Logo
Logo

व्यापक भ्रष्टाचारबीच भव्य उद्घाटन


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं, १७ मंसिर । पहिलो र दोस्रो दक्षिण एशियाली खेलकुद आयोजना गरिसकेको नेपालका लागि तेश्रो पटक दक्षिण एशियाली खेलकुद(साग) आयोजना गर्नु कुनै अप्ठेरो वा कठिनको विषय थिएन । तर, प्रसव वेदनापछि अन्तिम समयमा आएर कमी कमजोरीहरुलाई लुकाउँदै दक्षिण एशियाली खेलकुदको उदघाटन भव्य समारोहका बीच सम्पन्न भयो । उद्घाटन समारोहलाई जति भव्य भने पनि यो कुनै राष्ट्रिय खेलकुद प्रतियोगिताको समारोहभन्दा भव्य थिएन । केही महिना पहिला सम्पन्न आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि नेपालले यस्तै समारोह आयोजना गरेको थियो । यो पटकको फरक भनेको सातै देशका खेलाडीले दशरथ रंगशालामा मार्चपास गरेका थिए । आतिशबाजी अलि बढी गरिएको थियो । भूकम्पपछि पुनःनिर्माण गरिएको दशरथ रंगशालामा सम्पन्न उद्घाटन हेर्न त्यहाँ उपस्थित दर्शक र टेलिभिजनमा प्रत्यक्ष हेर्नेहरुका लागि नौलो र भब्य लाग्नु अस्वभाविक होइन । तर, सात देशका खेलाडी र खेल अधिकारी जम्मा भएको स्थानमा र विभिन्न देशबाट प्रत्यक्ष प्रसारण भएको कार्यक्रम जुन स्तरको हुनु पर्ने थियो, त्यो नभएको पक्कै हो ।

पहिलोपटक साग आयोजना गरेको मुलुक भएको भए नेपालले शंकाको फाइदा पनि पाउथ्यो होला । तर, यो नेपालका लागि नौलो विषय होइन । पहिलो दिनको उदघाटन समारोहमा साउण्ड सिष्टम, लाइटिङ र कोरियोग्राफीमा देखिएको समस्या मैदानमा प्रष्ट देखिन्थ्यो । उदघाटन समारोहका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले विशेष भूमिका खेलेका थिए । उद्घाटन समारोहका लागि सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालकै संयोजकत्वमा काम सञ्चालन गरिएको थियो ।

उद्घाटन समारोहका लागि मात्रै झण्डै १४ करोड रुपैयाँ खर्च गरिएको थियो । तीन अर्बभन्दा बढी रकम खर्च गर्ने तयारी भएको तेह्रौँ दक्षिण एशियाली खेलकुदका लागि नेपालले तयार गरेको भौतिक पूर्वाधारहरु अधिकांश तयार हुनसकेका छैनन् । तेक्वान्दो, कराँतेलगायतका खेलहरु इन्डोर प्रशिक्षण केन्द्रमा सञ्चालन गरिएका छन् । जनकपुरमा कुस्तीको खेल हुने भनेर तयारी गरिएको छ । पोखरामा सञ्चालन हुने खेलस्थलका लागि निर्माणको काम अझै समाप्त भएको छैन । खेल हुने अन्तिम अवस्थासम्म पनि खेलाडीको इन्ट्री र सहभागिताजस्ता विषय विवादको घेरामा रहेका छन् । त्यति मात्र होइन, फुटवलको टाइसिटको विषयमा अन्य देशका अधिकारीले असहमति नै प्रकट गरेका छन् । पौडी खेलका लागि सातदोवाटोमा तयार गरिएको हिटिङ पोखरी कामचलाउ मात्रै बनेको छ । पौडीपोखरीका धेरै काम बाँकी नै रहँदा पनि खेल आयोजना गर्नुपर्ने बाध्यता देखिएको छ । अर्थात्, समग्रमा नेपालले कमजोर तयारी र कमजोर ब्यवस्थापनका बीच पनि खेल आयोजना गर्न सफल भयो ।

