Logo
Logo
सम्झना

ध्यान दाइ भन्थे- चट्टानमा पनि फूल फुल्छ


31.4k
Shares

अस्पतालको बेडबाट पनि उहाँले सेयर गरिरहनुभएको आत्मविश्वासपूर्ण अभिव्यक्तिहरू पढ्न पाउँदा लाग्थ्यो, उहाँ चाडै मृत्यूलाई जितेर फर्कनुहुनेछ । तर असमयमै मृत्यूसँग पराजित हुन पुग्नु भयो उहाँ । हामीमा उहाँप्रति श्रद्धाले शिर झुकाएर दुई थोपा आँसु चढाउनुको विकल्प रहेन ।

जीवनको अन्तिम सत्य स्वीकार गर्दै भौतिक रूपमा यो संसारमा अब उहाँ रहनुभएन । तर उहाँ हामीबाट उहाँले आत्मिक दूरी बढाउन सक्नुहुन्न । त्यसैले उहाँ अझ बलियो गरी हाम्रो मनमा स्थापित हुन पुग्नुभएको छ ।

उहाँ अर्थात् ध्यानबहादुर राई भौतिक रूपमा विलिन हुनु भएको पनि चार वर्ष भइसकेछ ।

उहाँको असामयिक निधन नेपाली राजनीतिका सामान्य क्षति होइन । आफ्नो जीवनको उर्वर समय नेपाली जनताको मुक्तिका लागि समर्पित गरेर उहाँ जानुभयो । हुन त एकदिन यो धर्ती छाडेर हामी सबैले जानैपर्छ । तर एक कार्यकाल नगर प्रमुखका रूपमा धरान नगरको बागडोर कुशलतापूर्वक सम्हाल्नु हुने ध्यान र यसरी यति चाडै जानुहुँदैथ्यो ।

उहाँको आवश्यकता खट्किरहने छ ।

उहाँको जनप्रतिनिधित्वको औचित्य समाप्त भइसकेको थिएन । फेरि पनि उहाँ जनप्रतिनिधिका रूपमा धरान क्षेत्रमा छाउन आवश्यक नेता हुनुहुन्थ्यो ।
उहाँ राजनीतिक व्यक्तिव त हुनुहुन्थ्यो नै, टेक्नोक्रेसी उहाँको अर्को महत्वपूर्ण ब्यक्तित्व थियो । त्यहीँ भएर उहाँले धरान नगरको विकासको कोरियोग्राफीको राम्रो कल्पना गर्नु भएको थियो । आफ्नो कार्यकालमा धरानबासीमाझ सपनाका अनेकौँ लहर ल्याइदिनु भएको थियो ।

१७ अक्टोबर २०१९ मा एउटा व्यक्तिगत काम विशेषका कारण म नयाँदिल्लीमा थिएँ । त्यहाँ जानुअघि सोचेको थिएँ, समय मिलेछ भने त्यतै ध्यान सरसँग अवश्यै भेट्नेछु । प्रत्यक्ष भेटेरै स्वास्थ्यलाभको कामना गर्नेछु । सोचेको अर्को कुरा के हो भने स्वास्थ्य लाभको कामनासँगै एउटा प्रस्ताव पनि गर्नेछु, ‘तपाईंले आत्मसंस्मरणहरू लेख्न पर्यो । तपाईँका अनुभवका संगालो हामीले पढ्न पाउनु पर्याे ।’

हुन त यसअघि पनि भ्वाइस मेलबाटै उहाँलाई यो आग्रह गरेको थिएँ । उहाँले ‘प्रयास गर्छु’ भन्नुभएको थियो । आशा गरेको थिएँ, उहाँबाट एउटा महत्वपूर्ण ज्ञानको भण्डार हामीलाई प्राप्त हुनेछ ।

उहाँजस्ता व्यक्तित्वहरूको आत्मसंस्मरण मात्रै पढ्न पाइयो भने नेपाली राजनीतिको तत्कालीन अनेकौं छोपिएका पाटाहरू जान्ने बुझ्ने मौका पाइने थियो । यदि उहाँले लेखेर राख्नु भएको छ भने त्यो चाडै छापिएर आए असाध्यै राम्रो हुनेछ ।

