एक व्यक्तिको नियन्त्रणमा पुगिसक्दा राजनीतिक दलले अस्तित्व गुमाउँछ । आज नेकपा एमाले राजनीतिक दल रहेन । जहाँ अध्यक्ष केपी शर्मा ओली बाहेक अरू कसैको अस्तित्व छैन । एमाले एकल स्वामित्वमा सञ्चालित ‘प्राइभेट कम्पनी’ भएको छ । ओली त्यसका ‘एक्ला मालिक’ हुन् ।
एमालेले आठौँ महाधिवेशनबाट बहुपदीय प्रणाली अवलम्बन गर्यो । सिद्धान्ततः बहुपदीय प्रणाली शक्ति विकेन्द्रीकरण हो । नीति निर्माण तथा कार्यान्वयन सामूहिकतामा आधारित हुन्छ । तर, एमालेले शक्ति विकेन्द्रीकरणमा आधारित बहुपदीय प्रणालीको अभ्यास गर्नै पाएन । दसौँ महाधिवेशनसम्म आइपुग्दा ओलीले शक्ति विकेन्द्रीकरणको सिद्धान्तलाई नै चित्त खुवाए । र, पूर्ण रूपमा आफूमा शक्ति केन्द्रित गरेका छन् ।
नवौँ महाधिवेशनबाट पार्टीको केन्द्रीय सत्ता हत्याउन सफल ओली दसौँ महाधिवेशनबाट पुनः अध्यक्ष निर्वाचित भए । त्यसपछि एमालेमा ओली ‘प्रतापी महाराज’ झैँ रजगज गरिरहेका छन् । आज ओलीसँग सहयोद्धा वा सहकर्मी छैनन् । छन् त केवल, दासहरू । जो ओलीको जयजयकारमा मात्र उज्ज्वल भविष्य देख्छन् ।
पार्टीको केन्द्रीय सत्ता हत्याएदेखिनै ओलीले असली चरित्र देखाउन थालिसकेका थिए । तर, त्यो समय एमालेमा माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमहरू सशक्त प्रतिपक्षी भूमिकामा थिए । त्यसैले, एक्लोटी रजगज सम्भव भएन । तर, दसौँ महाधिवेशनसम्म आइपुग्दा ओलीले पार्टीभित्रका सबै प्रतिपक्षीलाई पाखा लगाए । र, पार्टी कब्जा गर्दै निस्फिक्री रूपमा मनपरी राज गरिरहेका छन् ।
आजभन्दा २० महिना अगाडि अर्थात् २०७८ असोजमा एमालेले धूमधाम विधान महाधिवेशन सम्पन्न ग¥यो । नीति निर्माण र नेतृत्व चयनलाई विशिष्टीकृत गर्नु नौलो र सकारात्मक प्रयास थियो । तर, २० महिना पनि नबित्दै ओलीले विधान महाधिवेशनको औचित्य समाप्त पारिदिए । विधान महाधिवेशनले बनाएको विधान च्यातच्युत पारेर रद्धिको टोकरीमा फ्याँकिदिए ।
एमालेले नवौँ महाधिवेशनबाट ७० वर्षे उमेर हद तय ग¥यो । अर्थात्, ७० वर्ष पुगेका व्यक्ति एमालेको कुनै पनि पदमा उम्मेदवार बन्न नपाउने व्यवस्था गरियो । ललितपुरको गोदावरीमा एमालेबाट आयोजित ‘कुम्भ मेला’ले पनि सो व्यवस्थालाई निरन्तरता दियो । तर, २० महिनापछि ओलीले ७० वर्षे व्यवस्थामा आरा चलाए । र, आजीवन राज गर्ने बाटो तय गरे ।
राजनीतिक दलको सर्वोच्च निकाय महाधिवेशन हो । महाधिवेशनले निर्वाचित गरेको केन्द्रीय कमिटी त्यसपछिको शक्तिशाली र अधिकार सम्पन्न संरचना हो । तर, विधान महाधिवेशनले निर्माण गरेको नीति ओलीले सचिवालय बैठकबाट खारेज गरिदिए । केन्द्रीय कमिटीमा ताली बजाउन लगाएर बिरालो बाँध्नेछन् । ७० वर्षे उमेर हद खारेज गर्ने ओलीको चाहनामा प्रश्न गर्ने आट कसैले गरेनन् । एक्लो ओली विधानभन्दा धेरै माथि साबित भए ।
वाध्यात्मक परिस्थितिमा आवश्यकताका आधारमा विधानको अधीनमा रहेर विधानहरू परिमार्जन गर्न सकिन्छ । तर, निहित व्यक्तिको चाहना पूरा गर्ने सन्दर्भमा त्यो सम्भव नहुनुपर्ने हो । तर, एमालेमा सम्भव भयो । अहिलेकै अवस्थामा एमालेले ७० वर्षे उमेर हद हटाउनुपर्ने बाध्यात्मक आवश्यकता केही छैन । यहाँ, एक्लो मालिक ओलीको चाहना प्रधान बन्यो । ओलीले चाहेअनुसार विधान च्यातियो । अरूले ताली पिटे । आफ्नै टाउकोमा घन ठोके ।
