Logo
Logo

चीन भ्रमणको तयारीमा अमेरिकी अर्थमन्त्री येलेन


756
Shares

वासिङ्टन । विश्वका शीर्ष दुई अर्थतन्त्रबीचको सम्बन्धमा देखिँदै आएको तनाव कम गर्न अमेरिकी अर्थमन्त्री जेनेट येलेनले यसै साता चीन भ्रमण गर्ने तयारीमा छन् ।

अमेरिकी अर्थमन्त्रालयका अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गत जुनमा बेइजिङमा चीनका शीर्ष नेता सी चिनपिङ र विदेशमन्त्री किन गाङसँग भेटवार्ता गरेको केही हप्तापछि नै अर्थमन्त्री येलेनले चीन भ्रमण गर्ने तयारी गरेको हो । अर्थमन्त्री येलेनले जुलाई ६ देखि ९ सम्म तीन दिन चीन भ्रमण गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘येलेनले आफ्ना समकक्षीहरूसँग ‘सम्बन्धलाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्न, चासोका क्षेत्रहरूको बारेमा प्रत्यक्ष संवाद गर्न र विश्वव्यापी चुनौतीहरूको सामना गर्न सँगै काम गर्न’ दुवै देशको महत्वबारे छलफल गर्ने अपेक्षा गरिएको छ ।’

करिब पाँच वर्षमा चीनको राजधानी बेइजिङ भ्रमण गर्ने सबैभन्दा उच्च पदस्थ अमेरिकी अधिकारी ब्लिन्केनको गत महिना भएको भ्रमण दुर्लभ भएको र यस क्रममा वासिङ्टन र बेइजिङबीचको तनावपूर्ण सम्बन्धमा आफूले प्रगति देखेको चिनियाँ राष्ट्रपति सीले बताएका थिए ।

बेइजिङमा येलेनले चीनसँगको आर्थिक सम्बन्धलाई अमेरिकाले कसरी हेर्छ भन्ने विषयमा छलफल गर्ने एक वरिष्ठ अर्थ अधिकारीले बताएका छन् । उनले चीनका वरिष्ठ अधिकारीसँग भेटवार्ता गर्ने र प्रमुख अमेरिकी कम्पनीको अवलोकन गर्नेछन्

प्रतिक्रिया दिनुहोस्