नेपालीमा एउटा कथन छ- भोकले जान्दैन जुठो भात, निन्द्राले भन्दैन टुटेको खाट, प्रेमले चिन्दैन जातभात । र, भनिन्छ– प्रेम, अन्धो हुन्छ अर्थात ‘लभ ईज ब्लाइन्ड ।’
तर, जर्मन तानाशाह हिटलर भन्थे– ‘प्रेम होइन, युद्ध गर्नुस् । किनभने, युद्धमा तपाईं कि मर्नुहुन्छ कि बाँच्नुहुन्छ । तर, प्रेममा तपाइँ न बाँच्नुहुन्छ, न मर्नुहुन्छ ।’
कुनै-कुनै प्रेम सम्बन्ध हेर्दा-सुन्दा हिटलरको भनाइ सही लाग्छ । कोही प्रेमको कारण न मर्न सक्छन्, न त बाँच्न नै ! प्रेम अभिशाप हुन्छ । र, अपराध बन्छ ।
प्रेम गरेपछि विवाह गर्नैपर्छ ? यो प्रश्नले दुई कित्तामा उभ्याउँछ । एकथरी भन्छन्– प्रेम र विवाह दुई फरक कुरा हुन् । प्रेम गर्दैमा विवाह गर्नुपर्छ भन्ने छैन । अर्काथरी भन्छन्– प्रेमको अन्तिम विन्दु भनेकै विवाह हो । तर, प्रेमको ध्येय विवाहलाई नै मानिन्छ ।
प्रेममा वर्ग, धर्म, जात केही हुँदैन । तर, विवाहमा होइन । प्रेम गर्न साइत चाहिँदैन । तर, साइतबिना विवाहै गरिँदैैन । त्यसैले प्रेम र विवाह फरक छ । सबै प्रेम विवाहमा परिणत हुँदैन ।
व्यक्तिको चाहना हुने प्रेम हो, विवाह होइन । अपवादबाहेक विवाह परिवार र समाजको चाहनामा हुन्छ । व्यक्तिको चाहनामा हुने विवाह टिकाउ हुँदैन । भनौँ, समाजले टिक्न दिँदैन ।
बागलुङका प्रभात बस्याल र प्रिती घिमिरेको अन्तरजातीय विवाह व्यक्तिगत चाहनामा भएको थियो । फलतः उनीहरूले देश छाड्नुप-यो । तैपनि परिवारले लखेटिह्यो । भारत पुगेका उनीहरूलाई फर्काउन केटीको परिवारबाट अनेकौं प्रपञ्च रचियो । र, फन्दामा पारिछाड्यो ।
चिन्ने÷जान्नेका अनुसार प्रभात र प्रिती दुई वर्षदेखि प्रेममा थिए । उनीहरूको मन मिलेको थियो, जातमा वाधा थियो । त्यसैले भागेर भारत हानिए । केटीका परिवारले ‘हामीले स्वीकार गरिसक्यौँ, चाँडै फर्क’ भन्दै बिलौना गरे ।
परिवारको बिलौनाले प्रभात र प्रितीको मन फर्कियो । उनीहरू पनि फर्किए । आफूहरू प्रपञ्चमा परेको पत्तै पाएनन् । प्रभातलाई अपहरण र बलात्कारको झुटो आरोप लगाइयो । र, अहिले उनी बेनी प्रहरी हिरासतमा छन् ।
प्रभात प्रकरणले प्रेममा धर्म र जात केही हुँदैन भन्ने आदर्शलाई एकपटक गलत साबित गरेको छ । प्रेममा भाँजो हाल्ने र जातीय विभेदको शृंखला भइरहन्छ । सभ्य र आधुनिक भनिने मानव समाजलाई कलंकित बनाइरहेको छ ।
तीन वर्षअघि रूकुम पश्चिमको चौरजहारीमा नवराज विक र उनका पाँच साथीको हत्या विदितै छ । अन्तरजातीय प्रेमकै कारण उनीहरूको विभत्र्स हत्या भएको थियो । पीडितले अझै न्याय पाउन सकेका छैनन् ।
प्रभातको लागि न्याय माग्दै युवा सडकमा उत्रिएका छन् । ‘जस्टिस् फर प्रभात’ अभियान चलाएका छन् । काठमाडौं, पोखरा, चितवनलगायतका स्थानमा प्रदर्शन भइरहेको छ । उनको न्यायको लागि संघीय संसद्को दुवै सदनमा आवाज उठेको छ ।
जातीय समानता र न्यायबारे ठूलाठूला भाषण सुनिन्छ । तर, अन्तरजातीय विवाहका कारण विभेद र हत्या हुन छाडेको छैन । केही गुपचुप हुन्छन्, केही बाहिर आउँछन् ।
