नेपाली चलचित्र क्षेत्रमा निर्देशक महिला नगन्य छन् । वार्षिक एक सयभन्दा बढी चलचित्र बन्ने यो क्षेत्रमा निर्देशनमा महिला आएपनि टिकाउ हुँदैनन् । काराण फिल्म क्षेत्रमा महिलालाई चुनौती छ । त्यसैले प्राविधिकमा महिला आउँछन् र हराउँछन् । तर, सबै उस्तै छैनन् । समुन्द्र भट्ट निर्देशनमै अडिरेहकी छन् । उनी एक सक्रिय निर्देशक महिला हुन् । तीनवटा फिल्म निर्देशन गरिसकेकी भट्ट अहिले आफ्नो पछिल्लो फिल्म ‘गुन्यूचोेली’को पोष्ट पोडक्शनमा व्यस्त छिन् । जुन फिल्म केही अन्तर्राष्ट्रिय फिल्म फेष्टिवलमा प्रदर्शन हुने भएको छ । फिल्म निर्देशनलाई करिअर बनाउने सोचका साथ अगाडि बढिरहेकी उनी भन्छिन्, ‘नेपाली फिल्मको अन्तर्राष्ट्रियस्तरमा बजारीकरण गर्ने मेरो मुख्य उद्देश्य हो ।’ निर्देशक समुन्द्र भट्टसँग दृष्टिको जम्काभेट :
हाल के गर्दै हुनुहुन्छ ?
अहिले मेरो पछिल्लो फिल्म ‘गुन्यू चोली’को पोष्ट प्रोडक्शनमा भइरहेको छ । अहिले त्यसैमा व्यस्त छु ।
अहिलेसम्म कतिवटा चलचित्र निर्देशन गर्नुभएको छ ?
अहिलेसम्म मैले तीन वटा चलचित्र निर्देशन गरेकी छु । त्यसमध्ये दुई वटा सार्वजनिक प्रदर्शनमा आइसकेका छन् । पछिल्लो मेरो चलचित्र ‘गुन्यूचोली’ सम्पादनको काम भइरहेको छ ।
चलचित्र निर्देशनमा कसरी लाग्नुभयो ?
म सानैदेखि क्रियटिभ काम गर्न रुचाउँथें । त्यसैले कला क्षेत्रमा लागियो । चलचित्र क्षेत्रमा लाग्नुअघि केही म्युजिक भिडियो निर्देशन गरेँ । त्यसपछि चलचित्र निर्देशन गर्न सक्छु भन्ने लागेर यो क्षेत्रमा लागेकी हुँ ।
चलचित्र निर्देशनबाट पाएको उपलब्धी ?
चलचित्र क्षेत्र, त्यसमा पनि निर्देशनमा लागेर पाएको उपलब्धी भनेको आत्मसन्तुष्टि हो । यसका साथै, दर्शकको माया र हौसला पाउनु पनि उपलब्धी नै हो । जसले मलाई काम गर्ने जोश र जागर मिलेको छ ।
निर्देशक महिलाको रुपमा काम गर्दै हुनुहुन्छ । कत्तिको सहज छ ?
महिला र पुरुषभन्दा पनि काम गर्दै जाँदा गाह्रो त हुन्छ नै । तर, यसलाई आफूले कसरी सहजरुपमा लिने भन्ने हो । निर्देशक महिलाको कुरा आउँदा सुरुका दिनमा केही हदसम्म असहज भोगियो । तर, अहिले स्थानमा छु, सबै भोगीसकेपछि सहज हुँदै जानेरहेछ । त्यसैले अहिले सहज नै छ ।
पछिल्लो समय चुनौतिपूर्ण छ भनिन्छ, चलचित्र उद्योग वास्तविकता के हो ?
बाहिर हल्ला चलेजस्तो चुनौतीपूर्ण छैन । वास्तवमा भन्नुपर्दा अहिले चलचित्र क्षेत्रमा काम गर्नु धेरै सहज छ । तर, चलचित्रको विषयवस्तुमा चाहिँ ध्यान दिनैपर्छ । चलचित्र क्षेत्र चुनौतीपूर्ण छ भन्नुको तात्पर्य के भने अहिलेका दर्शक आफैँमा क्रियटिभ छन् । दर्शकले एकदमै छिट्टो फिल्मको भाषा भनुँ वा विषयवस्तु ठ्याक्कै थाहा पाइहाल्नुहुन्छ । साथै, अहिलेका दर्शक यो फिल्म कस्तो हो भन्ने जर्ज गर्न सक्ने हुनुहुन्छ । त्यस कारण पनि चलचित्र क्षेत्र चुनौतीपूर्ण छ भन्न खोजिएको हुनसक्छ । तर, मेरो बुझाइमा अहिले दर्शककै कारण चलचित्र क्षेत्र सहज भएको छ किनकि दर्शकको मनोभावलाई बुझेर फिल्मको कथामा ध्यान दिनुपर्ने हुन्छ ।
चलचित्रमा ल्यामर र भल्गर बिक्री हुन्छ भनिन्छ, तपाईंको अनुभव कस्तो रहेछ ?