हुन त राजनीतिकर्मी ध्यान सर खासमा लेखक चाहिँ हुनुहुन्नथ्यो । ओभरसियर पढेर प्राविधिक ज्ञानको ज्योती छर्दै उहाँ प्राध्यापन गरिरहनुभएको थियो । पञ्चायतकालमा टंक कार्कीको नेतृत्वको अखिलको खम्बामध्येका एक हुनुहुन्थ्यो । उहाँलाई त्यसबेला छात्रवृत्तिमा थप अध्ययनका लागि जापान जाने अवसर प्राप्त भए पनि पार्टी नेतृत्वले त्यो अवसर लिन दिएन ।

उहाँले धरानको नेतृत्व सम्हाल्दा पालिकाको विकासका अनेकौं खाका कोर्नु भएको थियो । माथि नै भनियो, उहाँ एउटा टेक्नोक्र्याट हुनुहुन्थ्यो ।

जब धरानको नगरप्रमुखबाट उहाँ विदा हुनुभयो, त्यसपछि धरानका स्थानीय अखबारहरूमा केही समय जमेरै लेख्नुभएको पढ्न पाइन्थ्यो । त्यसबेला उहाँले लेख्नुभएको फुटकर रचनाहरूको सङ्ग्रह मात्र पनि पढ्न पाइयो भने पनि त्यसले ठूलो लाभ दिनेछ ।

म नयाँ दिल्लीमा रहँदा गरिएको संवाद छोटो थियो, उहाँ भास्कुलर सर्जनसँग परामर्श गर्न राजीव गान्धीबाट मेदान्तका लागि गुडगाउँ पुग्नुभएको रहेछ । भन्नुभयो, ‘अहिले म डाक्टरकोमा छिरेँ, भरै बोल्छु है !’

म काठमाडौं फर्केपछि चार मिनेट ४२ सकेन्डको संवादमा मैले फेरि दोहर्याएँ, ‘आत्मसंस्मरण चाहिँ लेख्नुपर्छ है दाजु !’

अक्टोबर २० मा भएको हामी दुईबीचको यो संवाद अन्तिम रहृयो । अब हामीबीच दोहोरो संवाद असम्भव छ । तर ध्यान सरप्रतिको एकोहोरो सम्वोधन त मेरो मष्तिष्कले काम गरेसम्म जारी रहनेछ ।

०००

धनकुटामा रहेर मैले पत्रकारितालाई पेशा बनाएर हिँड्न वर्ष दिन पुग्नै के लागेको थियो, शत्रु लागिहाल्यो । काठमाडौंबाट प्रकाशित हुने एक राष्ट्रिय दैनिकको ज्यालादारी समाचारदाताबाट मेरो पत्रकारिताको सुरूआतीको श्रमजीवनबाट सम्भवतः सदाका लागि विदा दिने प्रपञ्चमा मेरा केही अशुभचिन्तकहरूले यो कार्य गर्न खोजे । भए नभएको वृत्तान्तले सम्पादकको कान भरिदिएछन् ।

तर त्यो राष्ट्रिय दैनिकको ज्यालादारी जीवनबाट मुक्त हुनु परे पनि मेरा निमित्त पत्रकारितामै अरू वैकल्पिक मार्गहरू प्रशस्त थिए । त्यो राष्ट्रिय दैनिकबाट प्राप्त भएको मुक्तिले नै मलाई यहाँनेर उभ्याएको छ, आज । ती मेरा अशुभचिन्तकको म आफू भने शुभचिन्तक भएरै यो जुनी कटाउन पाऊँ ।

जागिर गएपछि सबैभन्दा पहिले सोचेँ, अब काठमाडौं जान्छु र जमेर पत्रकारितामा रमाउँछु । तर न टेक्ने अकेटो छ, न समाउने हाँगो । यस्तै भइरहेको थियो, काठमाडौं मेरो लागि ।

