काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय कलैयाका तत्कालीन नायव सुब्बा मदनप्रसाद गुप्ताको चार वटा भ्रष्टाचार मुद्दामा फैसला भएको छ । जसमा महालेखा परीक्षकको कार्यालयका कर्मचारी समेत दोषी ठहर भएका छन् ।
गुप्तासमेतका कर्मचारीहरूले तीन करोडभन्दा बढी रकम भ्रष्टाचार गरेको दाबीसहित विभिन्न मितिमा पाँचवटा मुद्दा दायर भएकोमा विशेष अदालतले सोमबार एउटा मुद्दामा सफाइ र बाँकी मुद्दामा कसुर कायम तथा आंशिक ठहरको फैसला गरेको छ । विशेषका सदस्यद्वय यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले यस्तो फैसला गरेको हो ।
विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार गुप्तासमेत पाँचजनाउपर दायर मुद्दामा आंशिक ठहर हुने फैसला भएको हो । अनियमितता गरी भ्रष्टाचार गरेको भन्दै १ जेठ ०७६ मा पहिलोपटक दायर मुद्दामा उनीसमेत तीनजना दोषी ठहर भएका छन् । मालपोतका लेखापाल युगलकिशोर ठाकुर र नायव सुब्बा शत्रुधन राउतलाई विशेषले सफाइ दिएको छ । उनीहरूले भ्रष्टाचारजन्य कार्यमा मदनलाई सहयोग गरेको निष्कर्ष अख्तियारको थियो ।
विशेषले नासु गुप्तालाई नौ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाएको छ । यसै मुद्दामा नीरज गुप्ता र सुनील पटेललाई समेत मतियार कायम गर्दै विशेषले बराबर सजाय सुनाएको प्रवक्ता योगीले बताए । नीरज र पटेललाई जनही साढे चार–चार महिना कैद तथा साढे १२–१२ हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाएको हो ।
आर्थिक वर्ष ०७४÷७५ मा रजिस्ट्रेसन फाँट नम्बर ३ मा कार्यरत मदनले आफू कार्यरत अवधिमा बुझेका राजस्व रसिद, पारित गरेका सक्कलै लिखत तथा सोसँग सम्बन्धित अन्य कागजात, लिखत दर्ता किताब, राजस्व रसिदसमेतका विभिन्न कागजात सम्बन्धित कार्यालयमा नबुझाएको भेटिएको थियो । ती कागज उनले आफ्ना सवारीचालक सुनीलकुमार पटेलको डेरामा लुकाएर राखेको अवस्थामा बरामद भएको थियो । ‘महŒवपूर्ण कागजातहरू आफूसमेतको मिलेमतो र प्रत्यक्ष संलग्नतामा सरुवा भएर अन्यत्र कार्यालयमा जाँदासमेत कानूनबमोजिम बरबुझारथ नगरी बदनियतपूर्वक आफ्नो फाँटमा भएका अनियमितता लुकाउने मनसायले आफूसँगै लाने र नष्ट गर्ने मनसाय राखी अनधिकृत रूपमा लुकाउने कार्य गरेको देखिएको’ भन्दै अख्तियारले उनीसहित पाँचैजनालाई प्रतिवादी कायम गरी मुद्दा चलाएको थियो ।
सोही मितिमा मदनसहित ६ जनाउपर राजस्व रकम हिनामिना गरेको अर्को अभियोग पनि दायर भएको थियो । विशेषमा दायर उक्त मुद्दामा पनि अभियोग दाबी ठहर भएको छ । प्रवक्ता योगीका अनुसार कमल खतिवडा, प्रवीण गौतम र अजयकुमार सापकोटासमेत लाई भ्रष्टाचार मुद्दामा सजाय सुनाइएको छ । तीनैजनालाई जनही तीन–तीन महिना कैद र १०–१० हजार रुपैयाँ जरिवाना भराउने फैसलामा उल्लेख छ । खतिवडा र गौतम कोष तथा लेखा नियन्त्रक कार्यालय बाराका लेखापाल हुन् भने सापकोटा महालेखापरीक्षकको कार्यालय बबरमहलका निर्देशक हुन् । उनीहरूले मालपोत कार्यालय कलैयाको आन्तरिक लेखापरीक्षण र अन्तिम लेखापरीक्षण गर्दा कार्यालयमा रहनुपर्ने सक्कली कागजात नै लुकाएको तथ्यलाई बेवास्ता गरी भए गरेका तथ्यहरू लोप गरी लेखापरीक्षणका आधारभूत सिद्धान्तविपरीत बदनियतपूर्वक लेखापरीक्षण प्रतिवेदन तयार गरेको आरोप अख्तियारले लगाएको थियो ।
‘तीनजनाको हकमा तीन वर्षभन्दा कम सजाय भएकाले सजाय सुनाइएको हो । बाँकी तीनजनाका लागि भने १३ जेठसम्म सजाय निर्धारणका लागि प्रतिवेदन पेस गर्ने र १४ जेठमा पेसी तोकेर सजाय निर्धारण गरिनेछ,’ विशेष अदालतका प्रवक्ता योगीले भने । यो मुद्दाका अन्य तीन प्रतिवादीलाई तीन वर्षभन्दा बढी सजाय हुने भएको छ । जसमा फाँटवाला नासु गुप्ताका साथै लेखापाल युगलकिशोर ठाकुर र मालपोत कार्यालय बाराका तत्कालीन कार्यालय प्रमुख (मालपोत अधिकृत) राजराजेश्वर त्रिवेदी छन् ।
गुप्ताले २० कात्तिक ०७४ देखि २८ साउन ०७५ सम्ममा सक्कली नगदी रसिद प्रयोग गरी तीन करोड ३७ लाख ९८ हजार रुपैयाँभन्दा बढी रकम संकलन गरेको भेटिएको थियो । साथै, नक्कली रसिदसमेत उनले प्रयोग गर्ने गरेको अख्तियारको अनुसन्धानले देखाएको थियो । अख्तियारका अनुसार गुप्ताले नक्कली रसिदबाट एक करोड ३५ लाख ७० हजार रुपैयाँभन्दा बढी रकम संकलन गरेका थिए । जसमध्ये दुई करोड ५० लाख ८६ हजारभन्दा बढी रकम हिनामिना गरेको भेटिएको थियो ।
३ जेठ ०७६ मा अख्तियारले दर्ता गरेको राजस्व रकम हिनामिना गरी भ्रष्टाचार गरेको मुद्दामा सफाइ दिने आदेश भएको छ । तत्कालीन कार्यालय प्रमुख नासु मदनप्रसाद गुप्ता, लेखापाल युगलकिशोर ठाकुर र नायब सुब्बा शत्रुधन राउतले भ्रष्टाचार गरेको भनी दायर अभियोगदाबी रहेकोमा तीनैजनालाई सफाइ दिइएको हो ।