काठमाडौं । आजभन्दा ठीक ५ वर्ष १ महिना १ दिन अगाडि प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह राता मान्छेहरूले खचाखच थियो । छुट्टै ऊर्जा र उमङ्गसहित नेता कार्यकर्ता सहभागी थिए ।
२०७५ जेठ ३ गते अर्थात समकालीन नेपाली कम्युनिष्ट आन्दोलनका दुई ठूला शक्ति नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा)’ घोषणाको उत्सव थियो, त्यो पल ।
संयोग नै मान्नु पर्छ– नेकपा घोषणा गरिएको सोही सभागृहमा ठीक ५ वर्ष १ महिना १ दिन अर्थात् २०८० असार ४ गते बहुसंख्यक राता र केही हरिया मान्छेहरू मिलेर ‘समाजवादी मोर्चा, नेपाल’ घोषणा गरियो ।
२०७५ जेठ ३ गते नेकपा घोषणा गर्न आयोजित राता मान्छेहरूको मेला र २०८० असार ४ गते आयोजित आंशिक हरिया मिश्रित मेलाको उत्साह र उमङ्गमा भिन्नता केही थिएन । नेता र कार्यकर्ता उत्तिकै हौसिएका थिए, उत्तिकै पुलकित ।
कम्युनिष्टका लागि सभागृह मेलाको दुःखान्त विगत के हो भने- सभागृह मेलाको उत्साह र उमंग लामो समय टिक्न सकेन । नेकपाभित्र चलेको शक्ति सङ्घर्षले ऐतिहासिक कम्युनिष्ट एकता लामो समय टिक्न सकेन । २०७७ फागुन २३ गते सर्वोच्चले नेकपा खारेज गर्दा त्यो ऐतिहासिक कम्युनिष्ट एकताको गौरव गाथा छिन्नभिन्न भयो ।
नेकपा विभाजनले मात्र कम्युनिष्ट फुटको इतिहास रोकिएन । एमालेबाट विद्रोह गर्दै माधवकुमार नेपालहरूले नेकपा एकीकृत समाजवादी गठन गर्दा कम्युनिष्ट फुटको इतिहासमा अर्को शृङ्खला दोहोरियो । सँगै सुरु भयो, एकीकृत कम्युनिष्ट पार्टी निर्माण गर्ने चाहना ।
तत्कालीन नेकपाको एक पाटो माओवादीले एकीकृत कम्युनिष्ट पार्टी निर्माणको ढोका सँधै खुला राख्यो । विद्रोह गरेर बनेको एकीकृत समाजवादीले सुरुवाती डकुमेन्टबाटै एकीकृत कम्युनिष्ट पार्टी निर्माणको नीति अघि सार्यो । यस चरणमा नेपाली राजनीति अति ध्रुविकृत भयो ।
तत्कालीन नेकपाको अर्को पाटो नेकपा एमालेले घोर प्रतिगमनकारी कित्ताबाट व्यवस्था र कम्युनिष्ट शक्तिहरूबीच प्रहार गर्न थाल्दा माओवादी र एकीकृत समाजवादीबीचको प्रेम झनै झाँगियो । त्यसै पनि यी दुई शक्ति सर्वोच्चले नेकपा विभाजन गर्दा रुँदै छुटिएका थिए ।
प्रतिगमनविरुद्ध सङ्घर्षका चरणहरू बढ्दै जाँदा माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीबीच सम्बन्ध प्रगाढ बन्दै गयो । यात्रामा कांग्रेस छँदै थियो । पछि जसपा विभाजन हुँदा डा. बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी गठन गरे । र, बाबुराम पनि एमालेविरुद्ध गठबन्धनको नाममा बनेको अघोषित मोर्चामा सहजै मिसियो । त्यसपछि सुरु भयो, समाजवादी केन्द्र निर्माणको चाहना ।
यसबीचमा आमनिर्वाचन आयो । आमनिर्वाचनमा लेनदेन नमिल्दा जसपा एमालेसँग सहकार्य गर्न पुग्यो । तर, एमालेबाट धोका पाएपछि पुनः पुरानै मोर्चामा जसपा आइपुग्यो । नयाँ सरकार निर्माणको सन्दर्भमा जसपा प्रचण्डकै पेरिफेरिमा घुम्यो ।
निर्वाचन अगाडि नै समाजवादी पार्टी नै घोषणा गर्ने प्रयासहरू भए । सबै पार्टीले वार्ता समिति नै घोषणा गरेर एकताको प्रयास भयो । तर, पार्टी घोषणाको उचित गृहकार्य पुगेन । अन्तत, सोमबार समाजवादी मोर्चा घोषणा भयो ।
फेरि छुटे बाबुराम
