Logo
Logo

आइजी बसन्त कुँवरको बर्दीमा दाग


33.2k
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणले प्रहरी नेतृत्वको बर्दीमा पनि दाग लागेको छ । प्रहरी महानिरीक्षक बसन्त कुँवरका शंकास्पद गतिविधिका कारण उनी यो प्रकरणमा विवादमा तानिएका छन् । तर, त्यो विषयलाई त्यतिकै ढिसमिस गराउने प्रयास पनि भएको छ ।

एसएसपी हुँदादेखि नै कुँवरको यस प्रकरणमा शंकास्पद भूमिका देखिएको तथ्यले देखाउछ । सुरुमा उनले पक्राउ परेका केशल दुलाल र टंक गुरुङलाई दबाबको भरमा छाडिदिएका थिए । पक्राउ पूर्जी जारी भएपछि पनि कुँवरको उनीहरूसँग भेटघाट भएको अनुसन्धानमा देखिएको छ ।

अर्काेतर्फ, बिचौलिया केशब दुलालले आइजीपी कुँवरसँग पनि आर्थिक सहयोग हुन्छ भन्ने कुरा सचिव टेकनारायण पाण्डेको च्याटबाट बाहिर आएको छ । पक्राउ परेकालाई छाड्नु, अभियुक्तसँग संवादमा हुनु र अनुसन्धानसमेत रोक्नुले यो प्रकरणमा कुँवरमाथि छानबिनको माग उठेको थियो ।

तर, उनीमाथि छानबिन गर्दा निलम्बन गर्नुपर्ने वा बिदामा राख्नुपर्ने अवस्था आएपछि छानबिन हुन नसकेको स्रोत बताउँछ । कांग्रेस नेताहरूमार्फत उनले छानबिन रोकाएको स्रोत बताउँछ ।

आइजीपीमाथि छानबिनको विषय आएपछि चेक अफ कमाण्डविपरीत अनुसन्धानका विवरण सार्वजनिक गरेको र आइजीपीलाई हटाउन खोजेको विषय उठाएर यसलाई ओझेलमा पारिएको थियो ।

तर, प्रहरीले इतिहासमै ठूलो केसको अनुसन्धान गर्दा पनि त्यसको जस आइजीपी कुँवरले लिन भने पाएनन् बरु उनीमाथि नै प्रश्न उठेकाले उनको करिअरमा पनि दाग लागेको छ । यदि, दबाब थेकेर दोस्रो चरणमा निष्पक्ष अनुसन्धान गर्न सके दाग मेटाउन अवसर भने उनीमाथि अझै पनि छ ।

प्रतिक्रिया दिनुहोस्