सामान्य ढङ्गबाट हेर्दा एमालेको निर्णयले एमालेका नेता कार्यकर्तालाई मात्र प्रभाव पार्ने जस्तो देखिन्छ । तर, यो ‘गम्भीर प्रकृतिको प्रवृत्ति’ हो । जुन प्रवृत्तिको सङ्क्रमण अन्य राजनीतिक दलमा हुरीको बेगमा फैलिन्छ । जुन, प्रवृत्तिले मनपरी तन्त्र निम्त्याउँछ । नीति निर्माण गर्ने तहमा पुग्ने खुड्किलोका रूपमा स्थापित राजनीतिक दलहरूमा एमालेमा जस्तै बार लाग्छ ।
नेपालको सन्दर्भमा ‘युवालाई अवसर’ लामो समयको ‘शिखर बहस’ हो । फगत सहभागिता मात्र नभएर निर्णायक र नेतृत्वदायी भूमिका युवाको माग र चाहना हो । तर, निहित व्यक्ति निरन्तर नेतृत्वमा रहिरहँदा हजारौँ युवा सम्भावनाहरू नफूल्दै ओइलाएका छन् । यस्तो पेचिलो परिवेशमा लामो बहस र दबाबपछि एमालेले ७० वर्षे उमेर हद कायम गरेको थियो । तर आज, त्यो बहस र दबाबको उपलब्धि गुमेको छ ।
उमेर हद हटाउने निर्णयले एमालेका बहुसङ्ख्यक युवा जमातमा निराशाको बादल छाएको छ । नजिकिएका सम्भावनाका ढोकाहरू निक्कै टाढा धकेलिएका छन् । राजनीतिक जीवनको उत्तरार्द्धमा ओलीमा अस्वाभाविक हरियाली छाएको छ । उमेर हद हटाउने निर्णयमा ताली बनाउने युवा नेतृत्वले फल नदिने बुढो रूखमा मल हालेका छन् । सोही रूखको सेपमा सेपिएर जिम्लिन तयार भएका छन् ।
ओली सत्ताका अधिक भोका नेतृत्व हुन् । एक निमिष पनि सत्ताबाहिर रहन सक्दैनन् । अब, शारीरिक र मानसिक दुवै कोणबाट नेतृत्वका लायक होइनन् । तर, चोला नउठेसम्म सत्तामै रहने चाहना बोकेर बाँचेका छन् । चाहना पूरा गर्न एमालेमा ‘कोत पर्व’ रच्न तयार ओलीका अगाडि सबै निरीह छन् । एक सनकमा विधान नै च्याते पनि ओलीमाथि प्रश्न गर्ने हिम्मत र हैसियत कसैले राखेनन् ।
संस्थाले राजाहरूलाई अधिक शक्तिशाली बनाएको थियो । त्यसैले, एक्लै निर्णय गर्थे । र, राजाहरूका निर्णयहरू राजाहरूकै निम्ति मात्र अनुकूल हुन्थ्यो । आज ओली पनि राजा महाराजाहरूकै अवतारमा प्रस्तुत भएका छन् । एमालेका हजारौँ नेता कार्यकर्ताले रैती हैसियत पनि गुमाइसकेका छन् । त्यसैले, एक्लो चाहना पूरा गर्न ओलीले चाल्दै आएका हरेक कदमहरू आँखा चिम्लेर स्विकार्दै आएका छन् ।
जीवनभर सत्तामा रहने ओलीको चाहना र त्यो चाहनामा साथ दिने दासहरूकै कारण एमालेको भविष्य संकटमा छ । एमाले राजनीतिमा जीवन समाहित गरेका हजारौँ नेता कार्यकर्ता राजनीतिक भविष्य नदेखेर विचलित हुनेछन् । युवामा आशा घट्दै जाँदा एमाले ‘रिटार्यड क्लव’ बन्ने छ । नेपाली राजनीतिमा एमालेको औचित्य र आवश्यकता दुवै समाप्त हुनेछ ।
गतिशील समाजमा प्रश्न नगर्नेहरू जीवित होइनन् । आज पनि दासत्व स्विकार्नेहरू सचेत होइनन् । यस अर्थमा, एमालेका हराजौं नेता कार्यकर्ता अचेत छन् । किनकि, उनीहरू प्रश्न गर्न सक्दैनन् । एमालेमा सचेत नेता कार्यकर्ता छैनन् । त्यसैले त ओलीको दास भएर बाँचेका छन् । चन्द्र शमशेरले ‘दास प्रथा’ अन्त्य गरेको मात्र पो शताब्दी बित्यो, दास मानसिकता बोकेर बाँचेकाहरू त २१औँ शताब्दीमा पनि बाँकी नै रहेछन् !