अमेरिकी विदेश विभागको नेपाल डेस्कमा काम गर्ने एक अमेरिकी अधिकारीसँग भेट भैरहन्छ । पिसकोर स्वयंसेवकका रूपमा नेपालमा सात वर्ष बिताएका उनी लामो समयदेखि नेपालसम्बन्धी अमेरिकी नीति बनाउने जिम्मेवारीमा छन् ।
नेपाली भाषा फरर बोल्ने उनी नेपाल र नेपालीका बारेमा कुरा गर्न पाउँदा घण्टौं बितेको प्रवाह गर्दैनन् । नेपालका १३ जिल्ला घुमेका उनीसँग ती जिल्लासँग जोडिएका संस्मरण पनि छन् । संजोगले उनी म जन्मेको जिल्ला ताप्लेजुङ पनि पुगेका छन् । पुगेको मात्र हैन, ओलाङचुङगोला सम्मको पैदलयात्रा पनि गरेका छन् । लिम्बू र वलुङ भाषामा सामान्य बोलीचालीका केही वाक्य पनि अझै विर्सेका छैनन् उनले ।
नेपालकै कारण जीवनको रोजीरोटी जुटेको बताउने उनी र मेरो बीचको सम्बन्ध पनि नेपालकै कारण हो । नेपालका बारेमा उनी मेरा धारणा पनि रूचिका साथ सुन्छन् । र, आफ्ना धारणा पनि प्रष्टसँग राख्छन् । तर, उनी जागीरको परिधि र कूटनीतिक सीमाका कारण नाम भन्न सक्दैनन् ।
म उनको बाध्यतालाई बुझ्छु ।
भेट भएको बेला हामी कफी लिँदै घण्टौसम्म कुरा गर्छौं र छुट्टिने बेलामा उनी भन्छन्, ‘हामी एकले अर्कोलाई चिन्दैनौँ है । अर्कोपटक परिचय गरौला ।’
पछिल्लो भेटमा मैले उनलाई अनुरोध गरें । म तिम्रो आँखाबाट एकपटक नेपाल हेर्न चाहन्छु । त्यसका लागि तिमीले मेरा केही प्रश्नको उत्तर दिनुपर्छ ।
नाम उल्लेख नगर्ने शर्तमा उनी मेरा केही प्रश्नहरूको उत्तर दिन तयार भए ।
मेरो पहिलो प्रश्न थियो, तिम्रो विचारमा नेपालको मूल समस्या के हो ?
उनको छोटो जवाफ थियो- थिति बस्न नसक्नु ।
मैले अलि लामो बताउन अनुरोध गर्दा उनले भने– नेपालमा पद्धति नै बस्न सकेन, प्रणालीले काम गर्ने कुरा त धेरै टाढाको कुरा भयो ।
आखिर किन यस्तो भयो ?
उनको जवाफ थियो– अधैर्य जनता, ल्याकत नभएका नेता अनि जटिल भौगोलिक अवस्थिति ।
परिणाम के भयो त ?
उनले अगाडि थपे- नेपाल राजनीतिक प्रणालीको एक असफल प्रयोगशाला मात्र भयो । निरंकुश राजतन्त्र, दल विनाको पञ्चायत व्यवस्था, संवैधानिक राजासहित दल भएको बहुदलीय व्यवस्था, राजा नभएको गणतन्त्र, पूर्वराजा भएको गणतन्त्र, हुँदाहुँदा स्वतन्त्र उम्मेद्वारको लहर चलेको अवस्था । थोरै समयमा कति धेरै प्रणालीको प्रयोग । यसरी नेपालमा एकपछि अर्को प्रणालीको प्रयोग मात्र भयो । कुनै प्रयोगले पनि परिणाम निकाल्न सक्दैन ।
अब के होला ?
उनले चिन्तित हुँदै भने- अब त नेपालसँग अभ्यास गर्ने राजनीतिक प्रणाली नै बाँकी छैन भने पनि हुन्छ । बिना राजनीतिक प्रणालीको देश नै हुँदैन । यसको अर्थ अन्ततः देश असफल राष्ट्र हुने हो । नेपाल त्यही दिशा र दशातिर अगाडि बढिरहेको छ ।
यसलाई अलि व्याख्या गर्न मिल्छ ?
उनको उत्तर थियो- संसार आज जहाँ पुगेको छ, यतिबेलासम्म राजनीतिक स्थायित्व नहुने देश आफैंमा एक जटिल समस्या हो । नेपाल अहिले विश्वले अभ्यास गरेको सबैभन्दा उम्दा राजनीतिक प्रणाली अभ्यास गरिरहेको छ । तर, त्यहाँ पुगेर पनि यो अडिएको छैन ।
अब कता जाला त नेपाल ?
