काठमाडौं । पत्रकार तथा लेखक भानु बोखिमको उपन्यास ‘गोधूलि गीत’ शनिवार काठमाडौँमा सार्वजनिक गरिएको छ ।
मण्डला थिएटरमा आयोजित कार्यक्रमबीच सार्वजनिक गरिएको हो । जनयुद्धको विषयवस्तुमा लेखिएको उक्त पुस्तबारे साहित्यकार श्यामल र नवीन विभासले टिप्पणी गरेका थिए।
पुस्तकमा जनयुद्धले पारेको प्रभावलाई मुख्य विषय बनाइएको छ । जनयुद्धको उद्गम थलो रोल्पालाई आधार बनाएर पुस्तक तयार पारिएको छ ।
कार्यक्रममा बोल्दै साहित्यकार श्यामलले मिहिन तर सरल रूपमा जनयुद्धको प्रभाव पुस्तकमा उतार्न लेखक सफल भएको बताएका थिए । त्यसै गरी साहित्यकार नवीन विभाषले जनयुद्धको सुरुवाती चरण स्मरण गराउँदै लेखकले जनयुद्धको विषयवस्तुलाई फरक कोणबाट उठान गरेको बताए ।
कार्यक्रममा पुस्तकबारे लेखक बोखिमसँग पत्रकार दीपक सापकोटाले संवाद गरेका थिए ।
संवादका क्रममा लेखक बोखिमले युद्ध कसैका लागि प्रिय नभए पनि युद्धको प्रभाव सबैमा पर्ने र सोही प्रभावलाई आधार मानेर पुस्तक तयार भएको सुनाए ।
यसअघि २०७४ सालमा ‘रुमानी साँझ’ नामक पुस्तक प्रकाशन गरेका बोखिमले यस पटक जनयुद्धको विषयलाई समेटेर उपन्यास तयार पारेका हुन् । पुस्तक कलम प्रकाशनले प्रकाशन गरेको हो ।