बेइजिङ, २९ मंसिर (एजेन्सी) । चीनले यसअघि आइतबारदेखि लागू हुनेगरी प्रस्ताव गरेको अमेरिकी वस्तुमा लगाइने करबृद्धि योजना स्थगित गरेको छ । चीन–अमेरिकाबीच जारी व्यापार युद्धमा महत्वपूर्ण प्रगति भएको घोषणा गरेसँगै चीनले यस्तो कदम चालेको हो ।
चीनले अमेरिकाका केही सामानको आयातमा १० प्रतिशत र ५ प्रतिशतको करबृद्धि गर्ने योजना हाललाई स्थगित गरेको चिनियाँ अर्थ मन्त्रालयले आइतबार जनाएको छ । ‘अमेरिकामा निर्मित अटो र स्पेयर पार्ट्समा थप करवृद्धि स्थगित गरिएको छ’ मन्त्रालयले जनाएको छ ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो चरणको व्यापार सम्झौताको एक हिस्साका रूपमा चिनियाँ उत्पादनमा नयाँ करवृद्धि प्रस्ताव रद्द गरेका थिए । चीनको वाणिज्य मन्त्रालयले यही गएको शुक्रबार अमेरिकासँग एक सम्झौतामा सहमति गरेको थियो । त्यसमा करबृद्धिलाई स्थगन गर्ने तथा बौद्धिक सम्पत्ति अधिकारको संरक्षण समावेश गरिने उल्लेख गरिएको छ ।
विश्वका दुई ठूला अर्थतन्त्रबीच विगत २१ महिनादेखिको गतिरोध अन्त्यका लागि यो सहमतिलाई ठूलो सफलताका रुपमा हेरिएको छ । तर, उनीहरुले उक्त सम्झौतामा हस्ताक्षर गर्न भने बाँकी नै छ ।
विद्यमान करका दरको अतिरिक्त राष्ट्रपति ट्रम्पले यसअघि करिब १६० अर्ब डलर बराबरका चिनियाँ सामानमा १५ प्रतिशत अतिरिक्त कर लगाउने धम्की दिएका थिए । अमेरिकी घोषणाको प्रत्युत्तरमा चीनले पनि अमेरिकी सवारी साधनमा २५ प्रतिशत र सवारी साधनका पार्टपूर्जामा ५ प्रतिशत करवृद्धि गर्ने धम्की दिएको थियो ।