरू हेर्दा लाग्छ– भ्रष्टाचार मुद्दामा पक्राउ पर्नु दुनियाँको सबैभन्दा बहादुर साबित हुनु हो । मानव जगतका लागि सबैभन्दा महान् काम गर्नु हो । नत्र किन मुस्कुराउँथे भ्रष्टहरू, किन धम्की दिन्थे खुलेआम, किन सिधै भन्न सक्थे मैले भ्रष्टाचार गरेकै हुँ के गर्छस् ?
भ्रष्टाचार बढ्नु चिन्ताको विषय हो । कुनै न कुनै बेला भ्रष्टहरू कानुनी कठघरामा उभिएलान् पनि । तर, भ्रष्टहरू किन उच्च मनोबलका साथ हाम्रै अगाडि हिँडिरहेका छन् ? हाँसीरहेका छन् ? बोलिरहेका छन् ? भन्ने प्रश्नहरु गम्भीर छन् । यी प्रश्नहरूको जवाफ नखोजेसम्म भ्रष्टहरुको मनोबल गिर्दैन, झन् उँचो हुँदै जान्छ । मुख्य कुरा, भ्रष्टहरूको मनोबल उच्च बनाइदिने काम हामीबाटै भइरहेको छ ।
भ्रष्टाचार मुद्दामा सजाय भुक्तान गरेर रिहा हुँदै गर्दा खुमबहादुरलाई क्विन्टलको मालाले स्वागत गर्नेहरू हाम्रै समाजमा छन् । भ्रष्ट जेपी गुप्ताबाट नैतिकताको पाठ पढ्नेहरू पनि हाम्रै समाजमा छन् । सिधै भ्रष्टाचार गरेकै हुँ भन्ने गोकुल बाँस्कोटालाई अत्यधिक मत दिएर जिताउने पनि हाम्रै समाजका जनता हुन् । अनि, नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बालकृष्ण खाँडलाई ढोग्दै जयजयकार गर्ने पनि हामी नै हो !
भ्रष्टाचार जस्तो जघन्य अपराधको आरोप लाग्ने र दोषी ठहरिएकाहरूलाई सामाजिक रूपमा बहिस्कार र तिरस्कार गर्नुपर्ने हो । ताकी, उनले भोग्ने बहिस्कार र तिरस्कारबाट अरूलाई पनि ‘यस्तो काम गर्नु हुन्न है’ भन्ने सन्देश जानुपर्छ । तर, हाम्रो समाजले भ्रष्टहरूलाई खुलेआम स्वीकार गर्छ । एक हिसाबले भन्ने हो भने– समाजले भ्रष्टहरूलाई सहजै अनुमोदन गरिरहेको छ । आज भ्रष्टहरू मुस्कुराउनुको कारण यो नै हो ।
कानुनले भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकाहरूलाई कुनै पनि सार्वजनिक पदका लागि योग्य ठान्दैन । तर, त्यो भन्दा अरू बन्देज लगाउँदैन । समाजले पनि ‘फलाना भ्रष्टाचारी हो’ भन्ने तथ्य छोटो समयमै बिर्सन्छ । त्यसपछि, आज, भोलि र पर्सी हुँदै भ्रष्टहरू समाजमा पुनः बौरिन्छन् । र, भ्रष्टहरू नै समाजमा असल चरित्रका मानिस कहलिन्छन् ।
सामान्य कर्मचारीले छोटो अवधिमा जोड्ने अथाह सम्पत्तिको स्रोत खोज्नु हाम्रो समाजले कर्तव्य ठान्दैन । चप्पल पड्काउँदै सिंहदरबार छिरेका मन्त्री आलिसान महलको छतमा उभिएको देखेर पनि ‘यो महल कसरी बन्यो ?’ भनेर सकैले प्रश्न गर्दैनन् । समाजमा अस्वाभाविक रूपमा सम्पत्ति जोड्दै जानेहरूमाथि निगरानी राख्ने काम हामीबाट हुन सकेको छैन । त्यसैले खुलेआम भ्रष्टाचार हुँदै आएको छ । भ्रष्टहरुको सङ्ख्या बढ्दै गएको छ ।
भ्रष्टाचार नियन्त्रण गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग गठन भएको छ । तर, अख्तियार दुरुपयोग गरेर रातारात धनाढ्य भएका पूर्वकर्मचारीहरूले नै अख्तियार कब्जा गरेका छन् । न्यायिक कर्मको जिम्मेवारी पाएको न्यायालयले भ्रष्टहरूलाई सहजै उन्मुक्ति दिन्छ । किनकि, न्यायालय पनि भ्रष्टहरूले नै कब्जा गरेका छन् । भ्रष्टहरूलाई पक्राउ गर्ने जिम्मेवारी पाएको प्रहरी पनि भ्रष्टहरूले नै चलाइरहेका छन् ।
भ्रष्टहरूलाई समाजले सहजै स्वीकार गर्छ । अख्तियार, न्यायालय, प्रहरी र राजनीतिक दल पनि भ्रष्टहरूकै संरक्षणमा तल्लीन छन् । सामाजिक र कानुनी रूपमा दण्डित गर्ने संरचनाहरू नै भ्रष्टहरूलाई स्वागत र संरक्षण गर्न तयार रहेसम्म भ्रष्टाचार अन्त्य हुँदैन । बरु, झनै बढ्छ ।