सिन्धुपाल्चोक, २९ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘नेपाल भ्रमण वर्ष’ पछिका वर्ष पर्यटनकै वर्ष हुने बताएका छन् ।
नमोबुद्ध नगरपालिका–४ स्थित नमोबुद्ध तिमाल समाजद्वारा नेपाल भ्रमण वर्षका अवसरमा शनिबार आयोजित हाफ म्याराथुन प्रतियोगिताको समापन समारोह गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालको पर्यटन पृथ्वी रहेसम्म चलिरहने बताए ।
मन्त्री बाँस्कोटाले भने, ‘नेपालमा पर्यटन पृथ्वी रहेसम्म चलिरहन्छ, हामीसँग अथाह प्राकृतिक स्रोत र सौन्दर्य छ ।’ पर्यटनको विषेशताको रूपमा हिमाल, महाभारत खण्ड, उपत्यका तथा भौगोलिक हिसाबले शेर्पा, तामाङ, बाहुन–क्षेत्री, चौधरी, धिमाल, मेचे, कोचे, अनेकौँ संस्कृति, जाति पहिरन रहेकाले आफ्ना पहिचानलाई पर्यटनको माध्यमले उत्पादनसँग जोड्नुपर्ने मन्त्री बाँस्कोटाले जोड दिए । उनले भने, ‘हामी हिमाल र ऐतिहासिक धरोहरले विश्वमा परिचित त छौँ नै, तर हामी हाम्रा सम्पूर्ण पर्यटकीय क्षेत्रलाई प्रवद्र्धन गर्नेतर्फ लाग्नेछौँ ।’ मन्त्री बाँस्कोटाले नेपालको सयमध्ये काभ्रेपलाञ्चोकमा १९ किलोमिटर महाभारतमा ट्रेकिङ टे«लको बोलपत्र आह्वान भइसकेको जानकारी दिँदै नाला–धुलिखल–नमोबुद्ध–कोटतिमाल–तङसोमकुण्डसम्म बुद्ध परिपथ निर्माण गर्ने योजना बनाइएको वताए ।
मन्त्री बाँस्कोटाले नमोबुद्ध नपाको दुई र पाँचखाल नपाको तीन वडास्थित १२ हजार रोपनी जमीनमा मदन भण्डारी विश्वविद्यालय निर्माण गरिने, अरनिको राजमार्ग स्तरोन्नति हुने तथा मध्यपहाडी लोकमार्ग यसवर्ष ३९५ किलोमिटर पक्की हुने जानकारी दिए ।