- माथवरसिंह बस्नेत
गत शुक्रवार राति धनुषाको महेन्द्रनगर गाउँमा भएको बम विस्फोटको घटनामा एक प्रहरी निरीक्षक र दुइजना सर्वसाधारण नागरिकको ज्यान गएको छ भने, थप तीनजना गंभीर घाइते भएका छन् । त्यही रात सिराहाको पतारी गाउँपालिका कार्यालयमा पनि बम विस्फोट भएको छ, तर धनमालको क्षतिबाहेक कसैको ज्यान नगएको स्थानीय प्रहरीले जनाएको छ । प्रहरीले ती दुवै घटना, माओवादीको विप्लव समूहले गराएको अनुमान लगाएको छ । यद्यपि, त्यसको पुष्टि हुन बाँकी छ । घटनाको प्रकृति र स्वरुपलाई अवलोकन गर्नेहरुले माओवादी जनयुद्धको निरन्तरता अथवा पराकम्पका रुपमा त्यसलाई यो नयाँ चरण हो भनी मानेका छन् ।
माओवादी क्रान्ति र जनयुद्धको यो कुन चरण हो, त्यो खुट्याउन जो पायो उसले सक्तैन । किनभने, त्यसको लामो र अन्त्यहीन शृंखला हुन्छ । कुन शृंखला कहिले, कहाँ कसरी प्रकट हुन्छ ? त्यो पनि पहिचान गर्न निकै कठिन हुन्छ । नेपालमै भएका क्रान्तिका कम्प र पराकम्पको गणना गर्ने हो भने पनि धेरै चरणका क्रान्ति सम्पन्न भइसकेका छन् । ती क्रान्तिबाट जनताले केही नपाए पनि नेताहरुले तत्कालीन सत्तासंग सम्झौता गरेर सुख, समृद्धि र ऐश्वर्यको आनन्द उठाइरहेका छन् । जनताले चाहिँ नारा र नेतृत्व जसको भए पनि परिणाम उही झेल्नु परेको छ– हत्या, हिंसा र आतंक । त्यसको चपेटमा परेर बलिदान गर्ने पनि जनता । बेपत्ता पारिने पनि जनता र अंगभंगको यातना पाउन बाध्य हुनुपर्ने पनि जनता । जसका लागि क्रान्ति उछालिएको हो, सबैभन्दा बढी दुःख पाउने र मारिने पनि तिनै हुने गरेका छन् । उनीहरुका लागि त्यो बहस निरर्थक छ, कि मर्नेहरु माओवादीका झापाली विद्रोहका नाममा खुकुरीले रेटिएका हुन्, अथवा प्रचण्ड माओवादीको जनयुद्धकालमा अत्याधुनिक हतियार एके ४७ राइफलको गोलीको शिकार बनेर मारिएका किन नहुन् ! त्यसैगरी अहिलेका जल्दाबल्दा क्रान्तिकारी–माओवादी समूहका नेता विप्लवले गराएको विस्फोटमा परेर ज्यान गुमाउने पनि जनता हुन् । क्रान्तिकारीका बन्दुक हुन् अथवा पुलिस र सेनाका, मर्ने त जनताकै छोराछोरी हुन् । क्रान्ति निर्णायक मोडमा पुग्नलागेका बेला हुने गरेको उपलब्धी भनेको नेताहरुले देशभित्र अथवा विदेशमा गएर गरिने सम्झौता हो । त्यसको परिणामचाहिँ नेताहरुको चमत्कारिक उन्नति र प्रगति हुने गरेको छ । नेताहरुका चर्का र गर्वोन्नत भाषण सुनेर ताली पिट्ने जनताले पाउने भनेको परिवर्तन नामको भारी हो, जुन कहिले राणा, कहिले राजा, कहिले कांग्रेस र कहिले कम्युनिष्टले जनताका काँधमा बोकाउने गरेका छन् ! उनीहरु केही दिन त के के न पायौं भनेर फुरुङ्ग हुन्छन् । अनि, जब कार्यान्वयनको बेला आउँछ, तब थाहा पाउँछन्– जुन जोगी आए पनि कानै चिरेका मात्र रहेछन् । हाम्रो काँधबाट बोझ हटेको होइन रहेछ, काँध मात्रै फेरिएको पो रहेछ ।