सबैभन्दा ठूलो कुरा आत्मसम्मान हो । जातकै आधारमा अपमानित हुनुपर्ने अवस्था रहेसम्म यस्ता घटना रोकिने देखिँदैन । अझै मागी विवाहका लागि अपवादबाहेक अन्य जातिमा जाने अवस्था आएको छैन । अन्य जातलाई प्रेम प्रस्ताव राख्ने आँटसमेत गर्दैनन् ।
संविधानले जीवनसाथी छान्ने व्यक्तिलाई अधिकार दिएको छ । जात र धर्मको आधारमा विभेद गरेको छैन । तर, फरक जातीसँगको प्रेम र विवाहमा समाजको क्रूर सोच हटेको छैन । राजनीतिक परिवर्तन भयो । सामाजिक सोच परिवर्तन सकेन ।
कानुनी रुपमा जातीय छुवाछूतमुक्त राष्ट्र घोषणा भएको डेढ दशक बित्यो । ०६४ जेठ २१ गते नेपाललाई जातीय छुवाछूतमुक्त राष्ट्र घोषणा गरिएको थियो । ०६८ जेठ १० गते जातीय भेदभाव तथा छुवाछूत कसुर सजाय र ऐन पास भयो ।
तर, अझै जातीय विभेदका घटना दोहोरिरहेका छन् । कानुनको कार्यान्वयन हुन सकेको छैन । अहिले पनि ‘प्रेम गर, तर आफ्नै जातसँग गर’ भन्छन् । ‘जात भनेको जात, कनिकाको भएपनि भात’ भन्ने चलन छ । यस्ता कुरा मथिङ्गलमा अमिट छाप बनेको छ ।
अन्तरजातीय विवाह वा प्रेममा सधैं कथित उच्च जातबाटै बाधा पुर्याएको देखिन्छ । चाहे त्यो उही जातमा किन नहोस् । त्यसैले व्यंग्य कस्छन्– ‘बाहुनलाई भैँसी चल्छ, जैसी चल्दैन ।’ सँगै रक्सी खाँदा जात खोजिँदैन । तर, पानीमा जातको रङ हेर्छन् ।
जातीय विभेद गर्नेमाथि कारबाही पनि भइरहेको छ । केही ठाँउमा अन्तरजातीय विवाह खास गरी दलित र गैरदलित बीचको सम्बन्धलाई राज्यले प्रोत्साहनस्वरुप पुरस्कृत गर्दै पनि आएको छ ।
तर, अन्तरजातीय विवाह सुन्नै नचाहनेको जमात ठूलो छ । अन्तरजातीय प्रेमलाई हेर्ने दृष्टिकोण केही बदलिएपनि कतिपय घटना दुई दशक अघिको भन्दा कम छैन । दलित र गैरदलित बीचको सम्बन्धलाई पाप सम्झिनेहरू हाम्रै समाजमा छन् ।
स्वतन्त्रतापूर्वक बाँच्न पाउनु नैसर्गिक अधिकार हो । तर, कतिपयको यो अधिकार हनन् भइरहेको छ । अन्तरजातीय विवाहकै कारण अकालमै मरिरहनुपरेको छ । प्रेम, अपराध बनिरहेको छ ।
जो अन्तरमनले प्रेम गर्छन्, त्यसमा जातको पर्खाल हुनुहुँदैन । आफ्नो इच्छाले विवाह गर्न चाहने केटाकेटीलाई अविभावकले रोक्ने होइन, सहमति दिनुपर्छ । समाजले स्विकार्नुपर्छ । अनि मात्र जातीय विभेद हट्दै जान्छ ।
अन्तरजातीय विवाह गरेर सफल जीवन बिताएका प्रशस्तै उदाहरण छन् । तर, ती सम्बन्धबारे छलफल हुँदैन । सफल प्रेमका भन्दा विफल पारिएका कथामात्रै सुनाइन्छ । र, प्रचार गरिन्छ । जसले जातीय विभेदलाई प्रोत्साहन गरिरहेको छ ।
जातीय र वर्गीय विभेद जन्माउनु र बचाइ राख्नमा दोष राज्यकै देखिन्छ । त्यसैले जातीय विभेदलाई जरैदेखि उखेल्न अत्यावश्यक छ । जातीय र वर्गीय विभेदलाई मौन समर्थन गर्दै जाने हो भने, प्रतिफलस्वरुप ‘जातीय युद्ध’ निम्तिने अवस्था नआउला भन्न सकिन्न । त्यो निकै भयावह र डरलाग्दो हुनेछ । महाभारत युद्ध पनि प्रेमकै विषयबाट सुरु भएको थियो ।
नेपाल जस्तो बहुजातीय र बहुधार्मिक मुलुकमा जातीय छुवाछुत र विभेद अन्त्यका लागि सबैले आ–आफ्नो ठाउँबाट कदम चाल्नैपर्छ । र, जातीय विभेद गर्नेलाई राज्यले कानुनी दायरमा ल्याउनैपर्छ । त्यो नभएसम्म सभ्य समाज र स्वच्छ प्रेमको कल्पना निरर्थक बन्छ ।