यो २०५१ सालको कुरा हो । एउटा राष्ट्रिय साप्ताहिकमा ज्यालादारी समाचारदाता त म थिएँ नै । तर त्यो पनि केही समयका लागि बन्द गरिएको थियो ।

उमेरमा केही वर्ष जेठा भए पनि सम्वन्धले मेरो आत्मीय मित्र जीवन भट्टराईले के सम्झेर हो, एक दिन भन्नुभयो, ‘अब धरान आउनुस्, यहाँ बसेर एउटा पत्रिका निकाल्नुपर्छ । यसको नेतृत्व तपाईंले गर्नुहोस, लगानीकर्ता खोजौंला ।’

जीवनजीले लगानीकर्ता खोज्ने क्रममा त्यतिबेला निर्माण व्यवसाय सम्हाल्दै एमालेको राजनीति गरिरहनुभएका नेता तारा सुब्बासँग मेरो भेट गराउनुभयो । उहाँका दाजु घनेन्द्र त्यतिबेला एउटा बोर्डिङ स्कूलको सञ्चालक हुनुहुन्थ्यो । उहाँको घरमा एकपटक पत्रिका चलाउने विषयमा छलफल भयो । घनेन्द्र दाइले एक सय रूपैयाँको नोट दिदै भन्नुभयो, ‘भाई, एउटा रजिस्टर बुक किन्नू, पछि हाम्रो बैठकको माइन्यूट त्यसमा लेख्नुपर्छ ।’

मैले सय रूपैयाँ बुझेर माइन्यूट बुक पनि किनेँ, तर फेरि बैठक बसेन, पत्रिका निस्केन । माइन्यूट बूकका पानाहरू फेरि पल्टाउनु परेर, एकै अक्षर नलेखी थोत्रो भयो, त्यो रजिस्टर बुक ।

यसबारेमा प्रस्तावित लगानीकर्ता तारा सुब्बाले फेरि केही दोहोर्याएर भन्नु भएन । मैले पनि कुरा कोट्याइनँ । यसरी तत्कालै धरानमा मेरो सम्पादनमा एउटा पत्रिका निकाल्ने सपना विपनामा परिणत हुनसकेन । तारा सुब्बा धरान नगर प्रमुख हुँदै बितिजानुभयो ।

काठमाडौंमा विभिन्न खालको गोता खाएर फर्केपछि जीवनजीको सल्लाहअनुसार धरानमा रहेर एउटा पत्रिकाको सम्पादन गर्ने सपना लिएको मान्छे म । त्यतिखेरै धरानमा केही असल मानिसहरूलाई भित्री दिलदेखि चिन्ने अवसर पाएँ, तीमध्येका एक हुनुहुन्छ, ध्यानबहादुर राई ।

ध्यान सरसँग म जति आत्मीय थिएँ, तर उहाँसँग मेरो कुनै भौतिक लेनदेन भएन । एकै दिन पनि सँगै खानपिन गरिएन । उहाँले एउटा पत्रकारको नाताले मलाई दिनुभएको समाचारहरू र मप्रतिको उहाँकोे न्यानो सद्भाव नै मेरो लागि यथेष्ट थियो । त्यसैले मैले ध्यान सर मेरो दिलभित्रको एउटा शिरोमणि हुनुहुन्छ ।

धरानका नगरप्रमुखहरूमध्ये तारा सुब्बासँग मेरो सम्बन्ध न नजिकको भयो, न टाढाको । मनोजकुमार मेन्याङ्बोसँग मेरो आत्मीयता औसत किसिमको छ । तर ध्यान सरसँगको सम्बन्ध विशेष किसिमले अविस्मरणीय छन् ।

०००

सबैभन्दा पहिले मैले धरानमा बसोबास सुरू गर्दा जीवनजीले मलाई सर्दु खोलाको बगरतिर डुलाउन लैजानुभएको थियो । वडा नम्बर १७ को एउटा बगरमा डोजर चलिरहेको थियो । डोजरले बगर सम्याउँदै थियो । जीवनजीले बडो उत्साहका साथ एकै सासमा भन्नुभयो, ‘यहाँ वृक्षारोपण गर्ने रे, यसको नाम सप्तरङ्गी पार्क राख्ने रे ! यो ठाउँलाई पर्यटकीय स्थल बनाउने रे !’

