Logo
Logo

अवसरवादको प्रवर्द्धन गर्ने कि जनताको सेवा ?


3.8k
Shares

नेपालको वामपन्थी आन्दोलनको इतिहासलाई पल्टाएर हेर्ने हो भने यसले धेरै गुट–फुटका उतारचढावहरू पार गर्दै यहाँसम्म आइपुगेको देखिन्छ । अक्सर कम्युनिष्ट विभाजन नेताहरू बीचकोे व्यक्तित्व र स्वार्थको टकरावले गर्दा भएको छ । जसले गर्दा कम्युनिष्ट आन्दोलनमा क्षति भएको छ ।

विभाजन मात्रै होइन एकता पनि नीति, सिद्धान्त र भावनाभन्दा पनि नेताहरुको स्वार्थकै जगमा भएका इतिहास छन् । यसैको परिणाम हो कि, आम रुपमा न एकताले जनताको हित गरेको छ न त विभाजनले नै ।

नेपालका कम्युनिष्ट पार्टीहरूको विभाजन, एकता अनि फेरि विखण्डनको पछिल्लो ज्वलन्त उदाहरण एमाले–माओवादी एकता नै बनेको छ । नेकपा विखण्डनले सृजित एमाले र एमाले विग्रहले एकीकृत समाजवादी पार्टी जन्मियो । तत्कालीन अवस्थामा एमाले अध्यक्ष केपीशर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सत्ता स्वार्थको टकरावले नेकपा तासको घर झैं ढल्यो ।

त्यसमा खास चर्चा नगरी यो आलेखमा चाहिँ एमाले विद्रोहबाट बनेको एकीकृत समाजवादी पार्टी, त्यसको वर्तमान र भविष्यको चर्चा गर्ने जमर्को गरेको छु ।

दुनियाँले बुझिसकेको सत्य के हो भने, भलै ओली र प्रचण्डको सत्ता स्वार्थकै जगमा मात्रै दुई पार्टीबीच एकता भएको थियो । तत्कालीन नेतृत्वले संयम, समन्वय, सम्मान र सहकार्यको नीति लिएको भए एमाले र माओवादीको एकताबाट बनेको नेकपा नेपाली राजनीतिको बलियो शक्तिको रुपमा स्थापित हुने थियो ।

यद्यपि, एकताको सुरुवातमै ओलीले प्रचण्डको साथ लिएर माधवकुमार नेपालमाथि जुन व्यवहार गरे, त्यसको परिणाम विद्रोह हो । प्रचण्डविरुद्ध ओली जानुको एउटै कारण सत्तामा आलोपालो नै हो ।

तर, ओलीको सत्ता मोह बुझेका धेरैले अनुमान पनि गर्न नसकेको कुरा चाहिँ आफ्नो सत्ता स्वार्थको रक्षा गर्नकै हेतु ओलीले संवैधानिक सर्वोच्चता सहितको जनताको बहुदलीय जनवादको नीति विपरित असंवैधानिक रुपमा संसद विघटन गर्नेसम्मको हर्कत गर्लान् भन्ने थियो ।

सारालाई अचम्मित बनाउँदै ओलीले एक पटक होइन, दुई–दुई पटक असंवैधानिक ढंगले संसद विघटन गरे । फलस्वरूप पहिलो संसद विघठनको पराकम्पसँगै नेकपा फुटेर एमाले र माओवादी एकता पूर्वकै अवस्था पुगे । दोस्रो विघटनले एमालेभित्र विद्रोह गर्दै नेकपा एकीकृत समाजवादी पार्टी स्थापनाको आधार तय गरेको थियो ।

विडम्वना ! नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमै सबैभन्दा सही विद्रोहको परिणाम स्वरुप बनेको एकीकृत समाजवादी ठीक ढंगले चल्न सकेको छैन् । दुःखको साथ भन्नुपर्छ, विद्रोहको जगमा बनेको पार्टीले अपेक्षित गति लिन नसक्नुको प्रमुख कारण आफ्नो निम्ति अवसर खोज्ने मनसायले विद्रोही बन्न पुगेका अवसरवादीहरू र तिनको हर्कत नै हुन् ।

अवसरवादीहरू केन्द्रदेखि वडा तहसम्मै छन् । जसलाई सत्ता शक्तिको प्राप्ति र त्यसको उपयोग नै विद्रोहको परिणाम हुनुपर्छ भन्ने लाग्छ । आज तिनै केही थान अवसरवादीहरूको दृष्य वा अदृष्य कसरतले गर्दा एकीकृत समाजवादी पार्टी सत्ताको केन्द्रमा अत्याधिक भेटिने तर, जनतामा कमै मात्रै देखिने अवस्थामा छ ।

अब पार्टीको इमान्दार नेतृत्व र क्रान्तिकारी कार्यकर्ताहरूको संयुक्त पहलमा पार्टीभित्र हुर्किएको अवसरवादी पात्र र प्रवृतिविरुद्ध हमला हुनुपर्छ । र, पार्टीलाई सत्ताका निर्णयको पक्षपोषक होइन, जनताको आवाजको केन्द्र बनाउनुपर्छ ।

देशलाई यो वा त्यो ढंगले लुटनेहरू सत्तादेखि प्रमुख प्रतिपक्षसम्म उत्तिकै सक्रिय रहेको बेलामा अब नेकपा एकीकृत समाजवादीले आफ्नो कार्यशैली बदल्नुपर्छ । भ्रष्टाचारविरुद्ध देशव्यापी आन्दोलन गर्नुपर्छ । त्यसो गर्न सक्दा आजको सत्तामा रहनेहरूले गरिरहेको भ्रष्टचारदेखि हिजो सत्तामा रहनेले गरेको भ्रष्टाचारका काण्डहरूको विरुद्ध संघर्ष गर्दै भ्रष्टचारीहरूको भण्डाफोर गर्न सकिनेछ ।

हो, त्यसो गर्दा सत्ता र शक्ति पाउन पार्टीमा आएका केही थान ब्वाँसाहरू पार्टी छोडेर हिडलान् । तर, त्यसो हुँदै गर्दा जनताको ठुलो पंक्ति पार्टीमा जोडिने छ । तसर्थ, अब नेकपा एकीकृत समाजवादी पार्टीले ‘अवसरवादको प्रवद्र्धन गर्ने वा असली विद्रोहमार्फत जनताको सेवा गर्ने ?’ भन्ने सवालको उत्तर खोज्नैपर्छ ।

यदि, उत्तर अवसरवादको प्रवद्र्धन हो भने, केही थप समय सत्तामा साझेदारी र शक्तिको अभ्यास त अवश्य होला । तर, अन्ततः पार्टी समाप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्