गणतन्त्र नेपालले हिजो सोमबार १६औँ गणतन्त्र दिवस मनाएको छ । हजाराँै नेपालीको सहादतबाट प्राप्त गणतन्त्र नेपालको सबैभन्दा ठूलो यो दिवस कुनैबेला सारा नेपाली जनजनको उत्सव थियो ।
दुःखका साथ भन्नुपर्छ, बितेका यी १६ वर्षमा भए–गरिएका कुकर्मका कारण यो जन–उत्सव सैनिक टुकडीका साथ टुँडिखेलमा मनाइने एक कर्मकाण्डी दिवसमा सीमित हुनपुगेको छ ।
यद्यपि, यो नहुनुपर्ने थियो । राजतन्त्रबाट असंख्य यातना र पीडा भोगेको पुस्ता कसैले पनि गणतन्त्रभन्दा राजतन्त्र ठीक भन्न सक्दैन । राजतन्त्रमा खराब राजा फेर्न राजा नै मर्नु, मारिनु, बौलाउनु पर्छ । तर, गणतन्त्रमा त पाँच वर्षमा नेता फेर्न पाइन्छ । अहिले त्यसो गर्न सकिएको छैन भन्दैमा सधैँ यस्तै हुन्छ भन्ने हैन । यो सत्य हामीले पुरानालाई त सम्झाउन सकेनौ भने नयाँलाई बुझाउन कठिन हुनु स्वभाविक हो । अहिले हामी इतिहासकै त्यही कठिनतम् मोडमा आइपुगेका छौं ।
यो अवस्थामा आइपुग्न हामी सबैले आ–आफ्नो गच्छेअनुसार योगदान गरेकै छौं । त्यसमा पनि सबैभन्दा ठूलो योगदान यो व्यवस्था ल्याउने राजनीतिक दल र तिनका शीर्षनेताकै छ । आफूले रोपेको बिरूवालाई मलजल गर्नुको सट्टा कात्तिके कुकुर झुत्ती खेल्ने ठाउँ बनाएपछि जे हुन्थ्यो–हुनुपर्थ्यो, अहिले त्यही भएको हो । एक हैन, अनेक कुकर्मका कारण ‘बनाना रिपब्लिक’ हुन पुगेको नेपाल एक असफल राष्ट्र हुने डिलनजिक धकेलिएको छ ।
‘आफू पनि भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि भ्रष्टाचार गर्न दिन्न’ भन्ने केपी शर्मा ओली अन्ततः नक्कली भुटानी शरणार्थी प्रकरणको पर्दाफाँससँगै भ्रष्टाचारको जड, संरक्षक र प्रवर्द्धकका रूपमा देखापरे ।
यतिबेला देश नक्कली भुटानी शरणार्थी प्रकरण नामको एक राज्य संरक्षित, सञ्चालित भ्रष्टाचारको कलंकको टीका लगाइरहेको छ । यसको आयाम मुलुकभित्र त छ नै, मुलुकबाहिर पनि पुग्दा नेपालको अन्तर्राष्ट्रिय छवि समेत धुमिल हुन पुगेको छ ।
यो दागको सुरूवात यस्तो व्यक्ति प्रधानमन्त्री हुँदा भएको छ जो मुखले आफू पनि भ्रष्टाचार गर्दिन र अरूलाई पनि भ्रष्टाचार गर्न दिन्न भन्दैआएका छन् । तर, व्यवहारमा उनी नै यस प्रकरणको पटाक्षेप भएपछि भ्रष्टाचारको जड, संरक्षक र प्रवर्द्धकका रूपमा देखापरेका छन् । यति ठूलो बिडम्बना नेपालका कुनै पनि नेताले यसअघि ब्यहोरेका थिएनन् ।
नेपालकै इतिहासमा त्यो विडम्वनापूर्ण पात्र अरू कोही नभएर केपी शर्मा ओली हुन् । उनी प्रधानमन्त्री भएकै बेला दुई नम्बरी बरियताका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले यो प्रकरणको खेतीपाती गर्न आयोग गठन गरे ।