यस्तो बगरमा के रूखविरूवा हुर्केलान् ? मेरो मनले प्रश्न गर्यो । पत्याउन मुस्किल पर्यो मलाई । जीवनजीले त्यस बगरमाथि भइरहेको परियोजनालाई ओँठ लेब्य्राउँदै सुनेँ मात्र ।

तर धरानमा रहँदा बस्दा मेरो मनमा उब्जिएको त्यो बेलाको प्रश्नले उत्तर पायो– चट्टानमा पनि फूल फुल्दोरहेछ । त्यो बगर अहिले हराभरा छ । एउटा पर्यटकीय स्थलका रूपमा स्थापित हुन पुगेको छ ।

एक दिन ध्यान सर नगरपालिकाको आफ्नो कार्यकक्षमा रहेर आफ्ना साथीहरूसँग भन्दै हुनुहुन्थ्यो– चट्टानमा पनि फूल फुलाउन सकिनेछ ।

उहाँको मुखबाट सुनेर मैले जीवनमा यो वाक्यलाई मन्त्र बनाएको पनि तीन दशक हुन लागेछ । यी हरफहरू लेखिरहेको बेला म युरोपको सबैभन्दा पश्चिम र दक्षिणमा रहेको एक मूलुकमा छु । यहीँ बसेर नेपालको इतिहास अध्ययन र लेखनमा सक्रियता देखाउने प्रयास गरिरहेको छु । ध्यान सर, हो रहेछ । इच्छाशक्ति भयो भने चट्टानमा फूल फुलाउन सकिदो रहेछ ।

०००

सकेसम्म धरानमा रहेर पत्रकारिता गर्दा यहाँकोे विकासलाई टेवा पुगोस् भनेर म विकासमूलक फिचर सम्प्रेषणमा अलि जोड दिन्थेँ । त्यसमा ध्यान सर मेरो नियमित समाचार स्रोत हुनुहुन्थ्यो ।

धरान नगर यस्तो ठाउँ, जहाँ मैले पत्रपत्रिका खोज्न कतै धाउन परेन । अर्को एक राष्ट्रिय दैनिक मलाई खोज्दै आयो । एक साप्ताहिकका लागि काम गरिदिनपर्याे भन्दै फोटो पत्रकार सन्तोष पोखरेल (हालः अमेरिका)जी छाताचोकमा मलाई खोज्दै आउनुभयो । फोटो पत्रकारिताका लागि त्यतिखेर जुर्मराइरहनुभएका मित्र यात्रा थुलुङलाई सन्तोषजीसँग सम्पर्क गराइदिएँ । यहीँ संगतका कारण यात्राजीले फोटो पत्रकारिताको यात्रा सुरू गर्नुभयो ।

२०५४ साल ध्यान सरको जनप्रतिनिधित्वको अन्तिम वर्ष रह्यो । पार्टीबाट उहाँले त्यो सालको टिकट पाउनुभएन । मैले केही विज्ञापन धरान नगरपालिकाबाट लिएको थिएँ, त्यसको भुक्तानी भइरहेको थिएन । पत्रिकाबाट ताकेता आइरहेको थियो । ध्यान सरको सहजिकरणबाट त्यो विज्ञापनको भुक्तानी बडो मुस्किलले बुझेँ । कर्मचारी न परे, टिकट नपाएर काम चलाऊ बनेका नगरप्रमुखको तोकआदेशलाई कहाँ शिघ्रातिशिघ्र कार्यान्वयन गर्दारहेछन् र ?

कठै, मनसुनले पानी पर्ने र भनसुनले काम हुने मेरो देश !

