काठमाडौं, २० मंसिर ।
तल्लो तहका प्रहरीले १÷२ लाख घुस खाएमा उनीहरुको जागिर जान्छ । तर, लाखौं घुस खाने उच्च प्रहरी अधिकारीलाई भने केही हुने गरेको छैन ।
आर्थिक अनियमितताको आरोप लागेका नेपाल प्रहरीका एआइजी धीरु बस्तेमाथिको कारबाही ६ महिना बित्दा पनि टुंगिएको छैन । बस्नेत राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक हुँदा अनियमितताको आरोप लागेपछि उनलाई त्यहाँबाट हटाएर छानबिन थालिएको थियो ।
प्रहरी मुख्यालयमा दरबन्दी राखेर एआइजी बस्नेतलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा खटाइएको छ । अनियमिततासम्बन्धी उजुरी प्रधानमन्त्री कार्यालयमै पुगेपछि उनलाई हटाइएको थियो । ठेक्कामा कमिसन मागेको तथा बजेटसमेत दुरुपयोग गरेको खुलेपछि उनीमाथि थप छानबिन थालिएको थियो । पैसा मागेको प्रमाण नै प्रधानमन्त्री कार्यालय पुगेको थियो । साथै लेखापालसँग सोधपुछमा पनि उनले बजेट हिनामिना गरेको प्रष्ट भएको थियो । तर, छानबिन हाल अलपत्र रहेको स्रोत बताउँछ । प्रहरी प्रवक्ता डिआईजी विश्वराज पोखरेलले एआइजीमाथिको छानबिनबारे जानकारी नभएको बताए । यो घटनाले प्रहरीमा तल्लो तहका प्रहरीमाथि कारबाही हुने तथा माथिल्ला अधिकारीमाथि कारबाही हुँदैन भन्ने मान्यता थप प्रस्ट भएको प्रहरी अधिकारीहरू बताउँछन् ।