हामीले देखेका मात्र होइनौं भोगेका पनि हौं– व्यक्तिवादका अनेकौं भद्धा मजाक, विचारधारात्मक स्खनलताका अनेकौं रुपहरू । आज यिनै सवाललाई ज्ञान, तर्क र तथ्यले आलोचना गर्नेहरूको साझा संगठन बन्न पुगेको छ– समाजवादी प्रेस संगठन, नेपाल ।
यो संगठन व्यवसायिक तथा श्रमजिवी पत्रकारहरूको आशा र भरोसा मात्र बनेको छैन्, समाजवादप्रति दृढ र प्रतिवद्ध कलमजिवीहरू अटाउने फूलबारी भएको छ ।
जेठ महिनाको उखरमाउलो गर्मीबीच ‘समाजवादी प्रेस संगठन, नेपाल’ले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशन गर्दै छ । इतिहासका कठीन बाटाहरू पार गर्दै गन्तव्यरत अगुवाहरू, बाटाका अनकौं कष्टकर गोरेटा छिचोल्न उद्धत युवा र मन, वचन र कर्म लगाएर सबै कठिनाईलाई सँगसँगै ‘काँधमा काँध’ थाप्न तम्तयार रहेका किशोरकिशोरीको जमघट हाम्रो लागि असाध्यै महत्वपूर्ण छ ।
७७ वटै जिल्लाबाट काठमाडौं जुट्नेहरूको संकल्प छ, ‘जिम्मेवार पत्रकारिता, समाजवादको आधार’ हो । त्यसैले त काठमाडौंका महल भित्र फोहोर टिप्ने हातहरूदेखि, गल्लीगल्लीमा दुई छाक खान, आफ्नो आङ ढाक्न र एक रात विताउन कष्टकर दैनिकी विताउने फरक क्षमता भएका व्यक्तिहरूको दिलमा उज्यालो छर्न हाम्रा कलमहरू प्रयासरत रहनुपर्ने छ ।
पैसा कमाएर धनी बन्नकै लागि नेपालीलाई शरणार्थी बनाउन उद्त परिवेशबीच हामीले गर्न लागेको महाधिवेशन र हामीले तय गरेको समाजवाद प्रतिको दृढता धरती–आकाश जत्तिकै दुर छ । तर। जस्तोसुकै चुनौतीको सामना गर्न हामी तत्मतयार मात्र छैनौँ सतिसाल झै ढिंग उभिएका छौँ । २०८० जेठ २६ र २७ हाम्रा लागि खास छ ।
भड्किने मनलाई शल्यक्रिया किन नगर्ने ?
विरोधीहरु हामीलाई एउटै प्रश्न गर्ने गर्छन्, यी जुनसुकै समयमा सकिन्छन् । बारम्बार सुनिँदै आएको यहीँ प्रश्नको जवाफ हामीले महाधिवेशनबाट दिनुपर्ने छ । संगठन जन्मनु ठूलो कुरा होइन् । तीन जना बढीको सहभागीतामा मात्र पनि संगठन जन्मन सक्छ ।
नामहरू अनेक क्रान्तिकारी हुन् सक्छन् । विचारहरू दार्शनिक दुनियाँमा जस्तै प्रष्फुटित हुन सक्छन । यी सामान्य चरणहरू हुन् । समाजमा अनेक बहुरंगी संगठन देखेका, भोगेका, सुनेका छौँ । त्यसैले त विरोधीहरू हामीलाई खिसिटियुरी गरिरहेका हुन्छन्, यी जुनसुकै बेला सकिन्छन् ।
हामी सकिनका लागि होइन् भन्ने दृढ संकल्प पहिलो कुरा हो । हाम्रो भावना त यहीँ छ, तर स्वार्थी मनहरू जुनसुकै बेला भड्किने गर्छन् । मानवीय जीवनमा सबैभन्दा खतरनाक प्रवृत्ति यहीँ नै छ । आज भड्किने मनहरूलाई शल्यक्रिया गर्नुपर्ने छ । यो काम अधिवेशनले पक्कै गर्ने छ ।
आन्तरिक एकतामा मात्र ‘मुडे बल’
संगठन चलायमान, गतिशिल बनाउन आन्तरिक एकता महत्वपूर्ण कडी हो । हामी माक्सवादीहरू द्धन्द्धात्मक भौतिकवादमा विश्वास त गर्छौ । तर स्वार्थमा देखिने बहुरंगी रुपहरूका कारण सिद्धान्त बुझ्ने तर व्यवहारमा कार्यान्वयन नगर्ने परिपार्टी हामीमा विद्यमान छ ।