भनिन्छ, इतिहास दोहोरिंदैन, घटना दोहोरिन्छ । सन् १९६० को दशकको अन्त्यतिर भारतका माओवादीले चिनियाँ शैलीको क्रान्ति गर्न, सबैभन्दा ठूला अवरोध मानिएका सामन्त र शोषकको शिरोच्छेदन गर्ने अभियान चलाएका थिए । लामो अवधिसम्म उनीहरुले धेरै गाउँका जमिन्दारका घरमा बम विस्फोट गराउने, राति घरमा आक्रमण गरेर सम्पत्ति लुट्ने, स्थानीय हतियार प्रयोग गरेर गरीव जनताको रगत चुस्ने शोषक र सामन्तका नाममा तिनको हत्या र हिंसा गर्ने लहर चलाएका थिए, ठ्याक्कै अहिलेका विप्लववादीहरले जस्तै । भारतको केन्द्र सरकार र बंगालको राज्य सरकार, शुरुका दिनमा कानमा तेल हालेर मात्र नपुगेर आँखा पनि चिम्लेर बसेका थिए । तर, जब नक्सालवाडीको एक पुलिस चौकीमा उनीहरुले आक्रमण गरेर एक इन्सपेक्टरको हत्या गरे, तब सरकार ब्युँझियो र प्रतिकारमा उत्रने निर्णय लियो । कालान्तरमा त्यो क्रान्तिकारी आन्दोलनको नाम “नक्सलाइट मुभमेन्ट” हुनपुग्यो । त्यसको लक्ष थियो, प्रतिक्रियावादी संसदीय व्यवस्थालाई बलपूर्वक ध्वस्त पार्नु र त्यही ध्वंशमा चीनमाजस्तै नयाँ जनवादी राज्यसत्ताको स्थापिना गर्नु ।
नक्सलाइट मुभमेन्टका नेता थिए– चारु मजूमदार । उनी, पेशाले प्रोफेसर थिए र चीन समर्थक कम्युनिष्ट थिए । भाकपाबाट माकपाहुँदै उनी चीन समर्थक कम्युनिष्ट पार्टीका नेता बनेका थिए । सन् साठीको मध्यतिर सोभियत संघ र चीनका बीचको सीमा बिबाद चर्केर गएको, वैचारिक मतभेद चरमोत्कर्षमा पुगेको र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्न चीनले सोभियत संघमाथि संशोधनवादी, नयाँ साम्राज्यवादी तथा विस्तारवादीको लान्छना लगाएर वास्तविक कम्युनिष्ट आन्दोलनको नेतृत्व आफैंले गर्ने घोषणा गरेको थियो । त्यही विचार, रणनीति र कार्यशैलीको नेतृत्व लिन भारतीय कम्युनिष्ट पार्टीबाट चोइटिएर बनेको माक्र्सवादी कम्युनिष्ट पार्टीलाई पनि छाडेर मजूमदारले भाकपा– माक्र्सवादी, लेनिनवादी तथा माओ विचारधारावादीको लामो पुच्छर गाँसेर त्यो पार्टी बनाएका थिए, जसको अध्यक्ष पदमा चीनका माओत्सेतुङलाई चुनिएको थियो । तिनताका माओवादी कम्युनिष्टहरु यति अन्धविश्वासी तथा पाखण्डी थिए कि माओबाहेक अरु कोही कम्युनिष्ट पार्टीको अध्यक्ष हुनै सक्तैन र हुनु पनि हुँदैन भन्ने धारणा राख्थे । भारतको नक्सालवाडीभन्दा वारिपट्टिको नेपालको झापा जिल्लामा पनि जब पूर्वाञ्चल कोअर्डिनेटिङ कमिटीका नामबाट नक्सलाइट आन्दोलन चल्यो र कालान्तरमा त्यसले आफ्नो पार्टीको नाम राख्यो– नेकपा– माक्र्सवादी, माओवादी र लेनिनवादी । छोटकरीमा भन्दा माक्र्स र माओको एउटै “मा” र लेनिनको “ले“ मिलाएर “माले” राखियो । त्यसले पनि नक्सलाइटको फोटोकपी उतार गरेर अध्यक्ष पदमा माउत्सेतुङलाई नै विराजमान गराएको थियो ।
