Logo
Logo

मन्त्री सिके गुप्तालाई राजीनामाको दबाब


11.8k
Shares

भैरहवा । लुम्बिनी प्रदेश सरकारमा जनमत पार्टीबाट मन्त्री बनेका सामाजिक विकासमन्त्री चन्द्रकेश (सीके) गुप्तालाई मन्त्रीबाट राजीनामा दिन दबाब परेको छ । आफ्नो क्षेत्रलाई बेवास्ता गरेको र कार्यकर्ताको मनोभावनाविपरीत काम गरेको भन्दै आफ्नै पार्टीका नेता तथा कार्यकर्ताबाट गुप्ता आलोचित छन् । कार्यकर्ताबाट चर्को आलोचना भइरहेपछि उनलाई मन्त्रीबाट राजीनामा गर्न पार्टीभित्रै दबाब परेको छ ।

रुपन्देही क्षेत्र नम्बर ५ (२) बाट प्रत्यक्ष निर्वाचित उनी यसअघि एमालेका लीला गिरी मुख्यमन्त्री बन्दा सामाजिक विकासमन्त्री बनेका थिए । गिरी नेतृत्वको सरकार ढलेर अहिले कांग्रेसका डिल्लीबहादुर चौधरी मुख्यमन्त्री बन्दा पनि उनी सामाजिक विकासमन्त्री नै बनेका छन् ।

पहिलोपटक निर्वाचित हुँदा नै मन्त्री बन्ने अवसर पाएका गुप्ताले कार्यकर्ता र पार्टी नीतिविपरीत काम गरेपछि आलोचना खेपिरहेका हुन् । आलोचना बढ्दै जाँदा उनको मन्त्री पद नै धरापमा परेको छ । पार्टीले मन्त्रीबाट फिर्ता बोलाउने तयारी गरेको स्रोतले जनायो ।

लुम्बिनी प्रदेशको रातो किताबमा प्रकाशित आर्थिक वर्ष ०८०–८१ का लागि बजेट शीर्षकहरूमा प्रदेश तथा आफ्नै गृह जिल्ला र आफ्नै क्षेत्रका नेता तथा कार्यकर्ताले माग गरेका कुनै पनि योजना नपरेपछि पार्टीका नेता तथा कार्यकर्ताहरू आक्रोसित बनेका छन् । ‘आखिर उनी कसका लागि काम गर्छन् ? मन्त्री गुप्ता असक्षम भए’, उनकै पार्टीका जिल्ला नेता रामअवध गुप्ताले सामाजिक सञ्जालमा आफ्नो असन्तुष्टि पोख्दै लेखेका छन् । लगत्तै मन्त्री गुप्ताले पनि सामाजिक संजालमार्फत स्पस्टीकरण दिँदै आरोपको खण्डन गरेका छन् ।

गुप्ताले नेतृत्व गरेको मन्त्रालयबाट रुपन्देहीका लागि छुट्याइएको बजेटमा भने लोसपाबाट निर्वाचित आन्तरिक मामिलामन्त्री सन्तोषकुमार पाण्डेयको क्षेत्रमा र कांग्रेसबाट निर्वाचित पूर्वसामाजिक विकासमन्त्री बसिउद्दीन खानको क्षेत्रमा भने माग गरिएका धेरै योजनाहरू परेका छन् ।

यसअघि जेठ १० गते पार्टीद्वारा ‘निर्वाचित जनप्रतिनिधिलाई तपाईंको सवाल’ जस्तो सार्वजनिक सुनुवाइ कार्यक्रममा समेत अधिकांश जिल्ला नेताले उनीमाथि असन्तुष्टि राखेको पार्टीका एक नेताले बताए । उनी पहिले एमालेका युवा कार्यकर्ता हुँदा जनमत पार्टी प्रवेश गरी लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयर पदमा टिकट पाएर उम्मेदवारी दिएपछि चर्चामा आएका थिए ।

त्यसपछि प्रदेशसभा सदस्यका लागिसमेत उम्मेदवारी दिन जिद्दी गरेपछि उनलाई टिकट दिइएको थियो । उनलाई पार्टीले स्थापित नेताको रुपमा पहिचान दिएर निर्वाचित भइसक्दा पनि उनी पार्टीका नेता तथा कार्यकर्तालाई साथमा लिएर हिंड्न ‘लाज’ लागेको जस्तो व्यवहार गरिराखेको पार्टीकै नेताहरूको आरोप छ ।

पार्टीको निर्देशन विपरीत हालसम्म पनि स्वकीय सचिवमा समेत आफ्नै भाइपर्ने पवन गुप्तालाई नियुक्ति गरेका छन् । उनले आफ्नै पार्टीका नेता तथा कार्यकर्ता भन्दाबढी एमाले, कांग्रेस, रास्वपा र लोसपाका नेताहरू सँग मात्र बढी हिमचिम गरेकोे र उनीहरूको मात्र काम गरिराखेको भन्दै पार्टी नेतृत्वसमेत उनीबाट असन्तुष्ट छ ।

लुम्बिनी सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा सामाजिक विकास मन्त्रालयले १ अर्ब ३० करोड पाएको छ । मन्त्रालयले शिक्षा, खेलकुद, पूर्वाधार विकास, समाजिक क्षेत्र लगायतमा छुट्याएको बजेटमा मन्त्री गुप्ताको क्षेत्रमा न्युन रकम छुट्याएको आरोप छ ।

‘मन्त्रीले आफूले बजेट विनियोजन गरेका हुन् कि अरूका पार्टीका नेता तथा कार्यकर्ता ल्याएर ? बुझ्नै नसकिने छ’, जनमतका एक कार्यकर्ताले भने, ‘बजेट हेर्दा मन्त्रीले कुनै पहल नगरेको जस्तो देखियो, यस्ता मन्त्रीलाई पार्टीले तुरुन्त राजीनामा गराउनुपर्छ ।’

मन्त्री गुप्ताले मुख्यमन्त्रीको निर्देशनअनुसार काम गर्नुपर्ने भएकाले सोहीअनुसार बजेट बनाइएको बताए । ‘बजेट संसदमा पेस भएको छ । प्रदेश र मन्त्रालयको बजेट थोरै भएकाले एकै ढिक्का राखेको छौं । बजेट कहाँ–कहाँ छुट्याउने भन्ने एकीन अझै भएको छैन । संसदबाट बजेट पास भएपछि सबै ठाउँमा समानुपातिक बजेट विनियोजन गर्छौं’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्