Logo
Logo
समाजवादी मोर्चा

साइनो नजोडिएकालाई अनावश्यक चिन्ता


दीपक अनुरागी

1.6k
Shares


दिनहुँका घटनाको अनावश्यक चासो राखिहाल्नुपर्ने, विज्ञानले अनुसन्धान गरेका विषयमा समेत बढ्ता विज्ञता देखाइहाल्नुपर्ने, अनावश्यक विषयमा तर्क–वितर्क हाम्रा दैनिकी बनेका छन् । 

अझ कतिपयलाई लाग्छ– दिनदिनै घटना भइरहुँन्, तर्क गरिरहुँ, दुनियाँले सुनिरहोस् । यस्तै परिवेशको शिकार भएको छ, सोमबार घोषणा गरिएको– समाजवादी मोर्चा नेपाल ।

चासो हुनेलाई भन्दा चासो नहुनेलाई बढ्दा चिन्ता छ समाजवादी मोर्चाको । जसको साइनो यसमा प्रत्यक्ष जोडिएको छ त्यो मौन छ, तर साइनो नै नभएको व्यक्तिलाई चिन्तै चिन्ताले सताएको छ । 

सन्ध्याकालीन प्रहरमा घोषणा भएको यो मोर्चाको पीरले रातभर नसुत्ने कति छन् कति ! कतिपयले त लेख नै लेखेर आलोचना गर्नसम्म भ्याए । लेखमा कुनै नयाँ विषय देखिँदैन्, मात्र छ त डर, त्रास, भय र चिन्ता ।

हो, अनेकौं प्रश्नहरू छन् । उत्तिकै कौतुहलता उद्घाटित भएका छन् । कतिपय यसको चुरो कुरो पत्ता लगाउन कोसिस गरिरहेका छन् । समाजवादी मोर्चासँग सम्बन्धित व्यक्तिलाई चासो, खुसी, चिन्ता, उत्तेजना देखिनु स्वभाविक विषय हो ।
 
समाजवादी मोर्चाले भुइँमान्छेका प्रश्न सुन्नु नै यसको पहिलो सफलता हो । प्यास मेटाउन पानी नै चाहिन्छ । त्यस्तै सफलता भेटाउन लक्ष्यहरू प्रष्ट हुनुपर्दछ । आज सफलता भेटाउने हो भने हामी भुइँमान्छेका प्रश्नहरू सुनौँ । 

आज समाजवादी मोर्चा नेपालमाथि कतिपयले नकारात्मक ढङ्गले प्रचार गरिरहेका छन् । यसबाट कत्ति पनि विचलित हुनुपर्ने आवश्यकता छैन । मुलुकमा समाजवादी राज्य व्यवस्था स्थापना अनिवार्य सर्त हो ।

आज समस्या बोल्नेहरूमा छैन, बोल्न नसक्नेहरूमा छ । बोल्नेहरू यो वा त्यो नाममा समाजमा प्रतिष्ठा कमाएकै व्यक्ति छन् । ती व्यक्तिलाई गाँस, बास, कपासको कत्ति समस्या छैन् । समायानुकुल शहरमा घर छ । छोराछोरी युरोप, अमेरिका, अष्ट्रेलिया लगायतका विकसित मुलुकमा छन् । चोकचौराहमा गफ चुट्न पर्याप्त समय छ । 

आज यी व्यक्तिहरू नै सबैभन्दा बढी असन्तुष्ट छन्, बेचैनी छन्, जताततै शून्यता देखिरहेका छन् । आशा तिनीहरूको केवल गाली गर्ने आत्मरति हो भने निरासा हरेक विषय र प्रसङ्गमा बाँड्ने गर्छन् । 

समाजवादी मोर्चा नेपालप्रति आम सर्वहारा, श्रमजीवी वर्गको धारणा के छ ? सुन्न पाइएको छैन् । सुन्नुपर्ने यहाँ छ । विभिन्न सञ्चारमाध्यम उनीहरूको प्रश्न सुनाउने माध्यम बन्न सकेका छैन् । 

यही वर्गको प्रतिनिधित्व गर्छौ भन्नेहरू दलाल पुँजीवादको नाइके बनिसके । नाइकेहरूलाई समयमा बुझाउन नसक्नु नै कम्युनिष्ट आन्दोलनलाई गम्भीर धक्का भएको छ । जहाँ बनिबनाउँ कुरामा ललिपप खुवाएर लठ्ठ पार्ने काम भइरहेको छ ।