आज यसको जवाफ व्यवहारले दिनुपर्ने छ । जीवन्त संगठनमा उठ्ने वाद–विवादका घटना परिघटना सामान्य हुन् । नयाँ नयाँ विचार निर्माणमा कमिटीगत तहमा उठेका प्रश्नले जवाफदेही र उत्तरदायी बनाउँछ । आज यो सम्झेर हामी हिड्नुपर्ने छ ।
एकले अर्काप्रति राख्ने सद्भाव, सम्मान, माया र स्नेह अनिवार्य शर्त हो । संगठनको आन्तरिक एकता जोगाएर अगाडी बढ्नुपर्ने युगको माग हो । समाजवादी संस्कृति, समाजवादी व्यवहार बिना समाजवादको बाटो हाम्रो लागि केवल भन्ने कुरा मात्र हुन सक्छ ।
समाजवाद ल्याउने महान उद्देश्य बोकेर हिडेका हामी यात्रीहरू आन्तरिक एकतालाई कठाई पूर्वक पालना गरौं । अरूलाई सिकाउने गरी हिड्ने अवसर पाएका हामीले यसको सदुपयोग किन नगर्ने ? गम्भीरता पूर्वक सोचौं ।
समयको माग– सानो कमिटी
उपल्ला कमिटी हाम्रा फुकेका तल्ला कमिटी सुकेका हुनु हुँदैन् । जति सानो कमिटी उति धेरै काम । यो व्यवहारिक अभ्यास हो । एक पद, एक व्यक्तिको नियमलाई कठाई पूर्वक लागू गरौं ।
एउटा कमिटीमा दुई कार्यकालभन्दा बढी नबसौँ । युवालाई मुख्य काममा लगाऔं । सम्मानित व्यक्ति सल्लाह दिने ठाउँमा बसौं । आफ्ना अनूभव सुनाए पनि संगठन बैचारिक बन्छ । त्यति धेरै महत्व हुन्छ अग्रजहरूको ।
आज कार्यकारी पदमा बस्नेलाई मात्र ठूलो व्यक्ति ठान्ने अनौठो बुर्जुवा संस्कृतिको विकास भएको छ । हामी त्यो पटक्कै नगरौं । अग्रजहरूको सधैं सल्लाह, सुझाव र मार्गदर्शन लिएर अगाडि बढौं । बामे सर्दै गरेको संगठनमा खास व्यक्तिको खास उपलब्धी बाहेक अनेक भावनात्मक कुरामा फसेर संगठन ध्वस्त पार्ने काम गर्दै नगरौं । आवश्यकताले तय गर्ने बाहेक अरु तरिकाले सोच्न थालियो भने हामी गन्तव्यमा पुग्नै सक्दैनौं ।
एक वडा, एक समाजवादी पत्रकार
समाजवाद हाम्रो महान यात्रा हो । समाजलाई समाजवादबारे गहिरो गरी बुझाउन सकिएको छैन् । संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउनका लागि जसरी हाम्रा अग्रजहरूले पसिना बगाउनुभयो समाजवादी राज्य व्यवस्था स्थापनाका लागि पनि त्यसै गरी पसिना बगाउन पर्ने छ ।
हामीले एक वडा, एक समाजवादी पत्रकारको अवधारणा लिएर अगाडि बढ्नुपर्छ । अहिलेको दलाल पुँजीवादी समाजमा देखिएका विकृति, विसंगतीलाई हामी विचारमार्फत परास्त गर्नुपर्ने छ । यहीँ विचारको संवाहकको रुपमा हाम्रो संगठनले भूमिका खेल्नु जरुरी छ । समाजवाद अमुक पार्टीको गन्तव्य होइन् । समाजवाद एउटा क्रान्ति हो ।
वैचारिक प्रष्टता, आजको आवश्यकता
उपभोक्तावादी समाज, बुर्जुवा जीवनशैलीले क्रान्तिमाथि निरन्तर धक्का हुँदैछ । समाज वैचारिक रुपमा स्खलित हुँदै छ । विचारविहिन समाजले कसैको भलो गर्दैन् ।
आज मिडिया बोले, समाजको आवाज जसरी लिने गरिएको छ । आज गोयबल्स शैली अपनाउने अनुयायीहरू समाजमा छ्याप्छ्याप्ती भेटिन्छन् । प्रथम विश्वयुद्धले ठूलो मारमा परेको वा मारमा पारिएको जर्मनीमा संसारका विख्यात तानाशाह भनेर चिनिने एडोल्फ हिटलरले शासन हात लिएपछि उनले आफू नेतृत्वको सरकारको अर्थमन्त्रीको रुपमा गोयबल्स नामका व्यक्तिलाई नियुक्त गरेका थिए ।
