काठमाडौं । चलचित्र ‘द सेक्रेटस् अफ राधा’ले नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट चलचित्रतर्फको अवार्ड जितेको छ ।
अमेरिकाको वासिङ्टन डिसी मेरिल्यान्डस्थित एएफआई सिल्भर थियटरमा आयोजित नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौं संस्करणमा सुवर्ण थापा निर्देशित ‘द सेक्रेटस् अफ राधा’ ले उत्कृष्ट चलचित्र अवार्ड हात पारेको हो ।
आइतबार सम्पन्न महोत्सवमा सुजित बिडारीले निर्देशन गरेको चलचित्र ‘ऐन झ्लायको पुतली’ र पाकिस्तानी निर्देशक साइम सदिकले निर्देशन गरेको जोयलेन्डले मानार्थ पुरस्कार प्राप्त गरे । उत्कृष्ट छोटो कथानक चलचित्र पुरस्कार सन्तोष दाहालको ‘द मिराज’ले प्राप्त गरेको छ भने सूर्य शाही निर्देशित ‘ह्वील्स अन द बस’ले मानार्थ पुरस्कार प्राप्त गरेको छ ।
महोत्सवमा उत्कृष्ट फिचर वृत्तचित्र पुरस्कार सनी लियुद्वारा निर्देशत ‘पियोना म्यान’ र अमेरिकी निर्देशक न्यान्सी स्पेस्डेनले निर्देशन को ‘पासाङ : द स्याडो अफ एभरेष्ट’ प्राप्त गरेका छन् । सचिन घिमिरेले निर्देशन गरेको वृत्तचित्र ‘इन्टू द मिस्ट’ले मानार्थ पुरस्कार प्राप्त गरेको छ ।
वृत्तचित्र विधातर्फ उत्कृष्ट वृत्तचित्रको पुरस्कार श्रीष कुँवरद्वारा निर्देशित ‘मेरो बुबा’ले प्राप्त गरेको छ भने भारतका मिधुनजी बाबुको ‘डु डक्स माइग्रेन’ले मानार्थ पुरस्कार पाएको छ ।
महोत्सवले प्रदान गर्ने इम्पावरमेन्ट अवार्ड अस्कर अवार्डमा नोमिनेशन भएको चलचित्र ‘कमिङ आउट वीद द हेल्प अफ टाइम मेसिन’ले प्राप्त गरेको छ । त्यस्तै ‘ह्वेर द विन्डो डाइ’ले फ्रिडम अफ एक्सप्रेसन अवार्ड प्राप्त गरेको छ । विभिन्न ११ देशका ३७ वटा चलचित्रमध्येबाट ती चलचित्र पुरस्कारका लागि छनोट गरिएको थियो ।