यही समाज हो, हिजो कम्युनिष्टले ७० वर्ष काटेपछि गोली हानेर मार्छ, जातभात कम्युनिष्टले मान्दैन्, गाई काटेर खान्छन्, धर्म मान्दैनन् आदि इत्यादि अफवाह फैलाइएको थियो । 

यद्यपि भ्रमकाबीच आमसर्वहारा श्रमजीवी जनता आफै सचेत भएको प्रमाण जीवितै छ । ती भ्रम कस्ता बेला छरिएको थियो, जहाँ स्कुल देख्नसम्म नसकेको पुस्ता थियो । हजारौँ पटक भ्रम छर्दा समेत फेल खाएको बलियो प्रमाण त्यही हो । 

आज सरकार, सदन र सडकमा कम्युनिष्ट पार्टीको दबदबा छ । अनेकौं भ्रमबीच नेपाली समाजमा कम्युनिष्ट पार्टी लोकप्रिय भयो । सोही नीति बोक्ने दुईचार जना इमान्दार भए पुग्छ भन्ने बलियो उदाहरण यहाँ पनि छ । 

हिजो पञ्चायतले कम्युनिष्ट भएबापत दिने सजाए र कम्युनिष्ट छोडेबापत दिने पुरस्कार कति हो कति ओजनदार थियो । तरपनि क्रान्तिकारी योद्धाहरू गलत प्रवृत्ति, चिन्तन र राज्यव्यवस्थाविरुद्ध लडिरहे । 

आज समाजवादी मोर्चा नेपालमाथि कतिपयले नकरात्मक ढंगले प्रचार गरिरहेका छन् । यसबाट कत्तिपनि विचलित हुनुपर्ने आवश्यकता छैन् । मुलुकमा समाजवादी राज्य व्यवस्था स्थापना अनिवार्य शर्त हो । 

यो कुनै पार्टी विशेष, मोर्चा विशेषको एजेण्डा होइन् । यो त एक आन्दोलन हो । दलाल पुँजीवादको चपेटामा सिंगो मुलुक परेको बेला यसबाट छुटाएर उन्नत समाजवादी राज्य व्यवस्था स्थापना गर्नु आजको आवश्यकता हो । यही पवित्र भावनाका साथ मोर्चा बनेको पाइन्छ ।

आज समाजवाद र पूँजीवादबारे आम नागरिकलाई प्रष्ट पार्नुपर्ने स्थिति छ । रातारात धनी हुने सपना बाँडिरहेका पुँजीवादीहरूका कारण समाजवाद ‘कुन चरीको नाम’ हो भन्ने तप्का बाँडिरहेका छन् । पुँजीवाद आए धनी बनिन्छ, धन कमाउन सकिन्छ भन्ने बुझाई कतिपयमा पाइन्छ । 

पुँजीसँग जोडिएको पुँजीवाद राज्य व्यवस्था होइन्, धनी हुने व्यवस्था हो कि भन्ने भ्रम पनि छ । आज पुँजीवाद र समाजवादको अन्तर सरल भाषाको बुझाउनुपर्ने अवस्था छ । युवापुस्तालाई यो विषयमा झनै बुझाउनुपर्ने स्थिति छ । 

बुर्जुवा जीवनशैली, उपभोक्तावादी समाजको कारण विचारहरू मुर्छित बनिरहेका छन् । मुर्छित विचारहरूबीच समाजवादी मोर्चा नेपाल आशा जगाउने प्रमुख माध्यम बनेको छ । समाजवाद बुझाउने प्रमुख माध्यम समाजवादी मोर्चा भएको छ । 

आज समाजवाद के रहेछ, किन समाजवाद समाजवाद भन्छन्, यी विषयमा उत्सुकता राख्नेहरूले प्रष्ट बुझ्नेछन्, समाजवादको परिभाषा । साना बुझाईले पनि क्रान्तिका ठूलाठूला सफलता हात पार्न सहयोग गर्छ । 

आज अमुक पार्टीले समाजवादका कुरा गर्नुभन्दा सिंगो मोर्चाबाट यसको कुरा गर्दा थप प्रष्टिन्छ । हिजो गणतन्त्र गणतन्त्र भन्दाभन्दै गणतन्त्र ल्याउन लाखौं सर्वसाधारण सडकमा आएका हुन् । गणतन्त्रका नारा लगाउन थालेको ६ दशक लामो समयपछि मात्र मुलुकमा गणतन्त्र स्थापना भएको हो । आज समाजवादको सुरुवात मोर्चाबाट सुरु भएको छ ।