त्यसरी माले पार्टी गठन भएपछि विभाजन र विखण्डनको शिकार बनेको कम्युनिष्ट आन्दोलनले नयाँ आयाम र गति लिन थालेको हो । त्यसमाथि शिक्षक संघ र अखिलका नामले कांग्रेस पंचायतबाट लखेटिएका बेला, समाजमा राजनीतिक पार्टीको रिक्तता भर्ने काम गरेर मालेले शिक्षित नयाँ पुस्तामा संगंठन विस्तार गर्ने अवसर छोप्न र सबै क्षेत्रमा आफ्नो उपस्थितिको बोध गराउन सकेको थियो । २०४६ को जनआन्दोलनपछि कम्युनिष्ट पार्टीका विभिन्न समूललाई समेटेर एमालेका रुपमा परिवर्तित भएपछि उसले राष्ट्रिय राजनीतिको वैकल्पिक शक्तिको आकार ग्रहण गरेको हो । त्यही वैकल्पिक शक्तिको स्थान र स्थितिलाई खोस्न, भित्र र बाहिरका शक्तिको समेत सहयोगमा माओवादीले एडिचोटीको प्रयास गरेको हो । तैपनि एमालेको जुन छवी, जनतामा स्थापित भइसकेको थियो, त्यसलाई १७ हजारको हत्या र आतंकले पनि खोस्न सकेन, उल्टो, माओवादीले नै एमालेमा समाहित हुनुप¥यो ।
यति लामो पृष्ठभूमि प्रस्तुत गरिसकेपछि कम्युनिष्ट क्रान्तिका विभिन्न चरणका घटना विकासमा विप्लवको क्रान्ति, प्रयास पनि त्यसैको निरन्तरता हो भन्न थप प्रमाण पेश गरिरहनु परेन । माओवादी विचारधारा र कार्यशैली चीनमै हराइसकेको छ, तापनि त्यसको आकर्षण, केही अविकसित देशमा जस्तै नेपालमा पनि अझै कायम छ । विप्लवको सशक्त उपस्थिति त्यसको उदाहरण हो । भारतमा भाजपाको उत्थानसंगै कम्युनिष्ट पार्टी नै समापनको बाटोमा लागिसकेको तथ्य, निर्वाचन परिणामले देखाएको छ । त्यही भारतमा माओवादी भने कम्युनिष्ट आन्दोलनको अस्तित्व जोगाइराख्ने अनिकालको बीउ सावित भएको छ । क्रान्तिको माओवादी शैलीलाई निरन्तरता दिएर विप्लव समूहले क्रान्तिको मसाल निभ्न नदिएर धेरैलाई भविष्यप्रति आशावादी तुल्याउने काम गरिरहेको छ– महेन्द्रनगर र सिराहाको बम विस्फोट तथा इन्सपेक्टरको मृत्युको घटनाले । नक्सालवाडीमा इन्सपेक्टरको हत्यापछि सरकार प्रत्याक्रमणमा उत्रेको थियो, नेपालमा विप्लवका विरुद्ध सरकार पहिलेदेखि नै एक्सनमा छ ।
नेपालको क्रान्ति तथा परिवर्तन, नेपालीका आवश्यकताले भन्दा वाह्य कारणले हुने गरेको इतिहास साक्षी छ । त्यस्तो ऐतिहासिक, भौगोलिक तथा सामरिक परिप्रेक्षमा क्रान्ति र परिवर्तनले कुन बेला, कसरी निर्णायक मोड लिन्छ, त्यो कसैले भन्न सक्तैन । यो चाहिँ भन्न सकिन्छ कि त्यसका निम्ति माध्यम बन्ने औजार दुरुस्त चाहिन्छ । त्यो विकल्प, सबैका निम्ति उपलब्ध भएको विज्ञापन बारम्वार दोहोरिएको मात्र हो । त्यसको गम्भीरतालाई सत्ताधारीले समयमै आत्मसात गरेर उपयुक्त व्यवस्थापन गर्नतिर लागुन् । अन्यथा, मौका कसरी गुम्छ, निकट अतीतका घटनाले देखाएकै छ ।