काठमाडौं । करिब चार करोड रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको अभियोग लागेका सडक विभागका सिडिईले अदालतबाट सफाई पाएका छन् । सिडिई जितेन्द्रराज शाक्यले गैरकानुनी सम्पत्ति आर्जन गरी आफू र श्रीमतीका नाममा राखेको मुद्दामा दुवैले सोमबार बिशेष अदालतबाट सफाइ पाएका हुन् ।
मध्यपहाडी (पुष्पलाल) लोकमार्गमा सिडिईका रूपमा कार्यरत शाक्य ०३४ साउनमा सार्वजनिक सेवामा प्रवेश गरेकोमा ०७६ असारसम्मको सम्पत्ति तथा खर्च तीन करोड ८१ लाख रुपैयाँभन्दा बढी देखिएपछि मुद्दा दायर भएको थियो ।
दुई करोड २५ लाख रुपैयाँभन्दा बढी रकमको वैध स्रोत देखाउन नसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २५ असार ०७७ मा मुद्दा दायर गरेको थियो । जसमा शाक्यले भ्रष्टाचार गरी आर्जन गरेको सम्पत्ति उनकी श्रीमती मिथिला शाक्यका नाममा समेत राखेको दाबी गरिएको थियो । यसै मुद्दामा तीन वर्षपछि फैसला गर्दै दुवैजनालाई सफाइ दिइएको हो । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यहरू शालिग्राम कोइराला र खुसीप्रसाद थारूको इजलासबाट यस्तो फैसला आएको हो ।