काठमाडौं । एनसेल कम्पनीकै मिलेमतोमा नेपालमा अवैध भिओआइपी धन्दा भइरहेको प्रहरी अनुसन्धानले देखाएको छ । भिओआइपी अपराधको आरोपमा एक चिनियाँलाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा यस्तो रहस्य भेटिएको हो ।
केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले गत साता चिनियाँ नागरिक जाओ जिआङपेङ र उनका नेपाली सहयोगी गणेश श्रेष्ठलाई पक्राउ गरेको थियो । ललितपुरको टिकाथलीस्थित एक घर भाडामा लिएर उनीहरुले अवैध भिओआइपी धन्दा चलाउँदै आएको छ ।
उनीहरुको कार्यालयबाट सिआइबीले तीन हजार आठ सय ३१ वटा सिमकार्ड बरामद गरेको छ । सिम लिनका लागि नागरिकता तथा पासपोर्टको फोटोकपि अनिवार्य छ । तर, चिनियाँ नागरिकले सहजै करिब चार हजार सिम कार्ड लिएका थिए ।
एनसेल कम्पनीकै मिलेमतोमा अवैध रुपमा सिमकार्ड लेनदेन भएको भेटिएको छ । जसमा एनसेलका कर्मचारीहरुमाथि पनि सिआइबीले अनुसन्धान गरिरहेको छ । ‘कम्पनीको मिलेमतोबाट सिमकार्डको दुरुपयोग सम्भव नै छैन,’ अनुसन्धानमा आबद्ध सिआइबीका अधिकारी भन्छन्,‘यसमा एनसेलका कर्मचारीले आर्थिक लाभ लिएको देखिन्छ ।’
बरामद भएकामध्ये दुई हजार पाँच सय कार्ड प्रयोग गरिएका थिए । ती सिमकार्डको दुरुपयोग गरी अन्तर्राष्ट्रिय कल तथा एसएमएस बाइपास हुँदै आएको छ । त्यसबाट राज्यले करोडौं आम्दानी गुमाउँदै आएको थियो । तर, एनसेलले भने आम्दानी गरिरहेको छ । कल बाइपास गर्दा सिमकार्डमा रिचार्ज गर्नुपर्ने भएकाले उसले भने आम्दानी गर्दै आएको थियो । जसकारण नियम मिचेर उसले अपराधिक समूहलाई हजारौं सिमकार्ड दिएको सिआइबी अनुसन्धानमा देखिएको छ ।