ओहो, पत्रकारिता एउटा सोझासिधा श्रमजिवीका लागि कति कठीन ? अनेकौ तरहले समाचार सङ्कलन गर्याे, प्रकाशित हुने हो होइन थाहा पत्तो छैन । छापिएका समाचारको पारिश्रमिक बुझ्न पनि आफ्नै खर्चबाट काठमाडौं धाउनुपर्ने । काठमाडौं पुग्दा पनि झुलाएर हैरान !

मैले काम गरेको त्यस दैनिक अखबारले त मेरो सात आठ महिनाको पारिश्रमिक नै दिएन । त्यतिखेर यो दैनिकको व्यवस्थापनमा अधिवक्ता कुमार इङ्नाम हुनुहुन्थ्यो । सबैको भाग लगाएर उहाँले एउटा चेक दिनुभएछ । चेक बुझ्ने सहकर्मी चोट्टा निस्के, उनी चेक बुझेर सम्पर्कविहीन बने । म भने हेरेको हेर्यै ।

मैले पत्रकारिता जीवनमा यो पटकको काठमाडौं यात्राबाट बिना पारिश्रमिक रित्तो हात फर्कनु परेको थियो । तर काठमाडौं जाँदै गर्दा मेरो झोलामा मैले बोकेको एउटा महत्वपूर्ण सामग्री पनि थियो । म काठमाडौं जाँदै गरेको थाहा पाएर ध्यान सरले मलाई एउटा काम अह«ाउनुभएको थियो । उहाँले नै कतै पुर्याइदिन आग्रह गरेअनुसार त्यो सामग्री मैले बोकेको थिएँ ।

धरान फर्कदा पारिश्रमिकविहीन मेरो हात रित्तो अवश्यै थियो, तर मन रित्तो थिएन । कारण थियो, ध्यान सरले अर्थशास्त्रमा स्नातकोत्तर तहका लागि लेख्नुभएको शोधग्रन्थ । त्यो त्रिभुवन विश्वविद्यालयमा बुझाइदिने व्यक्ति म थिएँ । यसअर्थमा काठमाडौं पुगेर कम्तिमा एउटा राम्रो काम त गरेर धरान फर्किएँ भन्ने लाग्यो । चित्त बुझाएँ ।

आज म सकेसम्म अनुसन्धानमूलक लेख लेखनमा आफूलाई अलि दत्तचित्त गराउँन खोज्छु । परदेशमै बसेर पनि मैले इतिहासका तीन वटा पुस्तक प्रकाशित गर्न भ्याइसकेँ । ध्यान सरको थेसिसले पनि सम्भवतः मलाई यस्तो प्रेरणा दिएको हुँदो हो ।

०००

पुख्र्यौली थलो ताप्लेजुङको हाङपाङ रहेको, पछि धनकुटामा जन्म भएको मलाई धरान आई पत्रकारिता गरेका । धरानमा रहँदा मलाई केही कथित स्वनामधन्यहरूले ‘आप्रवासी’को विल्ला भिराएका थिए । तिनीहरूलाई मैले एक दिन लेखेरै प्रश्न गरेको थिएँ– के धरान तिम्रो बाउको विर्ता हो ?

जे घटना हुन्छ, त्यहीँ समाचार हो । केही नकारात्मक समाचार मेरो बाइलाइनबाट आएको बेला मलाई ‘धरानविरोधी पत्रकार’ भन्नेहरू पनि पाइयो । ती पनि पत्रकार नै थिए । अचम्म छ, मलाई यस्तो बिल्ला भिराउनेको सुनाम कमै सुन्न पाएको छु । उनीहरूमध्ये केही त बदनाम छन् ।

तर यस्ता लाञ्छनाहरूले कतै पनि नछोएको मलाई त्यहीँ धरानकै भूमिमा जसकुमार राई, डम्बरकृष्ण श्रेष्ठ, जनकऋषि राई, प्रदीप मेन्याङ्वो, देवराज राईजस्ता साथी भाईहरूसँगको गरिएको सङ्गत अहिले पनि प्यारो लाग्छ । रविन गिरी, ओमआस्था राई, भैरव आङ्ला र सीता मादेम्बाहरू पनि हाम्रै सङ्गतका उत्पादन हुन् ।

