- एमपी सुब्बा
नेपाली गीतसंगीत क्षेत्रमा पुरानो मानसिकता तोडिँदै गएको छ । अर्थात्, युवापुस्ता लोक र लोकशैलीका गीतमा ढल्किन थालेका छन् । कुनै समय लोक र दोहोरी गीत भन्नेवित्तिकै ‘नाक खुम्चाउँने’हरु यतिखेर लोक गीतमै बुरुक्क–बुरुक्क उफ्रिन थालेका छन् ।
‘संगीतको भाषा हुँदैन, जात हुँदैन तर नेपाली संगीतको वर्ग छुट्याइएको छ । जसमा लोकगीत सबैभन्दा तल्लो वर्गमा लिनेको जमात यहाँ ठूलै छ । तर, आज त्यही जमातले प्रकाशको ‘गलबन्दी’ जर्वरजस्त सुन्न बाध्य पारिएको छ ।’
नेपाली गीतसंगीतमा अहिले यस्तो ‘ट्रेण्ड’ आएको छ, जसले लोकगीतलाई बल्ल गीत मान्न थालिएको छ । केही वर्षअघिसम्म लोक गीतलाई गाउँले र पाखेले गाउने गीत भनिथ्यो । तर, अहिले लोकगीतले आश्चार्य लाग्दो बजार लिएको छ, लोकभाका र दोहोरीहरु यु–ट्युब ट्रेृण्डिङ अगाडि छन् । साथै, विशेष समारोहरुमा लोकभाका गुञ्जिन थालेको छ । सांगीतिक कार्यक्रमहरुमा लोकगीतकै माहोल पाइन्छ । अझ भनौँ डिजिटल संगीतबजारमा लोकगीतले कब्जा गरेको छ ।
लोकगीत र दोहोरीको ‘ट्रेण्ड’ कतिसम्म चौडा भएको छ भन्ने हालै सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग)को उद्घाटन समारोह एक उदाहरण हो । काठमाडौंको दशरथ रंगशालामा राष्ट्रपति विद्या भण्डारीले सागको उद्घाटन गरिरहँदा त्यहाँ नारायण गोपाल र रामकृष्ण ढकालका गीत मात्र गुञ्जिएन, जहाँ गायिका विष्णु माझी, कुलेन्द्र विश्वकर्मा, सन्दीप न्यौपाने, प्रकाश सपुतजस्ता लोकगायकका गीत पनि गुञ्जायमान बन्यो । ‘लालुमै’, ‘म पनि झिल्के हुँदो हो’, ‘सालको पात’जस्ता दर्जैनौँ फ्युजन लोकगीतले रंगाशालमा हजारौँलाई उफारेको थियो । समापनमा दीपक बज्राचार्यको गीत संगीतले खेलप्रेमीहरुलाई मन्त्रमुग्ध पारेको थियो ।
पहिले–पहिले सार्वजनिक तथा राष्ट्रियस्तरका कार्यक्रमहरुमा राष्ट्रिय भावका गीतमात्र गुञ्जिने गर्दथे । तर, पछिल्लो समय नेपाली गीतसंगीत क्षेत्रमा बढ्दो लोकभाकाको ट्रेण्डसँगै सार्वजनिक कार्यक्रमहरुमा लोकगीत र दोहोरीले प्रमुख स्थान ओगट्न थालेको छ । सागको उद्घाटन सत्रमा देखिएको ‘लोकट्रेण्ड’ नेपाली गीतसंगीत क्षेत्रका लागि खुसी कुरा हो ।
रंगशालामा लोकभाकाले हजारौँ दर्शक झुमाइरहँदा लाग्थ्यो, ‘यही हो नेपालीपन’ ‘लालुमै’, ‘गल्बन्दी’ र ‘सालको पात’जस्ता लोकदोहोरी गीतको रसस्वादन गरे । जसले लोकगीतको प्रवद्र्धनमा समेत थप टेवा पुगेको छ ।
यस वर्षमात्र नेपाली यु–ट्युब च्यानलहरुमा ‘लालुमै’ र ‘गल्बनदी’जस्ता कैयौँ लोक गीतहरु ट्रेण्डिङमा परे, अहिले पनि नेपाली यु–ट्युब च्यानलहरु सर्च गर्ने हो भने लोकगीत र दोहोरी नै अगाडि पाइन्छ । यसरी नाक खुम्च्याउने प्रवृतिलाई चिर्दै मूलधारसम्म लोकगीतलई ल्याउनका लागि यहाँ कैयौँ लोकस्रष्टाको श्रेय छ ।
यहाँ लोकगीत र दोहारीको चर्चा गरिरहँदा गर्व महशुस हुन्छ किनकि, हरेक गीतसंगीतको मेरुदण्ड हो लोकगीत । तर, अझैपनि नेपाली लोकगीतलाई ‘गीत’ नठान्ने र लोकगीत र दोहोरी गाएका संगीतको करिअर बन्न सक्दैन भन्ने सोच र मानसिकता यसै क्षेत्रमा पाइन्छ ।