उनले चिन्ता व्यक्त गर्दै भने– राजनीतिक पद्धतिका हिसाबले नेपाल अगाडि बढ्ने ठाउँ छैन । जबर्जस्ती गर्ने हो भने बढीमा दुर्घटना नै हुने हो । त्यो भनेको नेपाल एक ‘बनाना रिपब्लिक’ हुने हो ।
०००
राजनीतिपछि मैले सामाजिक विषयमा उनलाई तानें । मेरो पहिलो प्रश्न थियो-
तिमीलाई नेपालको सामाजिक अवस्था कस्तो लाग्छ ?
उनको उत्तर थियो– नेपाली समाजलाई व्याख्या गर्न गाह्रो छ । दिमाखमा सामुहिक सोच छ । तर, हातखुट्टा सबै एकल सोचका लागि चलेका छन् । जब व्यक्तिमा शरीर र दिमाखको सन्तुलन हुँदैन, तब त्यो समाज गतिहिन हुन्छ, दिशाहिन हुन्छ । अहिले नेपाली समाज यही अप्ठ्यारोमा छ ।
यो अप्ठ्यारोलाई सजिलो बनाउने उपाय केही छ कि ?
यस प्रश्नको उत्तरमा उनले भने- उपाय नै नहुने भन्ने हैन । तर, त्यसका लागि फेरि पनि हरेक व्यक्तिको दिमाख र शरीर एक भएर काम गर्न तयार हुनुपर्यो । अझै केही वर्ष नेपाली तन र मन त्यसका लागि तयार होला जस्तो लाग्दैन ।
नलाग्नुको खास कारणचाँहि के होला ?
यस प्रश्नको उत्तर उनले अलि लामै दिए- मूल कुरा त नेपालमा केही नै हुँदैन भन्ने संकथन बन्दैछ । नेपालमा आज कोही पनि युवा आफ्नो भविष्य देखिरहेको छैन । जब युवाले आफ्नो भविष्य देख्दैन, त्यसपछि सक्ने हिड्छ, नसक्ने आफू नसकेर बसेको ठान्छ र एक किसिमको लघुताभाष बाँच्छ ।
नेपालीको विशेषताचाँहि के लाग्छ ?
यो अलि गाह्रो प्रश्न छ भन्दै उनले थपे- म नेपालमा हुँदा नेपालीमा शिक्षा कम थियो । तर, दया अनि मायाको मानवीय भावना ठूलो थियो । संविधान, कानुन, प्रहरी सबैको काम धर्म र पापले गथ्र्योे । पाप लाग्छ भनेर मानिस गलत गर्न डराउँथे । अहिले त्यो मान्यता पूरै भत्किसक्यो । मैले सुनेको छु, अहिले त जसले गर्छ पाप, उसको हुन्छ फलिफाप भन्ने कुरा छ रे । यसले समाजमा विवेक हराउँछ, अहिले नेपाली क्रमशः विवेक हराएको राष्ट्रियताका रूपमा देखिएको छ ।
यस क्रममा उनले यो पनि थपे- नेपालीको अर्को पनि खास चरित्र छ, त्यो भनेको दोहोरो चरित्र हो । उनीहरू आफ्नो लागि एउटा कुरा गर्छन, अर्कोको लागि अर्कै कुरा गर्छन । यो पनि विवेक गुमाएकै कुरा हो ।
०००
उनलाई अर्को विषयमा तान्ने प्रयास गर्दै मैले भूमिका बाँधे- अमेरिका नेपालको सबैभन्दा ठूलो दाता राष्ट्र हो । ७५ वर्षदेखि सहयोग दिएको छ । तर, नेपाल भने यो अवस्थामा पुग्यो । नेपाललाई यस्तो बनाउन अमेरिकाको पनि भूमिका होला नि ?
लामो श्वास तान्दै उनले भने- तिमीले ठीकै भन्यौं । हामीले नेपाललाई दियौं । हाम्रो उद्देश्य त्यसले नेपालीलाई आत्मनिर्भर बन्न सहयोग पुगोस् भन्ने थियो । तर, त्यसो भएन । यसले उल्टै नेपालीलाई परनिर्भर बनायो । यो दुःखको कुरा हो ।
सकारात्मक कुराचाँहि के भयो ?