धरानका यी गौरवपूर्ण सञ्चारकर्मीहरू निर्माणका लागि मैले केही पसिना चुहाएँ, अरू त उनीहरूकै मेहनत र सिर्जना हुन् । यसमा ध्यान सरबाट सिकेको सकारात्मक सोचको योगदानलाई यो प्रसङ्गमा सम्झना गरिरहेको छु ।

बरू साढे चार वर्षको बसाईलाई बीट मारेर धरान छाड्दा एउटा कविता लेखेको थिएँ, धरानलाई सम्वोधन गर्दै,

मलाई बारम्बार तिम्रो नुन खाएको सम्झना आउँछ
मलाई सम्झना आउँछ, तिम्रो पानी पिएको
बुढा सुब्बाको कसम धरान,
म अलिकति तिम्रो माया बोकेर हिडेको छु
म अलिकति तिम्रो छायाँ बोकेर हिडेको छु ।

०००

ध्यान सर नगर प्रमुख हुनुहुन्थ्यो । म कसैकोमा धाइरहने प्रवृत्तिको मानिस होइन । तर एक दिन ध्यान सरले बाटोमा भेट्दा भन्नुभयो, ‘भोलीनै धनकुटा जानुपर्ने भयो । तपाईंलाई लिएर जाने विचारमा थिएँ, ठ्याक्कै भेट भयो ।’

हामी धनकुटा गयौँ । सन्दर्भ रहेछ, धनकुटास्थित क्षेत्रीय सङ्ग्रहालयको अवलोकन गर्ने । तीन जना थियौं, धनकुटा पुख्र्यौली घर भई धरान बसोबास गर्दै आउनुभएका पुराना वामपन्थी नेता इन्द्रबहादुर थापा, ध्यान सर र म । कुरा बुझ्दै जाँदा ध्यान सरको धरानमा एउटा सङ्ग्रहालयको स्थापना गर्ने परिकल्पना रहेछ ।

सङ्ग्रहालयका तत्कालीन प्रमुख बलप्रसाद राईले धनकुटामा ठूलो सद्भावका साथ हाम्रो स्वागत गर्नुभयो ।

बाटामा जाँदै गर्दा इन्द्रबहादुर थापाले मेरोबारेमा जिज्ञासा राख्नुभयो । मैले मेरो बुवाको नाम लिदै म फलानाको छोरा हो भनेँ । उहाँले मेरो बुवालाई राम्रोसँग चिन्नुुहुँदो रहेछ ।

जब म दाइ वसन्त थापा (लेखक, फिल्म अभियन्ता)लाई भेट्छु अनि सगौरव भन्ने गर्छु, ‘दाई, म त तपाईंको तीन पुस्ताको साथी हुँ नि !’

मैले इन्द्रबहादुर थापा र उहाँको छोरो वसन्त थापासँग सङ्गत गर्ने मौका पाएँ । संयोग पनि कस्तो भने वसन्त दाईकी छोरी भूमिकासँग आमसञ्चार तथा पत्रकारिताको स्नातकोत्तर तहमा सँगै पढ्ने अवसर पनि मिल्यो । यो अवसरको गौरवगाथा गाउने अवसर दिनुहुने त ध्यान सर नै हो ।

जे होस, धरानमा सङ्ग्रहालय स्थापना गर्ने ध्यान सरको सपना थियो, त्यो कहाँ पुग्यो ? मलाई थाहा छैन, सोधीखोजी पनि गरिएन ।

मलाई आफ्नोतर्फबाट धरान नगरलाई साहित्यले पनि अलिकति सजाउने मन भयो । त्यसका लागि मनमा एउटा जुक्ति स्थापित भयो । त्यो जुक्ति थियो, धरानमाथि लेखिएका कविताहरूको सङ्कलन गर्ने र त्यसलाई प्रकाशमा ल्याउने । यहीँ उद्देश्यका साथ म धमाधम धरानमाथि लेखिएका कविताहरू सङ्कलन गर्दै थिएँ ।

