Logo
Logo

देशभर वर्षा र हिमपातको सम्भावना (यस्तो छ तीन दिनको मौसम)


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २६ मंसिर । आज बिहीबार देशभर चिसो बढेको छ । साथै, पश्चिमी न्यूनचापीय वायुको प्रभावले बिहीबार देशभर बदली रही उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपातसँगै हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
बुधबार साँझ देशका पश्चिमी भूभाग हुँदै प्रवेश गरेको उक्त वायुको प्रभावले उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात तथा पूर्वी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जनाएकी छन् । उनका अनुसार यो प्रणाली अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी भूभागमा समेत हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । उक्त प्रणालीका कारण आगामी तीन दिन देशैभरि बदली भई अधिकतम र न्यूनतम तापक्रममा कमी आई चिसो बढ्ने जनाइएको छ ।
हाल देशका पश्चिमी भूभागलगायत मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहेको बताइएको छ । राति देशका पश्चिमी भूभागका केही स्थानमा र मध्य तथा पूर्वी पहाडका एक वा दुई स्थानमा हल्का वर्षा र पश्चिमी उच्च पहाडीसहित हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानमा हल्का वर्षा र पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा भारी हिमपातका साथै मध्य तथा पूर्वका उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको बताइएको छ ।
शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भेगका धेरैजसो स्थानका साथै मध्य तथा पूर्वका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज बिहीबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव सात डिग्री र अधिकतम तापक्रम १८ दशमलव नौ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया दिनुहोस्