यस प्रश्नको उत्तरमा उनले भने– हामीले नेपालीलाई अधिकारका बारेमा सचेत बनाउन सकारात्मक भूमिका खेल्यौँ । आज उनीहरू प्रश्न गर्न सक्ने भएका छन् । यो गतिलो उपलब्धी हो । तर, यसमा पनि हामी चुक्यौं, त्यो के भने हामीले उनीहरूलाई कर्तव्यका बारेमा पनि भनेका थियौं । तर, त्यो पाठ भने नेपालीले पढ्नै विर्से ।
अब अमेरिकाले आफ्नो भूमिकाका बारेमा पुनर्विचार गर्छ कि ?
‘गर्न त पर्ने हो । तर, एकैपटक युटर्न गर्न सकिन्न । हामीले आफ्नो भूमिका परिवर्तन गर्नुपर्छ भन्ने ठानेका छौं । त्यसका लागि नीतिगत तहमा काम भैरहेको छ ।’
यसो भनेर उनले यो विषयको विट मारें ।
०००
भेटघाट टुंग्याउनुअघि मैले उनलाई अन्तिम विषयमा प्रवेश गराएँ । त्यो थियो– नेपाली–अमेरिकीको विषय ।
मैले शुरूमै सोधें- अमेरिकाले नेपाली-अमेरिकीलाई चाँहि कसरी हेर्छ ?
नेपाली–अमेरिकीको भूमिकाका बारेमा त्यति धेरै सन्तुष्ट नभए जस्तो गरी उनले भने– नेपालीलाई कागजमा नेपाली–अमेरिकी बनाए पनि भावनाले नै बनाउन भने गाह्रो छ । खासगरी नेपालको गाउँमा जन्मेका र हाइस्कूलसम्मको शिक्षा त्यहीको सरकारी विद्यालयमा पूरा गरेकालाई त नेपाली–अमेरिकी बनाउनै सकिदैन । बरू उल्टै उनीहरूले अमेरिकामा मिनी नेपाल बनाउँछन् ।
नेपालको सहरमा जन्मेर बोर्डिङको शिक्षा लिएकालाई नेपाली–अमेरिकी बनाउन सजिलो रहेको अनुभव उनले यसरी सुनाए–
अंग्रेजी शिक्षा लिएका नेपालीलाई अमेरिकी बनाउन सजिलो छ । उनीहरू अलि कम उमेरमै अमेरिका आएकाले पनि उनीहरूका लागि अमेरिकी जीवन सहज हुन्छ । धेरै समय अमेरिकामा बिताउनुपर्ने र उनीहरूको अर्को पुस्ता पनि अमेरिकी हुने भएकाले अमेरिकी हुन उनीहरू अभिप्रेरित भएका हुन सक्छन् ।
नेपाली–अमेरिकीको जनसंख्या त बढ्दैछ नि भन्ने प्रश्नको उत्तरमा उनले भने- अझै पनि हामीलाई नेपाली-अमेरिकी चाहिएकाले डाइभर्सिटी भिसा कायमै छ ।
विट मार्नुअघि मैले सोधें- नेपाली-अमेरिकी अमेरिकाका लागि वरदान कि अभिषाप ?
यसको श्यामश्वेत उत्तर हुँदैन । खैरो उत्तर भनेको के हो भने नेपालीसँगै उनीहरूका राम्रा कुरा पनि आएका हुन्छन्, नराम्रा कुरा पनि । राम्रो कुरा गर्दा उनीहरू सबैसँग मिलेर बस्ने, अपराधकर्मबाट टाढै रहने, मेहेनती स्वभावका हुन्छन् । नराम्रो कुरा गर्दा उनीहरू इखालु र देखासिखी गर्ने स्वभावका हुन्छन् । यसले गर्दा उनीहरू आफैंबीचको हार्दिकता भने कम देखेको छु । अर्को कुरा अल्पमतको हुँ, खैरो रङको हुँ र आप्रवासी हुँ भन्ने सोच जबर्जस्त हुने भएकाले त्यो लघुताभाषले उनीहरूलाई खुम्चाएको छ ।
०००
अन्तमा उनैलाई सोधें- तिम्रो कुराकानीको शीर्षक के राखौं ?
उनले भने- म त्यस्तो शीर्षक सुझाउने सही पात्र हैन । तर, म सुझाव दिनचाँहि सक्छु, ‘एक अमेरिकी आँखाबाट नेपाल र नेपालीलाई हेर्दा ।’
(प्रस्तुत आलेखमा एआईद्वारा निर्मित शांकेतिक तस्विर प्रयोग गरिएको हो ।)