कविताहरू त सङ्कलन गरिएला, तर त्यो छापिदिने कसले ? यो प्रस्ताव लिएर म नगरप्रमुख ध्यान सरसमक्ष एक दिन प्रस्तुत भएँ । ध्यान सरले घुमाउरो भाषामा यसका लागि बजेट नभएको बताउनुभयो । आफै एउटा ज्यालादारी समाचारदाताका रूपमा काम गरिरहेको म आफैले त्यो पुस्तक प्रकाशन र वितरण गर्नु सम्भव थिएन ।

ध्यान सरको कार्यकक्षबाट त्यो दिन रित्तो हात फर्केँ । कविता सङ्ग्रहको नाम जुराएको थिएँ– कविहरूको आँखामा धरान ।

ध्यान सरसँग यस्तो कुरा गरिरहेको बेला, सोही कार्यकक्षमा एक जना धरानका स्थानीय पनि बसिरहेका थिए । हामीबीचको संवाद उनले नसुन्ने कुरै भएन । उनी पुलकित देखिन्थे । पछि त उनले पो त्यहीँ शीर्षकमा कविता संग्रह छापेर भब्य विमोचन गराए । त्यो विमोचन समारोहमा म एक सञ्चारकर्मीको रूपमा आमन्त्रित थिएँ ।

आफूले सिर्जना गरेको जुक्ति कसैले चोरेकोमा म त्यति दुःखी भने भइनँ, किनकि जसले भए पनि, जसरी भए पनि कविता सङ्ग्रह छापिएरै छाड्यो, धरानको नाममा ।

०००

आज यस्ता सम्झनाहरू आँसुको मसीले लेख्नु परिरहेको छ ।

ध्यान सर असमयमै अस्त हुनुभयो । मैले जान्दा र बुझ्दा उहाँ तत्कालीन वामपन्थी पार्टीको अन्तरसङ्घर्षमा पेलिएरै रहनुभयो । आफूभन्दा जुनियरलाई नेता मानेर बसेको पनि देखियो । तर उहाँले अन्तिम समयसम्म पनि रोगसँग लड्दै गर्दा पनि निराशाको बीउ कतै पनि छर्नुभएन । आफ्नो सरीरलाई स्वास्थ्य परीक्षणको प्रयोगशाला बनाउँदा पनि उहाँ आशावादको सन्देश छर्न चुक्नुभएन ।

म आफू नयाँ दिल्लीमा फर्केपछि पत्रकार दाई आनन्द राईको मैतिदेवीस्थित निवासमा हङकङबाट आएका पत्रकार भाई डम्बरकृष्ण श्रेष्ठको तर्फबाट साँझको खानपिन कार्यक्रम आयोजित थियो ।

त्यहाँ रविन गिरी (हिमाल मासिकका पूर्व सम्पादक), सिद्धराज राई (राष्ट्रिय समाचार समितिका महाप्रवन्धक) र सन्त गाहा मगर (हिमालखबरका सम्पादक)जस्ता अहिलेका मूलधारका सञ्चारमाध्यमका विभागीय प्रमुखको हैसियतका साथीहरूको पनि सहभागिता थियो । त्यतिखेरै रविन भाइले भने, ‘ध्यान सर अलि जटील अवस्थामा पुग्नुभयो जस्तो छ । उहाँको स्टाटसले यसै भन्छ ।’

हामी केही क्षण घोरियौं । तर ध्यान सरको स्वास्थ्यमा पक्कै सुधार होला, यो पनि कामना ग¥यौं । तर उहाँ अन्ततः मृत्यूसँग हार्न विवस हुनुभयो ।

ध्यान सर, तपाईं यो संसारमा भौतिक रूपमा नभए पनि तपाईंलाई हामी सम्झिरहनेछौं । हामी यो मन्त्र पनि सम्झन्छौं, चट्टानमा पनि फूल फुल्छ ।

प्रतिक्रिया दिनुहोस्