भनिन्छ– कम्युनिष्टहरू भाग्यमा विश्वास गर्दैनन् । तर, कम्युनिष्टहरू गेरुधारी भइसके । यस्तो अवस्थामा कम्युनिष्टहरूको सन्दर्भमा ‘अभागी’ शब्द प्रयोग गर्नु अनुचित हुँदैन ।
दुई चरणको ऐतिहासिक अवसरमा बाबुराम भने ‘अभागी’ ठहरिएका छन् । त्यसो त बाबुरामले आफूलाई उहिले नै ‘म कम्युनिष्ट होइन’ भनिसकेका छन् ।
नेकपा घोषणा गर्ने तयारीका सम्पूर्ण गतिविधिमा तत्कालीन नयाँ शक्ति पार्टीका अध्यक्षका हैसियतमा बाबुराम सक्रियतापूर्वक सहभागी थिए । एमाले, माओवादी र नयाँ शक्तिले ०७४ को आमनिर्वाचन अघि २०७४ असोज १६ गते तालमेल घोषणा गरे ।
निर्वाचनलगत्तै पार्टी एकता गर्ने बाचासहित तालमेल घोषणा गरेका बाबुराम ऐतिहासिक नेकपा एकतामा सहभागी हुन सकेनन् । नेकपा एकताबाट उछिट्टिएर बाबुराम तत्कालीन संघीय समाजवादी फोरमसँग एकता गर्दै जसपा भएर नेसपामा आराम गरिरहेको छन् ।
समाजवादी मोर्चा घोषणा गर्ने सन्दर्भमा बाबुराममाथि सोही नियति दोहोरियो । समाजवादी केन्द्र निर्माणका अग्रपङ्क्तिमा बाबुराम नै थिए । समाजवादी मोर्चा सोही प्रयासको पहिलो चरण हो । यसपटक पनि बाबुराम छुटेका छन् ।
बाबुरामका दुई नियतिको अन्तर्य अर्को आलेखको अंश बन्छ ।
विप्लवको ‘आरामसे’ अवतरण
क्रान्ति गर्ने भन्दै भौँतारिएर दुई–चार बम पड्काउँदै हिँडेका नेत्रविक्रम चन्द ‘विप्लव’ले भने समाजवादी मोर्चामार्फत आरामले अवतरण गरेका छन् ।
संसदीय व्यवस्था नै खारेज गर्नुपर्छ भन्दै हिँडेका विप्लव अब भने पूर्णरुपमा संसदीय व्यवस्थामा फर्केका छन् । अब, समाजवादी मोर्चामार्फत वर्तमान सरकारको रक्षा गर्नु विप्लव नेतृत्वको ‘नेपाल कम्युनिष्ट पार्टी’को पहिलो कर्तव्य हुनेछ ।
समाजवादी मोर्चा हुँदै संसदीय राजनीतिमा प्रवेश गरेका विप्लव कालान्तरमा पार्टी एक हुने अवस्था बने राम्रो पोजिसनमा रहन सक्छन् । तर, त्यो भोलिको कुरा हो । आजका लागि विप्लव पनि सत्ताधारी नै भएका छन् ।
समाजवादी केन्द्र बन्ला ?
समाजवादी केन्द्र घोषणाका क्रममा प्रचण्डले नेकपा घोषणा त्यो चरण स्मरण गरेका छन् । र, आत्मसमीक्षा गर्दै भनेका छन्– ‘पार्टी एकता गरेर नेकपा बनाउनु गल्ती गरिएछ । यसरी नै मोर्चा मात्र घोषणा गर्नुपर्ने थियो । तर, यसपटक मोर्चा मात्र घोषणा गरेर ठीक गरियो ।’
प्रचण्डले यसपटक मोर्चा मात्र घोषणा गरेर ठीक गरियो भनेतापनि यो मोर्चाको अनन्त लक्ष्य एउटै पार्टी अर्थात ‘समाजवादी केन्द्र’ निर्माण गर्नु नै हो । किनकी, बहस त्यसरी नै प्रारम्भ भएको छ ।
त्यसो भए सहजै समाजवादी केन्द्र बन्ला त ? यो प्रश्नको जवाफ समयले देला । तर, केही वस्तुगत अवस्थाहरू हेर्दा त्यो सहज छैन । किनकी, आ–आफ्नै जडमा रुमलिएकाहरू एक ठाउँमा रहने जस्तो जटिल अरु हुँदैन । नेकपा गठन र विघटन ज्वलन्त उदाहरण हो ।
यद्यपि, मोर्चामा आवद्ध शक्तिहरू दिनदिनै कमजोर हुँदै गएको वस्तुगत अवस्थालाई नेतृत्वले बुझ्न सक्ने हो भने आगामी दिनको सत्ता र शक्तिका लागि समाजवादी केन्द्र बन्नलाई समस्या हुँदैन ।
सभागृह संयोग र अनिश्चित भविष्य
राष्ट्रिय सभागृह नै फर्कौँ । जहाँ ऐतिहासिक एकता पश्चात नेकपा बनेको थियो । र आज, सोही सभागृहबाट समाजवादी मोर्चा घोषणा भयो । यी दुई घटना एउटै ठाउँमा हुनु संयोग मात्रै कि इतिहासको निरन्तरता पनि ?
