Logo
Logo

घुमुवालाई कारबाही, हाकिमलाई उन्मुक्ति ?


47.7k
Shares

काठमाडौं । प्रहरी प्रधान कार्यालयले गत साता मधेस प्रदेशका आठ जिल्लामा लामो समयदेखि कार्यरत २९ घुमुवालाई पहाडी तथा हिमाली जिल्लामा पठाएको छ । सीमा क्षेत्रमा तस्करीको लाइन मिलाउँदै आएको छानबिनमा देखिएपछि कारबाही गरेर हटाइएको हो ।

घुमुवालाई हटाएपनि उनीहरूका हाकिमलाई भने कुनै कारबाही गरिएको छैन । यसले प्रहरीमा तल्लो तहका कर्मचारीलाई मात्र कारबाही हुन्छ भन्ने फेरि पनि प्रष्ट पारेको छ ।

एआइजी मिरा चौधरीको छानबिन प्रतिवेदनका आधारमा प्रहरी प्रधान कार्यालयले पर्साका वरिष्ठ सई विनोद सिंहलाई कालिकोट तथा बाराका सागर शमशेर जबरालाई रामेछाप पठाइएको छ । उनीहरू करोडपति सइका रुपमा चिनिन्छन् ।

प्रहरी महानिरीक्षकलाई समेत प्रभावमा पारेर उनीहरू लामो समयदेखि बारा तथा पर्सामा बसेर अवैध धन्दामा संलग्न रहँदै आएका थिए । उनीहरूलाई हटाइएपछि परिचालन गर्ने पर्साका एसपी कोमल शाहको हकमा भने कुनै कारबाही हुन सकेको छैन ।

धनुषाका नागेन्द्र राउत, सप्तरीका सुरेश कुमार यादव, सर्लाहीका रामरेख राय यादब, सिरहाका चन्दन कुमार यादव, सप्तरीका चन्द्रेश्वर यादव, बाराका जितेन्द्र महतो, मोरङका राजमंगल सिंह, रौतहटका निरज कुमार सिंह तथा अजित कुमार सिंह लगायतलाई पहाडी जिल्लाहरूमा खटाइएको छ ।

हाकिमहरूकै निर्देशनमा सीमा नाकामा सेटिङ मिलाएर उनीहरूले तस्करी गराउँदै आएका थिए । उनीहरूलाई पटक पटक हटाउन खोज्दा पनि यसअघिका प्रहरी असफल भएका थिए ।

धेरै हाकिमका त प्रिय नै थिए । एआइजी चौधरी र एआइजी कुँवरको आँटले उनीहरूलाई तत्काललाई हटाइएको छ । तर, तराईका जिल्लामा अहिले अधिकांश एसपीको ध्यान कमाउनेमा केन्द्रित छ । उनीहरूको हकमा भने छानबिन हुन सकेको छैन ।

मधेस प्रदेशका डिआजी जनकराज भट्टराई आफैैं पनि घुमुवा परिचालन गरी पैसा असुल्न व्यस्त छन् । उनको आचरणबारे उजुरी आएपछि गृह मन्त्रालयले दुई महिनाअघि हटाउन चाहेको थियो । तर, कांग्रेस नेताहरूबाट दबाब दिएर आफ्नो पदस्थापन त्यही गराएका थिए । मधेसमा अहिले उनकै कारण बेथिति कम नभएको प्रहरी अधिकारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्