नेपाली संगीत बजारमा प्रकाश सपुतको ‘गलबन्दी’, विष्ष्णु माझी र सन्दीप न्यौपानेको ‘लालुमै’ अनि कुलेन्द्र विश्वकर्मा र विष्णुकै ‘सालको पात’जस्ता लोकदोहोरी गीतले तताइरहेका बेला एक बरिष्ठ गायक तथा संगीतकार (नाम गोप्य)ले यो स्तम्भकारसँग भनेका थिए, ‘संगीतको भाषा हुँदैन, जात हुँदैन तर नेपाली संगीतको वर्ग छुट्याइएको छ । जसमा लोकगीत सबैभन्दा तल्लो वर्गमा लिनेको जमात यहाँ ठूलै छ । तर, आज त्यही जमातले प्रकाशको ‘गलबन्दी’ जर्वरजस्त सुन्न बाध्य पारिएको छ ।’
यसरी लोकगीतको पक्षका वकालत गरिरहँदा लाग्थ्यो, ‘हो, समयभन्दा यहाँ कोही ठूलो छैन । किनकि, कुनैबेला उनै संगीतकार लोकभाकाको आलोचना गर्थे र भन्थे, ‘लोकगीत गाएर पनि सांगीतिक क्षेत्रमा करिअर बन्छ र ?’ तर, उनले भनेजस्तो अहिले यहाँ लोकगीत र दोहोरी सुन्न श्रोतालाई जबरजस्त सुन्न बाध्य पारिएको भने होइन । यो समय र परिस्थितको माग हुनसक्छ । तर, अझैपनि लोकगीतलाई मनबाटै स्वीकार्न नसक्ने जो स्रष्टा वा सर्जक छन्, उनीहरुका लागि जर्बरजस्त लोकगीतलाई ‘हिट’ बनाइँदैछ ।
नेपाली संगीत क्षेत्रमा यस्ता थुप्रै उदाहरण छन्, जसले कुनैबेला लोकगीत गाउनेहरुलाई कलाकार नै मान्दैनथिए । यहाँ नामै उल्लेख गरौँ, सुगमसंगीतमा कहलिएका गायक शिव परियारले केही वर्षअघि लोकगीत र लोक स्रष्टालाई ‘हे’ र ‘लोके’को संज्ञा दिएपछि आलोचित बनेका थिए । त्यसमा उनले माफी माग्नुपरेको थियो ।
हुन त शिवले मात्र होइन, यहाँ नाम कहलिएका सुगम गायक भनिएकाहरु छन्, जसले लोकदोहोरी गाउने कलाकारलाई अझै ‘लोके’कै नजरले हेर्ने गरेको पाइन्छ । यहाँ किन र केका लागि लोकगीत तथा लोकदोहोरीको चर्चा गरिँदैछ भन्ने प्रस्टै छ जबकि, लोकगीत र दोहोरी गीतलाई बाइपास गर्ने एउटा जमाना थियो । त्यो जमानाका गायक÷गायिकाले समेत अहिले ‘लोकटे«ण्ड’लाई फलो गर्न थालेका छन् ।
नेपाली फिल्मको गीतसंगीतकै कुरा गरौँ, पछिल्लो समय अधिकांश फिल्महरुमा लोकगीत र दोहोरी घुसाउन थालिएको छ । र, तिनै लोकगीतको सहाराले फिल्म हिट भइरहेको छ । नेपाली संगीत बजारमा लोकगीतले कब्जा जमाउन थालेपछि फिल्मकर्मीहरु समेत यसको घेराबन्दीमा परेका छन् । तर, अझैपनि उनीहरुमा केही भ्रम पाइँन्छ । ‘लोकगीतले कथा बोक्दैन, फिल्मका लागि सुगम गीत ठीक’ भन्नेहरु आफ्नो फिल्ममा भने लोकगीतलाई नै स्थान दिन थालेका छन् ।
यो स्तम्भकारसँग कुनै समय एक फिल्मकर्मीले भनेका थिए, ‘फिल्ममा लोकगीत घुसाउन भनेको दालभात र तरकारीमा गोलभेडाको चटनी थप्नुजस्तै मात्र हो । लोकगीत अर्थात दोहोरी गीत नभएका फिल्म पनि हिट भएका छन् ।’ तर, पछिल्लो समय तिौ फिल्मकर्मीले आफ्नो हरेक फिल्ममा लोकगीत राख्न थालेका छन् । यतिमात्र नभएर उनै फिल्मकर्मीले आफ्नो फिल्ममा पुराना लोक स्रष्टाको सिर्जना चोरी गरेको आरोप समेत खेप्नु परेको थियो ।
लोकगीतले दर्शक तथा श्रोतालाई कसरी आफ्नो वसमा ल्यायो भन्ने यो एउटा उदाहरण हो । पछिल्लो समय लोक र दोहोरीलाई नै ‘वाह’ नभन्न सायदै हुन्छन् । जसमा आमनेपाली संगीतप्रेमीले गर्व गर्नुपर्छ किनकि लोकगीतले नेपालीपन, मौलिकता र संस्कृतिक पहिचान उजागर गर्छ ।