Logo
Logo

मन्त्री किरातीको प्रश्न- निगमलाई ४८ अर्ब ऋणमा पार्ने धमिरा को हो ?


2.2k
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमलाई ४८ अर्ब ऋणमा पार्ने को हो ? भन्दै प्रश्न गरेका छन् ।

सोमबार प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री किरातीले यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोज्नुपर्ने समेत बताए ।

‘निगमको ४८ अर्ब ऋण पार्ने धमिरा को हो ? देशले खोज्नु पर्यो ? यो त अख्तियारले खोज्नुपर्‍यो’, मन्त्री किरातीले भने, ‘कतिपय मुद्दाहरू अख्तियारमा छ । मलाई लाग्छ, अख्तियारले उपयुक्त समयमा ‘दूधको दूध, पानीको पानी’ देखाएर छड्ला, छुट्टाएर छाड्ला । किनभने, यो बुद्धको देश हो । यहाँ न्याय मर्दैन ।’

यस्तै, मन्त्री किरातीले आर्थिक वर्ष २०८०/८१ को बजेटले सांसदलाई खुशी बनाउन नसिकएको बताए । उनले बजेट असन्तुलित हुन गएको बताउदै माफी समेत मागे ।

मन्त्री किरातीले बजेटको सिलिङ कम भएका कारण सांसदहरुले दिएका धेरै योजनाहरु समेट्न नसकेको बताए । उनले सांसदहरुलाई खुसी बनाउन नसकेको भन्दै मन्त्रीले बाटो छलेर हिँड्नुपर्ने स्थिति रहेको बताए ।

सकभर देशभर सञ्चालन हुनेगरी बढीभन्दा बढी साना-साना बजेटका कार्यक्रमहरु समावेश गरिएको उनको भनाई छ । त्यस्तै प्रादेशिक सन्तुलनलाई ध्यान दिँदै प्रत्येक प्रदेशका महत्त्वपूर्ण सांस्कृतिक, धार्मिक एवं पर्यटन क्षेत्रलाई लक्षित गरी पर्यटन पूर्वाधार विकास गर्ने गरी बजेट व्यवस्था गरिएको उनले उल्लेख गरे ।

‘स्वाभाविक रुपमा बजेट असन्तुलन हुन गएको छ । त्यसको निम्ति यो सम्मानित सदनमा म क्षमाप्रार्थि छु । माननीय सांसदहरुको मागलाई हामीले लिपिबद्ध गरेर सम्बन्धित मन्त्रालय पठाएका थियौँ’, उनले भने, ‘त्यहाँ पनि बजेटको सीमाले योजनाहरु पर्न सकेन भनेर हामीले बुझ्दा राम्रो हुन्छ होला । बजेको सीमा करिब ४५ प्रतिशतले हाम्रो मन्त्रालयमा घटेर आयो ।’

उनले पशुपतिमा रहेको जलहरीको विषयमा अख्तियारले छानबिन गरिएको बताए । उनले विमानस्थल थप्ने भन्दा पनि विमानस्थलको गुणस्तरमा ध्यान दिनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्