२०७४ असोज १७ गते सभागृहबाटै एमाले, माओवादी र नयाँ शक्तिले चुनाव लगत्तै पार्टी एकता गर्ने बाचा गर्दै चुनावी तालमेल घोषणा गरेका थिए । तर, २०७५ जेठ ३ समम्म आइपुग्दा नयाँ शक्ति छुट्यो, एमाले र माओवादी मिलेर नेकपा घोषणा गरे ।
इतिहासकै निरन्तरता जस्तै गरेर सोमबार समाजवादी मोर्चा घोषणा गर्ने सन्दर्भमा यो अभियानको अभिन्न शक्ति बाबुराम नेतृत्वको नेसपा २०७५ जेठ ३ जसरी इतिहास दोहोर्याउँदै बाहिरियो ।
राष्ट्रिय सभागृहबाट २०७५ जेठ ३ गते घोषणा भएको नेकपा २०७७ फागुन २३ गते खण्डित भयो । अब, समाजवादी मोर्चा पार्टी बन्छ कि विगत झै विभाजन हुन्छ ?
इतिहास हेरेर वा कार्यक्रम आयोजन गरिएको ठाउँ विशेषलाई हेरेर एजम्सन गर्नु इपोथेटिकल हुन्छ । तर, कम्युनिष्ट वा सेन्ट्रल टू लेफ्ट शक्तिहरूको विगत र विगतको जगमा बनेका वर्तमान र विगतका वर्तमानले तय गरेका भविष्यहरू हेर्दा इतिहास दोहोरिने अधिक सम्भावना रहन्छ ।
मोर्चाको वर्तमान आवश्यकता
मोर्चा घोषणाका क्रममा जारी १५ बुँदे उद्देश्य र प्रतिवद्धताहरू हेर्दा वर्तमान समस्याहरूकै फेहरिस्त हो । १५ बुँदामा समेटिएका उद्देश्य र प्रतिवद्धताहरू मोर्चा आवद्ध दलहरूले उठाउँदै आएका विषय नै हुन् ।
भिन्नभिन्नै शक्तिबाट उठाइँदै आएको मुद्दाहरू एउटै बकेटमा ल्याइएको मात्र हो । जुन, मोर्चासँग नयाँ उद्देश्य र त्यसलाई भेट्ने एजेण्डा छैनन् । यसअर्थ, यो मोर्चा नयाँ कामका लागि बनेको होइन ।
त्यसो कुन उद्देश्यका लागि मोर्चा बन्यो त ? भन्ने प्रश्न रहन सक्छन् । अहिलेकै सन्दर्भमा यो मोर्चाका तीन काम छन् ।
एक, कमजोर धरातलमा बनेको प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई टेको हाल्ने प्रयास । चार शक्ति मिल्दा हुने ५४ सांसदले प्रचण्ड सरकारलाई भरपर्दो टेको हाल्न त सक्दैन । तर, यसअघि गठबन्धनको रुपमा रहेका शक्तिहरूमा खेलेर प्रचण्ड सरकार ढाल्ने विपक्षीको प्रयास भने अहिलेका लागि रोकिएको छ ।
दुई, समाजवादी मोर्चा वर्तमान संसद्का कमजोर शक्तिहरूको समूह हो । यो मोर्चामा आवद्ध चार शक्ति कुनै पनि बेला सत्ताबाट नमज्जाले अत्याइने दिन पनि आउन सक्छ । त्यस्तो अवस्थामा सडकमै भए यी शक्ति एक भएर सुख दुःख बाँड्नेछन् ।
तेस्रो काम भनेको चाहिँ ‘समाजवादी केन्द्र’ निर्माण हुनेछ । एकतामा बल हुन्छ भन्ने सत्यलाई स्वीकार्दै सबैखालका अतिहरू त्यागेर नेताहरू तयार भए यो मोर्चाको आलोकमा समाजवादी केन्द्र निर्माण हुनेछ ।