- शम्भु श्रेष्ठ
मंसिर महिनामा मात्रै देशभरि पन्ध्र सय सोह्र सवारी दुर्घटना भयो । जसमा दुई सय तीस जनाले ज्यान गुमाए । चौध सय छब्बीस जना गम्भीर घाइते भए । देशका लागि यो गम्भीर घटना हो । जसमध्ये सबैभन्दा दर्दनाक घटना कोहलपुरमा घटेको छ । त्रिभुवन नमूना माध्यमिक विद्यालयमा कक्षा सातमा अध्ययरत प्रकृति चन्द आफ्नै बुबाको स्कुटर चढेर स्कुल गेटनजिकै ओर्लिइन् । त्यति नै बेला कोहलपुरबाट नेपालगन्जतर्फ जाँदै गरेको एउटा ट्रकले प्रकृतिलाई ठक्कर दियो । उनी रगताम्य भएर सडकमा लडिन् । ट्रकको ठक्करबाट घाइते भएकी प्रकृतिलाई ब्याक गरेर ट्रकले लता¥यो । उपचारका लागि काठमाडौँ ल्याइएकी प्रकृतिले दुवै खुट्टा गुमाउनुप¥यो ।
सायद, स्कुल नजिक सडकमा सवारीको गति सीमित गर्नुपर्छ भन्ने चेतना ट्रक ड्राइभरलाई भइदिएको भए प्रकृतिजस्ता बालबालिकाहरुले यस्तो नियति भोग्नुपर्ने थिएन । तर, ट्रक ड्राइभर कस्ता परे भन्दा बालिकालाई ठक्कर दिइसकेपछि उनमा मानवीय चेतना हरायो । र, उनले ‘ब्याक’ गरेर प्रकृतिको हत्या गर्ने मनसाय राखे । जसका कारण प्रकृति यति ठूलो दुर्घटनाबाट त बाँचिन् । तर, उनले जीवनभरका लागि दुवै खुट्टा गुमाउनुप¥यो । सवारी दुर्घटनामा प्रकृतिको ‘केस’ मात्र होइन । यस्ता अनगिन्ती ‘केस’ छन्, जहाँ घाइतेलाई सवारी साधन ‘ब्याक’ गरेर मार्ने चलन छ ।
अधिकांश सडक दुर्घटना सवारी चालकको लापरवाहीले हुने गरेको छ । सवारी चालक अलि गम्भीर हुने हो भने यस्ता दुर्घटना आफैँ नियन्त्रण हुन्छ । कोहलपुरका सडकमा मात्र होइन, राजधानी काठमाडौँमै पनि सार्वजनिक सवारी चालकहरुको आतंक छ । ‘जेब्राक्रस’मा समेत बटुवा मारिएका घटना छन् । यसको नियन्त्रण गर्न ट्राफिक प्रहरी असफल जस्तै बनेको छ । राजधानीका सडकमा सवारी साधन कुन गतिमा हाँक्ने ? बढी हाँक्ने सवारी साधनलाई कस्तो कारवाही गर्ने भन्ने कानून भए पनि कार्यान्वयन नहुँदा सर्वसाधारणले अकालमा ज्यान गुमाउनुपरेको छ । भक्तपुरदेखि कोटेश्वरसम्मको बाटो फराकिलो त भएको छ, तर, टिपर आतंकले त्यस बाटोमा धेरैले ज्यान गुमाउनुपरेको छ । बालुवा, गिट्टी बोकेर आउने टिपरको गति असीमित हुँदा यस्तो दुर्घटना हुने गरेको हो ।
पछिल्लो पटक कालिञ्चोक दर्शन गरेर फर्किएको बस सिन्धुपाल्चोकको छ किलोमा दुर्घटना हुनुको प्रमुख कारण पनि ड्राइभर नै हुन् । बाटोको अवस्था ठिक छैन भन्ने थाहा पाउँदापाउँदै पनि जबर्जस्ती सवारी चलाउन खोज्दा पन्ध्र जनाले घटनास्थलमा ज्यान गुमाउनुप¥यो । बसको अवस्था ठिक नभएको र ब्रेकले काम गर्न छाडेको कुरा यात्रुहरुले बारम्बार भन्दा पनि चालकले नटेर्नुको कारण त्यो दुर्घटना भएको हो भन्ने पुष्टि हुन्छ । घुम्ती बाटो छ भन्ने कुराको चेत नहुँदा एउटा चालकका कारण त्यत्रो दुर्घटना भयो । चालक भागे ।
संक्षेपमा भन्नुपर्दा, सार्वजनिक सवारी साधनका चालकहरुमा सवारीको चेतना ‘शून्य’ छ । यस्ता सवारी साधनमा अधिकांश राम्रो काम नपाएको, गाउँमा दुःख पाएको र विदेश जान नपाउनेहरुले जेनतेन सवारी लाइसेन्स लिएकाहरु छन् । त्यसैले सरकारले ह्यावी इक्युपमेन्ट’, टिपर, ट्रक र सार्वजनिक सवारी साधनमा कस्ता चालक हुनुपर्छ भनेर मापदण्ड बनाउनैपर्छ । मापदण्ड भए पनि त्यसको पुनःअनुगमन गर्नैपर्छ । नभए, यो समस्या विकराल बन्दै जान्छ र, को कति बेला सवारी दुर्घटनामा पर्छ भन्ने थाहा हुँदैन ।