काठमाडौं । सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालयमा केही महिनायता रमिता छ । मन्त्रीको सचिवालयमा खुलेआम कर्मचारी सरुवाका डिल हुन थालेका छन् ।
मन्त्री अमनलाल मोदीका स्वकिय सचिव सुजन कालिकोटेले सरुवामा आतंक मच्चाएका छन् । कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतमा पठाउँदा पनि पैसा लिने र हटाउँदा पनि पैसा लिने गरेको आरोप उनीमाथि लागेको छ । हटाउँदा खेरि अर्काे कर्मचारी निमित्त हुने भएकाले उसले मन्त्रीको सचिवालयमा खर्च गर्ने गरेको छ । अहिले धेरै स्थानीय तहमा प्रशासकीय अधिकृत नहुनुको रहस्य यही भएको स्रोत बताउँछ । साथै चलखेलकै आधारमा कतिपय सरुवा एक दिनमै बदर हुन थालेका छन् । कुरा नमिलेपछि यसरी सरुवा र बदरले मन्त्रालय नै बिकृत बनेको छ । डिलअनुसार काम नभए रद्द गर्नका लागि सरुवाका निर्णय समेत रद्द गर्न थालिएको छ ।
सचिव कृष्णहरी पुष्करका कारण पनि मन्त्रालयमा विकृति बढेको कर्मचारीहरू बताउँछन् । गत साता पत्रकार सम्मेलनमै मन्त्री मोदीले सचिव पुष्करको बेइज्जत गरेका थिए । पहिला अर्थमा हुँदा आफुलाई नटेर्ने पुष्करले अहिले आफ्नो मन्त्रालयमा आएपछि जे भन्यो त्यही मान्ने गरेको बताएका थिए । हाँसेर सचिव पुष्करले स्वीकार्दै निरिहता प्रदर्शन गरेका थिए ।
अर्काेतर्फ निजी सचिव ज्ञाननाथ ढकालको चलखेल पनि उस्तै छ । ढकालले पनि मन्त्रालयमा छुट्टै गिरोह चलाएको स्रोत बताउँछ ।