उनका सल्लाहकार, श्रीमती, छोरा र पार्टी कम्रेड टोपबहादुर रायमाझीमार्फत यसलाई गोरखधन्दा बनाएर अमेरिका जान चाहने सयौं नेपाली युवालाई जुकाले रगत चुसेजस्तो चुसी रहे । उनको सरकार ढल्दासम्म यो यस्तो लैनोगाइ भैसकेको थियो कि सिंगो गृहप्रशासन नै यसमा लिप्त थियो ।
गृहमन्त्रालयमा बादललाई प्रोक्सी मन्त्री राखेर तत्कालीन गृहसचिव प्रेमकुमार राईमार्फत गृहमन्त्रालय चलाएका चतुर ओलीलाई यो सबै थाहा थिएन र त्यसबाट उनी लाभान्वित थिएनन् भनेर कोही पनि पत्याउन तयार छैन ।
यस प्रकरणमा पक्राउ परेका गिरोहका नाइकेहरूले स्वयं ओलीपत्नी संरक्षक रहेको मानवधर्म सेवा नाम गरेको संस्थालाई जोडेर उनका स्वकीय सचिव राजेश बज्राचार्य र तत्कालीन सल्लाहकार डा. अजयक्रान्ति शाक्यलाई बालुवाटार पुगेरै करोडौ बुझाएको बयान दिए ।
एकातिर आफू अध्यक्ष रहेको पार्टीका उपाध्यक्ष बादल, पार्टी सचिव तथा सांसद रायमाझी, सांसद नैनकला थापा प्रत्यक्ष मुछिएका छन् भने, अर्कोतिर आफ्नै सल्लाहकार र स्वकीय सचिवको नामसमेत करोडौ लिनेमा जोडिएको छ ।
यसरी किचेन क्याविनेटदेखि आफ्नै क्याविनेटका वरिष्ठ सदस्यसमेत जोडिएपछि ओली मात्र अछुतो हुन्छन् भनेर कसरी पत्याउने ? अझ त्यसमाथि पनि यो त प्रधानमन्त्री नै कार्यकारी प्रमुख हुने व्यवस्था हो । यो व्यवस्थाले सरकारले गर्ने हरेक कार्यको कम्तीमा पनि नैतिक जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने जिम्मेवारीको अपेक्षा गर्दछ ।
गणतन्त्रमा बदनाम हुनुको सबैभन्दा मूलकारण सुशासनको अभाव हो । पारदर्शिता नभएको भ्रष्ट सरकारले सुशासन दिन सक्दैन । सुशासन नभएपछि जनतामा नैराश्यता बढ्छ, बिद्रोहको भावना जागृत हुन्छ । यस्तो अवस्थामा जो शव्दजाल हानेर जनतालाई भड्काउन सक्छन्, उनीहरूकै रोटी सेकिन थाल्छ । अहिले नयाँ नामका टपरटुइयाँहरूले पाएको राजनीतिक उपलव्धी त्यसैको परिणाम हो ।
सुशासनका लागि राजनीतिक स्थायित्व र स्थिर सरकार चाहिन्छ । त्यसका लागि चाहिने भनेको कुनै एक दलको पूर्ण बहुमत भएको संसद र त्यसले दिने सरकार हो । नेपालमा गणतन्त्र आएपछि यस्तो सुअवसर पाउँने एक मात्र नेता केपी शर्मा ओली मात्रै हुन् ।
इतिहास साक्षी छ, २०७४ को आमचुनावमा एमाले–माओवादी गठबन्धनबाट प्रचण्ड बहुमतका साथ सत्तारूढ भएका थिए ओली । उनका लागि त यो समय अनुपम थियो नै, गणतन्त्र नेपालकै इतिहासमा कुनै नेतालाई प्राप्त न भूत न भविष्य अवसर पनि थियो । यही बीचमा चुनावी गठबन्धनमा रहेका एमाले र माओवादी केन्द्र एकीकृत भई नेकपा बनेको थियो । ओली त्यो नेकपाको एक नम्बर पार्टी अध्यक्ष पनि बनेका थिए ।
