Logo
Logo

रुसी सेनाले भन्यो- विद्रोह रोक्न वाग्नर लडाकुहरूको सुरक्षा ग्यारेन्टी गछौंँ


4k
Shares

मस्को । रुसी सेनाले मस्कोको सैन्य नेतृत्वविरुद्ध विद्रोह गर्न रोक्न वाग्नर भाडाका सैनिकहरूको ‘सुरक्षाको ग्यारेन्टी’ गर्ने बताएको छ ।

‘हामी पीएमसी वाग्नरको आक्रमण टोलीका लडाकुहरूलाई अपील गर्दैछौं । तपाईंलाई (वाग्नर प्रमुखको येभगेनी) प्रिगोजिनको आपराधिक उद्यम र सशस्त्र विद्रोहमा भाग लिएकोमा धोका दिइयो’ सेनाले विज्ञप्तिमा उल्लेख गरेको छ । सेनाले लडाकुहरूलाई ‘स्थायी तैनाथीका ठाउँहरू’मा फर्कन मद्दत माग्न पनि आह्वान गरेको छ ।

‘हामी तपाईंलाई कारण देखाउन र रूसको रक्षा मन्त्रालय वा कानून प्रवर्तनका प्रतिनिधिहरूसँग सम्पर्कमा रहन आग्रह गर्दछौं । हामी सबैको लागि सुरक्षाको ग्यारेन्टी गछौं’ विज्ञप्तिमा भनिएको छ ।

वागनर समूहले विद्रोह गर्दै रुसको दक्षिणी शहर रोस्तोव-अन-डनलाई नियन्त्रणमा लिएपछि सेनाको यस्तो विज्ञप्ति आएको हो । वागनरका प्रमुख येवगेनी प्रिगोजिनले आफ्ना सैनिकहरुले रुसी शहरको सैन्य क्षेत्रलाई नियन्त्रणमा लिएको दाबी गरेका छन् ।

बीसीसीका अनुसार वागनरले रोस्तोव–अन–डन शहरमा रहेको रुसी सेनाको दक्षिणी मुख्यालय नियन्त्रणमा लिएको छ । उनले रुसका रक्षामन्त्री र सेना प्रमुखले आफूलाई नभेटे आफ्ना सैनिकहरु मस्कोतर्फ अघि बढ्ने समेत बताएका छन् । ‘हामी सेना प्रमुख र शोइगू (रक्षामन्त्री)सँग भेट्न चाहन्छौं । जबसम्म उनी आउँदैनन्, हामी यही रहन्छौं । रोस्तोव शहरलाई घेराबन्दी गर्छौं र फेरि मस्कोतर्फ अघि बढ्छौं’ उनले भनेका छन् ।

बीबीसीका अनुसार यसअघि नै भाडाका सैनिक उपलब्ध गराउने वाग्नर समूहका प्रमुखले त्यहाँको सैन्य नेतृत्व हटाउन ‘जुनसुकै हदमा जाने’ चेतावनी दिएका थिए । त्यसअघि क्रेमलिनले उनलाई ‘सशस्त्र विद्रोह’को आरोप लगाएको थियो ।

रुसी राष्ट्रपति पुटिनले भने वाग्नर समूहको नाम नतोकी आपराधिक कार्यमा मानिसहरूलाई उक्साउने काम भएको बताएका छन् । उनले एक टेलिभिजनमार्फत् गरेको सम्बोधनमा रुसी समाजलाई विभाजित गर्नेहरूमाथि ‘अनिवार्य सजाय’ हुने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्