काठमाडौं । नेपाल प्रहरीको कर्णाली प्रदेश तालिम केन्द्र नेपालगन्जका प्रमुख एसएसपी सुशील सिंह राठौरले तालिम केन्द्रमा ‘कमाउ धन्दा’ चलाएका छन् ।
तालिमरत प्रहरीलाई घरायसी काममा लगाउनेदेखि क्यान्टिन सञ्चालकसँगको मिलेमतोमा प्रशिक्षार्थीलाई महँगो मूल्यमा सामान खरिद गराउने कार्य गर्दै राठौरले कमाउ धन्दा चलाएका हुन् ।
एसएसपी राठौरले तालिम केन्द्रमा रहेका प्रहरीलाई व्यक्तिगत घर–संरचना निर्माणमा खटाएका छन् । स्रोतका अनुसार प्रहरी वरिष्ठ हवलदार रुस्कलबहादुर शाहीको नेतृत्वमा राँझा एयरपोर्ट नजिक व्यक्तिगत संरचना निर्माणमा केही प्रहरी खटाएका छन् ।
तालिम केन्द्रमा काजमा रहेकाहरूलाई काज फिर्ता नगर्ने सर्तमा व्यक्तिगत घर–संरचना निर्माण कार्यमा लगाएको आरोप लाग्ने गरेको छ । जसको नेतृत्व र समन्वय काजमै रहेका प्रहरी वरिष्ठ हवलदार शाहीले गरिरहेका छन् ।
त्यसै गरी, प्रहरीमा कार्यालय सहयोगी जागिर लगाइदिने आश्वासन दिएर राठौरले वरिष्ठ हवलदार शाहीको नेतृत्वमा महिनौँदेखि बर्दियाका दुई युवालाई सोही घर बनाउने कार्यमा लगाएका छन् । यसरी, निजी घर बनाउने कार्यमा एसएसपी राठौरको निर्देशनमा प्रहरी हवलदार मायाराम चौधरी लगायत ५–६ जना प्रहरी कर्मचारी खटिएका छन् ।
एसएसपी राठौरले यसरी व्यक्तिगत काममा खटाएका प्रहरी कर्मचारीलाई बिदा स्वीकृत गराएर पनि उनीहरूलाई बिदामा बसेको समयको भत्ता उपलब्ध गराउँदै आएको आरोप लाग्ने गरेको छ ।
क्यान्टिनवालसँग मिलेर कमाउ धन्दा
एसएसपी राठौरले तालिम केन्द्रमा सञ्चालित क्यान्टिन सञ्चालकसँग मिलेर प्रशिक्षार्थीलाई महँगो मूल्यमा सामान खरिद गर्न बाध्य बनाएर कमाउ धन्दा चलाउँदै आएका छन् ।
तालिम केन्द्रको हाताभित्र सञ्चालित क्यान्टिनमा बजारभन्दा सस्तो मूल्यमा सामान उपलब्ध गराउनुपर्ने प्रहरीको नीति रहेता पनि कर्णाली प्रदेश तालिम केन्द्रका प्रशिक्षार्थी महँगो मूल्यमा सामान किन्न बाध्य छन् ।
यसअघि टो–सुजको मूलय ९ सय रुपैयाँ निर्धारण गरिएको थियो । तर, एसएसपी राठौरले क्यान्टिन सञ्चालकसँगको मिलेमतोमा मूल बढाएर १२ सय पुर्याएका छन् । यसरी, टो–सुजको मूल्य बढाएरै एसएसपी राठौरले लाखौँ कमाएका छन् ।
एक प्रशिक्षार्थीका अनुसार बजारमा १९ सय पर्ने पावर बैंक क्यान्टिन सञ्चालकले ४३ सय रुपैयाँमा बिक्री गरिरहेका छन् । यसै विषयमा ९–१३९ का प्रशिक्षार्थीले उजुरी गरेका थिए । उजुरीपछि क्यान्टिन सञ्चालकलाई कारबाही गर्नुको साटो उजुरीकर्तालाई नै सजाय र अनावश्यक हैरानी दिने काम भएको छ ।
क्यान्टिन सञ्चालकसँग एसएसपीको मिलेमतोको कारण मेसको गुणस्तर समेत दिनदिनै खस्कँदै गएको छ । मिलेमतोमा सस्तो र गुणास्तरहिन खाद्यान्न खुवाउने गरिएको प्रशिक्षार्थीले आरोप लगाएका छन् ।
ती प्रशिक्षार्थीले भनेका छन्– ‘मेसको गुणस्तर दिनदिनै खस्कँदै गएको छ । सस्तो र गुणस्तरहीन खाद्यान्न खानु परेकाले धेरैको स्वास्थ्यमा समेत समस्या उत्पन्न हुन थालेको छ ।’
एसएसपी राठौरले अनुमति लिएर बाहिर निस्कने प्रशिक्षार्थीलाई केन्द्रमा व्यक्तिगत प्रयोजनका लागि सामान्य उपभोग्य सामाग्री ल्याउन समेत बन्देज लगाएका छन् ।
बाहिरबाट सामान ल्याउँदा सेटिङमा रहेका क्यान्टिन सञ्चालकको व्यापार नहुने भएकाले राठौरले बाहिरबाट सामान्य उपभोग्य वस्तु समेत ल्याउन रोक लगाएका हुन् । डे–आउटमा निस्कने प्रशिक्षार्थी फर्कदा गेटमा चेक गर्ने र सामान ल्याएको पाइएमा खोस्ने काम हुँदै आएको छ ।
एसएसपी राठौरले आधारभूत प्रहरी जवानको स्केलको सामान वितरण समेत लामो समयदेखि रोकेका छन् । ढुवानी बजेट निकासी नभएको भन्दै ल्याएर राखेको सामान समेत वितरण भएको छैन । यसरी स्केलको सामान वितरण नगरिँदा क्यान्टिन सञ्चालकलाई फाइदा पुग्ने गरेको छ ।
एसएसपी राठौंर अनियमिततामा संलग्न मात्रै छैनन् । अनियमिततामा संलग्नलाई संरक्षण गर्ने कार्यमा समेत संलग्न छन् ।
तालिम केन्द्रको प्रयोजनको लागि खरिद गरिएको सयौ बोरा सिमेन्ट हराएको थियो । यो कार्यमा तालिम प्रहरी वरिष्ठ हवलदार रुस्कलबहादुर शाहीको मिलेमतोमा तत्कालीन कमाण्डेण्ट चक्रबहादुर सिंह र प्रहरी नायव उपरिक्षक वीरेन्द्र वीर विश्वकर्माले काम गरेका थिए । यस विषयमा समेत एसएसपी राठौरले केही कदम चालेका छैनन् ।
विभागीय नीति अनुसार ग्यासमा खाना पकाउनुपर्ने हुन्छ । तर, एसएसपी राठौरले दाउरामा खाना पकाउन निर्देशन दिएका छन् । मेसको लागत घटाउने बहानामा मेस व्यवस्थापन अधिकृतमार्फत प्रशिक्षार्थीलाई ठग्ने र तिनै प्रशिक्षार्थीलाई आगोमा पकाएका काला भाँडा माझ्न लगाउने गरेको प्रशिक्षार्थीले आरोप लगाएका छन् ।