सबैतिरबाट भड्खालोमा जाकेर चारैतिरबाट नाकाबन्दी गरिएको जर्मनी अबको आधा शताब्दीमा पनि उठ्न सक्ने र विश्वका शक्तिराष्ट्रसामु शिर ठाडो बनाउन सक्ने छैन भनेर जर्मनीविरोधि सबै देशहरू खुशी र ढुक्कसमेत भए । तर हिटलरले आधा शताब्दी त कुरै नगरौं केही वर्षमा नै जर्मनीमा ५० लाख सेना तयार गरे ।
आधुनिक हतियार धेरै दू्रत गतिमा बनिए, जसका कारण आधा शताब्दी उठेर शिर ठाडो पार्न सक्दैन भनेको जर्मनीले दोस्रो विश्वयुद्धको तहल्का मच्चाउन सक्ने भएको थियो ।
गोयबल्सको एउटा अनौठो र नपत्याउँदो तर कामयावी हुने खालको सिद्धान्त के थियो भने, कुनै पनि झुटो कुरालाई सय वा हजारपटकसम्म सत्य हो भनेर भनिरहन सकियो भने सबैजसो मान्छे स्वयंले विश्वास गरेर पत्याउनेछन् ।
हिटलरको सरकारका अर्थमन्त्री बनेका गोयबल्सले यसै सिद्धान्तका आधारमा संसारलाई ढाँटेरै तर झुटो कुरो भए पनि पत्याउन बाध्य पारेरै धेरै शक्ति सञ्चय गर्न सकेका थिए । सञ्चय गरिएको त्यही शक्तिका कारण दोस्रो विश्वयुद्ध छेडेर केही हदसम्म जित हासिल गर्न सफलतासमेत पाएका थिए ।
आज सत्य कुरा भन्न डराउनुपर्ने स्थिति सिर्जना भएको छ । सत्य कुरा भन्दा निरन्तर हमाला हुँदै आएको छ । त्यसैले अधिवेशनले बैचारिक प्रष्टता ल्याउन जरुरी छ ।
इतिहासको समीक्षा, भविष्यको निर्माण
आज इतिहासको निर्मम समिक्षा गर्नुपर्ने छ । आजसम्म आइपुग्दा हाम्रा बीचका देखा परेका कमिकमजोरी पत्ता लगाऔं । तत्कालीन ‘प्रेस चौतारी नेपाल’ भित्र देखिएका विकृतिलाई नदोर्याउने दृढ संकल्प गरौं ।
निरंकुश पञ्चायतदेखि आजसम्म आईपुग्दा नेपाली प्रेसले गरेका संघर्षकोबारेमा चर्चा गर्नु आवश्यक छ । सन्चार माध्यममा भर्खरै लागेकालाई ती प्रेरणाका स्रोत बन्न सक्छन् ।
श्रमजिवी पत्रकारले पाएका दुःख र आगामी दिनमा पत्रकारले पाउने भनिएको न्यूनतम पारिश्रमिक कार्यान्वयनको अवस्थाबारे समीक्षा गर्नु जरुरी छ । हामी विचारप्रति कटिवद्ध बनेपनि राजनीतिक पार्टीले गर्ने गलत कामको साक्षी बस्ने काम कदापि गर्न हुँदैन् । पार्टीले बाटो विराउँदा खबरदारी गर्न सक्ने संगठन बनाउन जरुरी छ ।
०७७ पुस ५ मा जसरी तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरे त्यसको सशक्त प्रतिकार हामीले गरेका थियौं । तत्कालीन समयका ओली समूहका साथीहरुले त्यो गलत कदमलाई स्विकार्ने काम गरे । गलतलाई गलतसमेत भन्न नसक्ने अवस्थामा हामी पुग्यौं ।
भोलिका दिनमा यस्ता प्रकारका व्यक्तिवादी सोच र चिन्तत नभित्त्राउनका लागि हामी सचेत बन्नै पर्छ । यसका अलवा हामी व्यवसायिक पत्रकारितालाई जोड दिदैँ समाजवादका आधार खडा गर्ने गरी लाग्नुपर्छ । अन्त्यमा, भविष्यका सुनौला विहानी देखाउनका लागि यो महाधिवेशन महत्वपूर्ण हुने अपेक्षा छ ।