काठमाडौं । छुट्न अनेक प्रयास गर्दा पनि नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीहरू अन्ततः जेल चलान भएका छन् । पक्राउ परेदेखि नै अनुसन्धानलाई प्रभावित पार्ने उनीहरुको तिकडम सफल भएन । प्रहरीलाई फकाउनेदेखि ठूला वकिल राखेर इजलासलाई धम्काउनेसम्मका काम उनीहरूबाट भए । तर, बलिया प्रमाणका सामु उनीहरुको केही लागेन ।
पूर्वमन्त्रीहरु बालकृष्ण खाण, टोपबहादुर रायमाझी लगायत १६ जना केन्द्रीय कारागार पुगेका छन् । कारागार पुगेपछि पनि उनीहरूको चलखेल भने जारी छ ।
स्रोतका अनुसार कांग्रेस नेता खाणले प्रहरी अधिकारीदेखि कांग्रेस नेताहरूसम्मलाई प्रतिशोध लिने धम्की दिएका छन् । आफुलाई जेल हाल्न एसएसपी मनोज केसीदेखि एआइजी श्याम ज्ञवालीसम्म लागेको उनको बुझाई छ । आइजिपी बसन्तबहादुर कुँवरले सहयोग गरेपनि कमजोर कमाण्ड हुँदा उनले केही गर्न नसकेको जेलमा आफ्ना सहयोगीसँग उनले बताउने गरेका छन् ।
साथै, आफ्नै नेताहरुले पनि असहयोग गरेको खाणको दाबी छ । पार्टी सभापति शेरबहादुर देउवा आफ्नो थुनछेक आदेश आउने बेला योजनाबद्ध रुपमा सिंगापुर गएको भन्दै खाण रिसाएका छन् । हुन त देउवाले खाणको मुद्दा मिलाउने जिम्मा उपप्रधानमन्त्री पूर्णबहादुर खड्कालाई दिएका थिए । तर, पछिल्लो समय खड्काले पनि खाणको बेवास्था गरे । कांग्रेस महामन्त्री गगन थापा त सुरुदेखि नै खाणको विरुद्ध लाग्दै आएका थिए । थापाविरुद्ध त तरुण दलका नेताहरू परिचालन नै गरेका छन् ।
अब उच्च अदालतबाट छुट्ने खाणको रणनीति छ । तर त्यो प्रक्रिया पूरा हुन अझै ३–४ महिना लाग्ने देखिन्छ । त्यसकारण त्यतिबेलासम्म उनी जेलमै हुने निश्चित छ । अर्काेतर्फ बलिया र अकाट्य प्रमाण भएकाले उच्च अदालतले पनि छाड्ने कठिन हुने अवस्था छ । तर, पार्टी नेतृत्वलाई धम्काएर छुट्ने खाणको रणनीति छ । आफुलाई नछुटाए शेरबहादुर र आरजु देउवालाई समेत समस्यालाई पारिदिने सन्देश धम्की उनले जेलबाटै पठाउन थालेको स्रोत बताउँछ । त्यही कारण पनि कांग्रेसले उनलाई निलम्बन गर्न सकेको छैन ।
त्यस्तै धम्की टोपबहादुर रायमाझीले पनि केपी शर्मा ओलीलाई दिन थालेका छन् । सो प्रकरणमा ओलीका सहयोगीले पैसा लिएको भेटिएको छ । तर, पर्याप्त प्रमाण नभएको भन्दै राजेश बज्राचार्य लगायतमाथि प्रहरीले अनुसन्धान गर्न सकेको छैन । ओलीले आफुलाई छुटाउन सहयोग नगरे गोप्य कुराहरु खोलिदिने धम्की रायमाझीले दिन थालेका छन् । रायमाझीका त बाबु–छोरा नै जेलमा छन् ।