काठमाडौं । नर्सरीमा अनियमितता गरेको आरोपमा वडाअध्यक्षदेखि कृषि कार्यालयका प्रमुखसम्मलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । हुमको अदानचुली गाउँपालिका वडा नं. २ मा कर्णाली प्रदेश सरकारको अनुदानबाट हाइटेक नर्सरी स्थापना तथा संचालन गर्दा अनियमितता आयोगले मुद्दा दायर गरेको हो ।
कृषि विकास कार्यालय, हुम्लाका कार्यालय प्रमुख चन्द्र भुषण झा र तत्कालीन सव–इन्जिनियर भिम बहादुर रोकायले आर्थिक वर्ष २०७६ /०७७ मा कृषि विकास कार्यालय, हुम्लामार्फत व्यवसायिक फलफूल नर्सरी प्रवर्द्धन कार्यक्रम अन्तर्गत दिइएको अनुदानबाट फलफूल प्रशोधन तथा भण्डार केन्द्र, अदानचुली, मकै, हुम्लाले निर्माण गरेको नर्सरी तथा टनेल निर्माण कार्यमा फिल्डमा गरिएको वास्तविक परिमाणभन्दा बढी काम गरेको देखाई गलत नापी किताब, कार्यसम्पन्न प्रतिवेदन र अन्तिम बिल प्रमाणित गरी सोहीबमोजिम झुट्टा बिल भरपाई बनाई फिल्डमा गर्दै नगरिएको कामको समेत भुक्तानी दिई चार लाख ३८ हजार ५ सय ५७ अनियमितता गरेका हुन् ।
अदानचुली गाउँपालिका वडा नं. २ का तत्कालीन वडाध्यक्ष दल बहादुर बुढाले फलफूल प्रशोधन तथा भण्डार केन्द्र, अदानचुली, मकै, हुम्लाले कृषि विकास कार्यालयमार्फत प्राप्त अनुदानबाट नर्सरी तथा टनेल निर्माण गर्दा निर्माण गरिएका संरचनाहरु इस्टिमेट अनुसार नगरिएको प्राविधिक इस्टिमेट अनुसार कार्य सम्पन्न भैसकेको हुँदा उक्त योजनाको भुक्तानी गरिदिनहुन भनी जिल्ला कृषि विकास कार्यालय, हुम्लालाई गलत सिफारिस गरेका थिए । सोही कारण उनलाई पनि आयोगले प्रतिवादी बनाएको छ ।