Logo
Logo

गीतसंगीत टिकाउभन्दा बिकाउतिर ढल्कियो- मेनुका राई, गायिका


- दृष्टि न्युज/संवाददाता

0
Shares

भनिन्छ, ‘केही पाउन, केही गुमाउनुपर्छ’ तर, गायिका मेनुका राईका लागि यो भनाइ सान्दर्भिक छैन । मेनुकाको गायनयात्रा ठ्याक्कै दुई दशक पुग्यो । तर, उनको न गुनासो छ, न त अत्याधिक खुसी नै । मेनुका भन्छिन्, ‘गायन क्षेत्रमा केही पाउला भनेर लागेकी होइन, तर, पनि पाएकी छु । त्यसैले म सन्तुष्ट छु ।’ यो दुई दशकमा मेनुकाले सांगीतिक क्षेत्रका लागि समय र पैसा त खर्चिन नै, तर, बदलामा दर्शक तथा श्रोताको माया र प्रेरणा उनका लागि काफी छ । खोटाङमा जन्मेर काठमाडौंलाई कर्मथलो बनाएकी मेनुकाका तीन सोलो एल्बम प्रकाशित छन् भने सयौँ गीतमा स्वर दिएकी छन् । ‘संख्यात्मकरुपमा धेरै गाइयो’ उनी भन्छिन्, ‘तर, संख्याले मात्र केही नहुनेरहेछ, त्यसैले गन्नै छाडेँ ।’ ‘माया आरिसे’, ‘पानी मीठो यारी खोलाको’, ‘ढल्कियो जोवन’ जस्ता चर्चित गीतका गायिका मेनुका राईसँग एमपी सुब्बाको जम्काभेट ।

हिजोआज खाशै देखिनुहुन्न । के गर्दै हुनुहुन्छ ?

अधिवेशनको तयारी गर्दैछु । हाम्रो समुदाय किराँत राई सांस्कृतिक कलाकार संघको केन्द्रीय सम्मेलन हुन गइरहेको छ । त्योभन्दा अगाडि काठमाडौं जिल्लाको अधिवेशन गर्नुपर्ने भएकाले व्यस्त भएकी हुँ । काठमाडौं जिल्लाको अध्यक्ष म नै भएकाले पनि दौडधुप बढी भएको छ ।

गीत गाउनै छाडेर संस्थाको अधिवेशन लागि व्यस्त हुन भएको हो ?

होइन, गीत रेकर्डिङ पनि गरिरहेकी छु । केही दिनअघिमात्र हाम्रै संस्थाका लागि एउटा गीत रेकर्ड भयो । उक्त गीतको अहिले इलाममा सुटिङ भइरहेको छ ।

तपाइँ गीतसंगीत क्षेत्रमा लाग्नुभएको धेरै भयो है ?

हो नि, २० वर्ष पुग्यो । समय गएको पत्तै नहुने रहेछ । भर्खरैजस्तो लाग्छ, तर औँला भाँचेर गन्दा धेरै लाग्छ ।

दुई दशकको संगीतयात्रा सन्तुष्टि हुनुहुन्छ ?

सन्तुष्टि नै छु । केही पाउँछु भनेर म गायन क्षेत्रमा लागेकी होइन । तर, जब यो क्षेत्रमा लागेँ, त्यसपछि दर्शक तथा श्रोताको माया पाएँ । म त्यसैको सन्तुष्टि छु । समय र पैसा भन्ने आफ्नै ठाउँमा छ । सबैभन्दा ठूलो कुरा सुन्तुष्टि नै हो ।

नेपाली गीतसंगीतको ट्रयाक चेञ्ज भएको पाइन्छ । तपाइँलाई कस्तो लाग्छ ?

हो, प्रविधिले फड्को मारिरहेको छ । यस्तो अवस्थामा हरेक क्षेत्र प्रविधिकै पछि हुन्छ । प्रविधिलाई हामीले पछ्याउन सकेनौँ भने पछि परिन्छ । यस्तै, नेपाली गीतसंगीत पनि प्रविधिको विकाससँगै डिजिटल कन्सेप्टमा गएको छ । अहिले पहिलेजस्तो एल्बम निकाल्ने जमाना छैन । यु–ट्युब र सोशल मिडियामै निर्भर हुन थालेको छ । अहिले गीतसंगीत ‘टिकाउ’ भन्दा ‘बिकाउ’तिर केन्द्रीत छ ।

जमानाअनुसार तपाइँ पनि गायनशैली अर्थात ‘ट्रयाक चेञ्ज’ गर्ने मुडमा हुनुहुन्छ ?

म सुरुमै लोकगीत गाएर आएकी हुँ । त्यसैले मैले ट्रयाक परिवर्तन गर्न जरुरी छैन । हुन त सबै किसिमका गीत गाउँछु । तर, मलाई चिनिएको लोकगीतबाटै हो ।

तपाइँलाई स्थापित गर्ने गीत कुन हो ?

धेरै गीत गाएकी छु । तर, मलाई गायिका मेनुका राई भनेर चिनाउने गीतचाहिँ ‘माया आरिसे’ हो । त्यसपछि ‘पानी मीठो यारी खोलाको’, ‘ढल्कियो जोवन’जस्ता गीतहरु पनि श्रोता÷दर्शकले रुचाइदिनुभएको छ ।

दुई दशकको सांगीतिक यात्राबाट के सिक्नुभयो ?

धेरै कुरा सिकेकी छु । पहिले संगीत रहर पूरा गर्ने माध्यममात्र जस्तो लाग्थ्यो । तर, अहिले यो अरु क्षेत्रजस्तै पेसा बनाउन सकिन्छ । पछिल्लो समय राज्यले समेत नेपाली गीतसंगीत क्षेत्रलाई मान्यता दिइरहेको छ । यो आम नेपाली कलाकार तथा संगीतकर्मीका लागि खुसीको कुरा हो ।

एल्बमबारे के सोच्दै हुनुहुन्छ ?

एल्बम ल्याउने, नल्याउने भन्नेमा दोधारमै छु । किनकि एल्बम लिकालेर पनि बिक्री हुँदैन । प्रविधिले गर्दा एल्बमको जमाना समाप्त भएको छ । अब सिंगल ट्रयाकमै जानुपर्ला ।

प्रतिक्रिया दिनुहोस्