तर, दुर्भाग्य उनले न त्यो प्रचण्ड बहुमतको सरकार जोगाउन सके, न एकीकृत बनेको नेकपा बचाउन सके । उल्टै भएको एमाले पनि सग्लो राख्न सकेनन्, दुई टुक्रा भयो । एमालेमा रहेका उनीसँग विमति राख्ने बचेखुचेका केही सम्भावना भएका नेतालाई पनि उनले पार्टी महाधिवेशन र आमचुनावमार्फत ‘माइक्रो म्यानेजमेन्ट’ गरेर घरको न घाटको बनाए । यसरी नियोजित किसिमले पार्टी कब्जामा लिएर ओली बाँकी रहेको उनकै गुटको एमालेको मात्र अध्यक्ष भएका छन् ।
यसो गर्दा उनले के बिर्से भने सानो पार्टीको ठूलो नेता हुनुभन्दा ठूलो पार्टीको सानै नेता हुनु श्रेयस्कर हो । यो बुझ्नका लागि उनका सामु सीपी मैनाली र उनको सुकेनास लागेको नेकपा माले नै पर्याप्त थियो । तर, उनले आफ्नै अग्रजको त्यो दिशा र दशाबाट कुनै पाठ सिकेनन् ।
उल्टै एमालेका राम्रा नेतालाई किनारा लगाएर राजावादी राप्रपासँग चुनावी गठबन्धन गरे । एमालेबाट विभाजित भएर गएको नेकपा एकीकृत समाजवादीका नेताहरूलाई छोइछिटो गर्दै पानी बाराबार मात्र गरेनन्, उनीहरूविरूद्ध जेहाद नै छेडे ।
परिणामतः स्थानीय चुनावसम्म जसोतसो घिसारिरहेको एमालेको टायर आमचुनावमा आइपुग्दा नराम्री पञ्चर भयो । आफ्नो बुताले न संघीय सरकारमा आउने स्थिति भयो न प्रदेश सरकारमा, राष्ट्रपतिदेखि सभामुखसम्मका कुनै पदमा पनि एमालेको चिहाउने स्थिति रहेन ।
यही बीचमा तत्कालीन सत्तारूढ चुनावी गठबन्धनको नेतृत्व गरिरहेको कांग्रेस एक नम्बर पार्टी भएकोमा उसको एकैचोटी पखेटा लाग्यो । उसले सहयात्रीलाई गन्नै छोड्यो, चुनावअघि गठबन्धन बनाउदा गरेका सहमतिहरूको हेक्का राखेन । कांग्रेसलाई प्वाँखै नउम्री पखेटा जोडिदिन चतुर ओलीले पनि राम्रै इन्धन हाले ।
यही क्रममा ओलीको तिकडमले रङ ल्यायो, उनी सत्तारूढ गठबन्धन तोड्न सफल भए । माओवादीलाई आफ्नो गठबन्धनमा ल्याएर प्रचण्डलाई प्रधानमन्त्री बनाए । यही मेसोमा उनले संघीय संसद्को सभामुख, प्रदेशमा बहुमत संख्यामा मुख्यमन्त्री र सबै प्रदेश सरकारमा सहभागिता र केही प्रदेशमा सभामुख र उपसभामुख पनि हात लगाए ।
यो समय नेपालमा फेरि एकपटक वामपन्थी ध्रुवीकरण हुने सुनौलो अवसरका रूपमा आएको थियो । यदि ओलीले पार्टी विभाजनको पछिल्लो घटनाबाट पाठ सिकेर माओवादी र नेकपा एकीकृत समाजवादीसँग गठबन्धन गर्दै नेकपा ब्युँताउने अवस्थातिर लैजाने इमान्दार प्रयास गरेको भए नेपाल फेरि एकपटक वाम ध्रुवीकरणको विन्दुमा पुग्थ्यो ।
यसरी वाम ध्रुवीकरण हुनेबित्तिकै दक्षिणपन्थी दलहरू पनि नेपाली कांग्रेससँग गठबन्धनमा जान बाध्य हुन्थे । परिणामतः नेपाल वैचारिक आधारमा दुईदलीय ध्रुवीकरणमा जान्थ्यो । यो नै नेपालका लागि एक मात्र राजनीतिक कोर्स करेक्सनको बाटो थियो, हो । ढिलोचाँडो नेपाल यो बाटोमा पुगेर अगाडि नबढी धेरै छैन ।
