काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले भारत भ्रमणमा छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा उनी बुधबार दिउँसो चार दिने भारत भ्रमणमा दिल्ली पुगेका हुन् । भ्रमणका क्रममा दुई देशबीच महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने, केही परियोजनाको उद्घाटन गर्ने तयारी छ ।
आज प्रधानमन्त्रीले समकक्षी मोदीसँग भेटवार्ता गर्दैछन् । र केही महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गर्दैछन् । भारतीय समकक्षीसँग भेटवार्ता गरेलगत्तै प्रतिनिधिमण्डल स्तरमा भेटवार्ता हुनेछ । कुनै एक देशको सरकार अथवा राष्ट्र प्रमुखले अर्को देशको राजकीय भ्रमण गरेपछि त्यसका बारेमा संयुक्त रूपमा वक्तव्य जारी गर्ने गरिन्छ ।
भ्रमणका क्रममा दुवै देशबीच साझा बुँदामा सहमति भएमा ती बुँदासहित संयुक्त वक्तव्य जारी हुने चलन छ । तर, यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक ०७२ सालमा त्यो परम्परा तोडेका थिए । त्यतिबेला भारतले नेपालमा जारी भएको संविधानलाई स्वीकार्न नसक्दा संयुक्त वक्तव्य नै आएन । त्यसपछि शेरबहादुर देउवा भारत भ्रमणमा जाँदा समेत वक्तव्य जारी भएन । उनले नेपालले लिपुलेक, लिम्पियाधुरा नक्सा जारी गरेपछि पहिलो पटक भारतको भ्रमण गरेका थिए ।
त्यसक्रममा देउवाले उठाएको सीमा विवादका विषयमा दुबै पक्ष एक मत हुन नसक्दा संयुक्त वक्तव्य नआएको बताइएको थियो । यसपटक भने संयुक्त वक्तव्य जारी हुने सम्भावना रहेको भारतबारे जानकार राजनीतिक विश्लेषक लोकराज बराल बताउँछन् । उनले भने, ‘दुई देशबीच सम्बन्ध सुमधुर बनाइराख्न दुबै प्रधानमन्त्रीहरूले पत्रकार सम्मेलनमार्फत सम्बोधन गर्दैहुनुहुन्छ । संविधानबारे हामीलाई मान्य हुने कुरा भारतले राख्न चाहे संयुक्त वक्तव्य जारी हुन्छ । र त्यो हुने सम्भावना छ ।’
तर, कतिपय भ्रमणमा भने संयुक्त वक्तव्य जारी हुन सक्दैनन् । राजनीतिक विश्लेषक बरालका अनुसार संयुक्त वक्तव्य जारी हुन नसक्नुको अर्थ दुई देशबीच संयुक्त वक्तव्यमा राख्ने विषयमा समझदारी नहुनु हो । राष्ट्रको हितविपरीत कुनै सम्झौता भएमा वा दुई पक्षबीच कुनै ठोस सहमति नभएमा संयुक्त वक्तव्य जारी गर्दैनन् ।