त्यस्तो होइन । पछिल्लो समय व्यवसायिकरुपमा सफल भएका चलचित्रहरुले पनि यी भनाइलाई गलत सावित गर्छ । कल्चर, संस्कार र सामाजिक विषय उठान गरेका चलचित्रहरु नै सफल भएका छन् । त्यसैले म भन्छु, भल्गर होइन, मेकरको क्रियशन र कथा बिक्छ ।
चलचित्र क्षेत्रमा लगानीकर्ता ल्याएर मुर्गा बनाउने चलन छ भनिन्छ नि ?
चलचित्र क्षेत्र भनेर सबैलाई एउटै तराजुमा राखेर जोख्न मिल्दैन । होला, कुनै कुनै । तर, म चाहिँ यस्तो मुर्गा फसाउँनेमा पर्दिन । त्यही भएर मलाई त्यसबारे थाहा छैन । थाहा नभएको कुरालाई थाहा छैन भन्नुपर्छ ।
रेमिट्यान्सवालालाई लगानी गराइन्छ रे, उनीहरुको लगानी निश्चित गरिन्छ कि हात खाली फर्किन्छन् ?
मलाई चाहिँ यो एउटा वहानामात्र हो जस्तो लाग्यो किनकि गतिलो मेकर्सलाई न मुर्गा चाहिन्छ, न त रेमिट्यान्सवाला नै । अहिलेसम्म मैले बाहिरी लगानीको चलचित्र निर्देशन गरेको छैन ।
म्यूजिक भिडियो पनि निर्देशन गर्नुभएको छ, भिडियो र चलचित्रमा फरक के पाउनुभयो ?
म म्युजिक भिडियो भन्दा चलचित्र निर्देशक हुँ । फरकको कुरा गर्नुपर्दा म्युजिक भिडियो र चलचित्रमा धेरै अन्तर छ । यो भनिराख्नै पर्दैन । तर, सबै कामको इज्वत गर्नुपर्छ । म अहिले चलचित्र निर्देशन क्षेत्रमा छु । तैपनि म्य्ुजिक भिडियोमा काम गर्नेहरुलाई सम्मान र इज्वत गर्छु । कामको फरक छ्ट्याउनु हुन्न भन्ने मेरो मान्यता हो ।
चलचत्र क्षेत्रमा पब्लिसिटीका लागि फण्डा गर्ने प्रवृत्ति छ । निर्देशनबाट नाम, दाम र बदनाम के चाहिँ प्राप्त गर्नुभयो ?
म अलिक फरक विचारकी भएर होला मलाई यस्तो फण्डा सण्डाको मतलव छैन । र, निर्देशन लागेर बदनाम भन्ने शब्द नै पाएकी छैन । इज्वत पाएकी छु । आत्मनिर्भर हुने मौका पाएको छु । र, आफ्नो क्रियशनलाई मासमा देखाउने अवसर पाएकी छु, त्यसैले खुसी छु ।
तपाइँको आगामी योजना के छ ?
हाल चलचित्र ‘गुन्यूचोली’कै पोष्ट प्रोडक्शमा व्यस्त छु । त्यस्तो योजना नै भनेर सोच बनाएकी छैन । चलचित्र क्षेत्रमै काम गर्दै जाने हो । मेरो लक्ष्य भनेको नेपाली चलचित्रको बजारीकरण गर्नु हो । साथै, सामाजिक क्षेत्रमा पनि काम गर्ने सोच बनाएकी छु ।
विदेशमा चलचित्र प्रदर्शन गर्न लाग्नुभएको छ, नेपालमा निश्चित नभएर विदेशमा प्रिमियरबाट लगानी उठाउने योजना हो ?
त्यस्तो होइन । मेरो पछिल्लो चलचित्र ‘गुन्यूचोली’ नेपाली समाजको नयाँ विषयवस्तु उठान गरेकी छु । त्यसैले अन्तर्राष्टिय फिल्म फेस्टिवलमा समावेश गर्न लागेकी हुँ ।