मुलुकमा जनवादी क्रान्तिको चरण सकिएर दलाल पुँजीवादी समाज बनेको र त्यसलाई फालेर वैज्ञानिक समाजवाद ल्याउनुपर्छ भन्ने विचार भएका शक्तिहरू समाजवादी मोर्चामा सामेल भएका छन् । विचारमा प्रष्ट हुँदा हुँदा आ–आफ्ना गन्तव्य तय गरेका दलहरू एक भएर हिड्ने प्रयासमा छन् । गोरेटाहरू अनेक खनिन्छन् । मान्छे मात्र हिँड्नु र गाडी गुडाएर देखाउनु फरक कुरा हो । 

आज राजनीतिमा एक्लो बनेर हिँड्नु कष्टपूर्ण असम्भव बाटो हो । अहिले सबै मिलेर गोरेटो खन्ने र मोटर गुडाउने लक्ष्य राख्नुपर्छ । यसको सुरुवात समाजवादी शक्तिहरूले गरेका छन् ।

मुलुक साँच्चिकै सङ्कटमा छ । निराशाहरू व्याप्त छ । भ्रमको खेती मौलाउँदो क्रममा छ । भ्रष्टहरूले मुलुक आक्रान्त छ । राजनीतिक दलबीच मनमुटाव, टुटफुटका अनेकन श्रृङ्खलाहरू छन् । गरिबी व्याप्त छ । बेरोजगारी समस्या विकराल छ । महङ्गीले आकाश चुमिसकेको छ । 

राजनीतिमा व्यक्तिवाद हावी छ । अराजकताहरू बढिरहेका छन् । कानुनी राज्यको उपहास हुँदा दण्डहीनता मौलाउँदो क्रममा छ । दलहरू जनताप्रति कटिवद्ध भएनन् भन्ने आम गुनासो छ । 

सरकार आजपनि अस्थिरताको भुमरीमा परेको छ । पार्टी सग्लो छैन् । त्यहाँ विचारको बहस हुन छाड्यो । लोभले भरिपूर्ण मनहरू बढिरहेका छन् । ईर्ष्या, रिस, राग र डाह प्रवृत्तिको रुपमा विकास भइरहेको छ । दल कमजोर हुने तर गुट झाङ्गिने रोग बढेको छ । 

नेतृत्वमाथि विष वमन गरेर पार्टी सुधार्छु भन्नेहरू छ्यापछ्याप्ती छन् । राष्ट्रियता सङ्कटमा छ । अर्थतन्त्र कमजोर बनिरहेको छ । राष्ट्रिय पुँजीपति वर्गहरू कमजोर बनिरहेका छन् । आज उद्योग खोल्ने टाट पल्टिने अवस्था छ । शिक्षा, स्वास्थ्य, बैंक तथा वित्तिय संस्थामा लगानी गर्नेहरू मालामाल हुने स्थिति छ । चुनाव विचारले होइन्, धनले जित्न थालेको छ । राजनीतिकर्मी राजनीतिबाट पलायन हुने गलत प्रवृत्ति, चिन्तन, सोच र विचार भएका व्यक्तिहरू राजनीतिमा सफल हुने स्थिति छ । 

यस्ता अनेकन विकृतिका बीच समाजवादी मोर्चा नेपालको जन्म राम्रो परिवेशमा भएको होइन् । कुनै खराब परिवेशमा जन्मनुको दोष कसरी हुन्छ ? जन्मेपछि हुर्कंदै गर्दासम्म उसको दोष हुँदैन । जब हुर्केर तन्नेरी हुन्छ तब उसले गर्ने क्रियाकलापले तत् व्यक्ति, विषय र परिवेशको मूल्याङ्कन हुनुपर्छ । समाजवादी मोर्चा नेपाल जन्मिएको छ । जन्मिँदा जन्मिँदै त्यसलाई सक्दो सराप गर्नु के राम्रो हो ? पक्कै होइन् । बाँकी मोर्चा तन्नेरी भएपछि उसले गर्ने कामबारे टिप्पणी गरौँला ।

प्रतिक्रिया दिनुहोस्