साग तयारीकै कारण मन्त्री पद जोगिएका युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्मा विगत केही दिनदेखि बिहानैदेखि बेलुकासम्म नै दशरथ रंगशाला परिसरमा धर्ना दिने गरेका थिए । रंगशालाको मैदानमा फोटोग्राफरहरुलाई सँगै लगेर फोटो सेसन गराउने र तयारीको दावी गर्ने काम उनको दैनिकी नै बनेको थियो । मन्त्रीको रंगशालामा उपस्थिति देखेर राखेपका कर्मचारी र खेलाडी पनि चकित परेका थिए । सागका लागि खरिद बिक्रीमा देखिएका समस्या पनि आगामी दिनमा समाचारको विषय बन्ने पक्कापक्की छ । श्रीनाथ सर्टिङ सुटिङले तयार पारेको लुगाहरुको विषयमा सागका पदाधिकारीले सामाजिक सञ्जालमा नै कडा टिप्पणी शुरु गरिसकेका छन् । यसबाट पोशाकमा पनि ठूलै चलखेल भएको प्रष्ट हुन्छ । ट्रयाकसुट, जुत्ता, किट्सलगायतमा पनि अन्तराष्ट्रिय खेलाडीदेखि सबैको चासो र चिन्ता देखिनुले पनि चलखेलको अवस्थालाई नकार्न सकिन्न ।

रातारात भीभीआईपी प्यारापिटमा फिटिङ गरिएको फाइबरको छानामा मात्रै दुई करोडभन्दा बढी भ्रष्टाचार भएको छ । जर्मनको एउटा कम्पनीले दिएको प्रस्ताव लुकाएर तत्कालीन सदस्यसचिव केशव विष्टले चीनको कम्पनीसँग उक्त फाइबर सम्झौता गरेका थिए । त्यसैगरी दर्शकदीर्घामा अन्तर्राष्ट्रिय मापदण्डविपरीत टिनको छानो हालिएको छ । टिनको छानो, दर्शकदीर्घाको कुर्ची र रंगरोगनमा पनि व्यापक भ्रष्टाचार भएको खेलकुदका कर्मचारीहरु बताउँछन । सागका सबै तयारी अन्तिम समयमा गरिएका कारण हिसाबकिताब मिलान गर्नका लागि राखेपले एउटा विशेष टोली नै तयार पारेको बुझिएको छ । मिडियामा सागको विषयमा नराम्रो समाचारले स्थान नपाओस् भनेर पत्रकारलाई प्रशिक्षण दिने नाममा २७ लाख विनियोजन गरेर गोदावरीको होटलमा दुईदिने सेमिनार पनि आयोजना गरियो ।

डिसेम्वर महिनाको सुरुमा कुनै पनि हालतमा साग आयोजना गर्ने समय नै थिएन । तर, पनि कुनै पनि देशले विरोध नगरेका कारण चिसो मौसममा पनि काठमाडौँले न्यायो आतिथ्यता गराउने अवसर प्राप्त ग¥यो । यो अवसरले दक्षिण एशियामा मौलाउँदै गएको असमझदारी र तितोपनालाई कम गराउने प्रयास पक्कै गरेको छ । तर, सागका नाममा ‘बदमासी’ का विषयमा डिसेम्बर १० तारिख पछि राज्यले उचित लेखाजोखा गर्न आवश्यक छ । प्रतिपक्षीको भूमिका खेल्नुपर्ने कांग्रेस पनि खेलकुदका विषयमा गोप्यरुपमा अवसर खोज्ने पात्रका रुपमा खेलकुदमा प्रस्तुत भएको देख्दा खेल समीक्षकहरु पनि चकित परेका छन् ।

प्रतिक्रिया दिनुहोस्