तर, यसपटक पनि ओलीको शुद्धी फिरेन । उल्टै, उनमा यति धेरै महत्वाकांक्षा बढ्यो कि राष्ट्रपतिलगायतका सबै पद हत्याउने र त्यसैको बलमा प्रचण्डलाई उठमा उठ बसमा बस पार्दै जतिसक्दो चाँडो प्रधानमन्त्रीको कुर्सीमा पुग्ने योजनामा लागे । उनको यो कुटिल चाल बुझेका प्रचण्ड र देउवा फेरि एकपटक हात मिलाउने ठाउँमा आइपुगे ।
जब प्रचण्ड र देउवाको हात मिल्यो त्यसपछि हात खालि हुने पालो ओलीको थियो । कतिपय हात लागेका पद गुम्न थाले भने कतिपय बैनाबट्टा भैसकेका पद पनि सदाका लागि टाढा भए ।
यसरी आमचुनावपछि उठ्नै नसक्ने गरी थचारिएका ओलीले फेरि एकपटक एमालेलाई केही दिनका लागि भए पनि सत्तामा पुर्याए । आफूलाई पनि प्रधानमन्त्री हुने सम्भावनाको नजिक पुर्याए । तर, समयको पदचाप नबुझ्दा फेरि उनी सत्ताबाट उछिट्टिए । सम्भवतः अब उनका लागि प्रधानमन्त्री पद जीवनभर ‘आकाशको फल आँखा तरी मर’ नै हुने जस्तो छ ।
अहिले परिस्थितिले ओलीलाई अत्यन्त निम्छरो बनाएको छ । सत्ताबाट टाढा भएर बिरक्तिएका ओलीलाई नक्कली भुटानी शरणार्थी प्रकरणले झनै नराम्ररी गलाएको छ । आफ्नालाई जोगाउन उनी नांगेझार भएर लाग्नु परेको छ । र, त्यसका लागि प्रचण्डकोमा पटक पटक हाजिरा लगाएर बिलौना गर्नुपरेको छ ।
अब प्रश्न उठ्छ, ओलीलाई यस्तो स्थितिमा कसले पुर्यायो त ? उत्तर सहज छ, यो सबै ओलीको आफ्नै कुवुद्धिको परिणाम हो । नेपालीमा एउटा कहावत छ, काग धेरै बाठो भयो भने आफ्नै … खान्छ । ओली अहिले त्यही अवस्थामा पुगेका छन् ।
नेपाली राजनीतिमा ओली पात्र मात्र हैन, प्रवृत्ति पनि हुन् । आफ्नो स्वार्थलाई मात्र केन्द्रमा राखेर सोच्ने र त्यो प्राप्तिका लागि जे गर्न र सबैलाई भड्खारामा हाल्न परे पनि तयार हुने यो नै ओली प्रवृत्तिको चुरो हो । आफू मात्र जान्ने, कुराले आकाश–पाताल जोड्ने, जे बोल्ने त्यो नगर्ने, जे गर्ने त्यो नबोल्ने ओली प्रवृत्तिका थप चरित्र हुन् ।
कम्रेडबाट बा भएका ओली सांस्कृतिक रूपमा पनि पतित भएका एक सिल्पट नै हुन् भन्दा पनि हुन्छ । गणतन्त्र नेपालमा अथाह मौका पाएर पनि केही नगर्ने यी सिल्पटका बारेमा यसो भन्दा उनको र उनका अनुयायीको चित्त दुख्न सक्छ । तर, एक होइन अनेक तथ्यले उनी यसका लागि अभिशप्त छन् भन्ने आधार छन् ।
यद्यपि, वाकपटु ओली र उनको गोयबल्स दस्ता यसका लागि तैयार छैन । उनीहरूले के बिर्सिरहेका छन् भने हजार तर्कभन्दा एउटै तथ्य बलियो हुन्छ । आजको सर्वमान्य तथ्य के हो भने ओलीको जति छिटो पतन हुन्छ, एमाले त्यही मात्रामा पतन हुनबाट जोगिन सक्छ ।