Logo
Logo

एक महिलाको कारण बैंकमा हंगामा


441.3k
Shares

काठमाडौं । डायमी ट्रेडिङ प्रालि जोरपाटीका सञ्चालिका शान्ताकुमारी बुढाथोकीले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट लिएको कर्जा समयमा तिर्न नसकेपछि बैंकले उक्त कर्जा प्रोभिजन गर्नुको विकल्प थिएन । तर, बैंकले प्रोभिजन गर्नु अगाडि उक्त कम्पनीलाई जोगाउन पटक–पटक कर्जा दिइरह्यो । कर्जाको साँवा ब्याज भुक्तानी गर्न बैंकले ऋणीलाई पटक–पटक आग्रह ग¥यो । ऋणीले ब्याज तिर्ने प्रतिबद्धता पनि जनायो । तर, समयमा ऋण तिर्न नसकेपछि बाध्य भएर बैंकले उक्त ऋणलाई प्रोभिजनमा पठाउन बाध्य भयो ।

यसै क्रममा वैशाख १७ गते डायमीका सञ्चालिका शान्ताकुमारी बुढाथोकी र उनका श्रीमान् भारतीय नागरिक गुन्जनकुमार लाजिम्पाटस्थित बैंकमा पुगे । बैंकका डिसीओ महेश शर्मा ढकालसँग कर्जाका विषयमा कुराकानी गरे । डिसीओ ढकालले अहिलेको लागि ४ करोड रुपैयाँ बुझाउन आग्रह गरे । त्यस कुरामा दुवै जनाले सहमति गरेर फर्किए ।

त्यो भन्दा अगाडि एमालेका सांसद एलपी साँवा लिम्बूले बैंकका सञ्चालक गोपाल खनाललाई फोन गरेर शान्ताकुमारी बुढाथोकीलाई समस्या परेकोले सहयोग गर्न आग्रह गरे । सञ्चालक खनालले डिसीओ महेश शर्मालाई सहयोग गरिदिन फोन गरे । उक्त फोनपछि समय लिएर २०७९ चैत २९ गते बुढाथोकी एक्लै बैंक पुगिन् । डिसीओ महेश शर्मासँग राम्रै कुराकानी भयो । बुढाथोकीले थप ऋणको लागि आग्रह गरिन् । डिसीओ शर्माले थप ऋणको लागि पुरानो कर्जा चुक्ता गर्दै जान आग्रह गरे । बुढाथोकीले कर्जा अन्यत्र बैंकमा सार्ने कुरा बताइन् । डिसीओ शर्माले जहाँ सारे पनि बैंकको ऋण चुक्ता गर्नुपर्ने बताए ।

त्यसपछि बैंकका कर्मचारीहरूले ऋणका लागि बुढाथोकीलाई ताकेता गर्दै आए । तर, समयमा न ऋण चुक्ता भयो, न त वैशाख १७ गतेको प्रतिबद्धताअनुसार उनको श्रीमान् गुन्जनकुमारले ४ करोड नै जम्मा गरे ।

यतिबेलासम्म बैंक र ऋणीको बीच खासै समस्या थिएन । बैंकको पुरानो ऋण भएकोले असार मसान्तसम्म तिर्ला भन्ने आशामा बैंक थियो । तर, जब असार महिना सुरु भयो, तब ऋणी शान्ता बुढाथोकी असार ४ गते आफूमाथि बैंकका कर्मचारीले महिला हिंसा गरेको आरोपमा महिला आयोगमा उजुरी दर्ता गर्न पुगिन् । यो घटनाले बैंकका कर्मचारीलाई तनाव उत्पन्न गरायो । बैंकका सम्पूर्ण कर्मचारी स्तब्ध भए । ऋणी बुढाथोकीमाथि बैंकका कर्मचारीले महिला हिंसा गराएको भए त्यतिबेलै किन बाहिर ल्याइनन् ? तीन महिनापछि बैंकको ऋण तिर्न छाडेर एक्कासी उनी महिला आयोगमा कुन नियतले उजुरी दर्ता गर्न गइन् भन्ने प्रश्न बैंक कर्मचारीहरूको छ ।

उता महिला आयोगले पनि उक्त उजुरीको छानबिन नै नगरी कारबाहीको लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयमा पत्र लेखेर पठाएको छ । महिला आयोगमा परेको उजुरीउपर आयोगमा प्रारम्भिक छलफल नै नगरी एक्कासी जिल्ला प्रशासन कार्यालयमा उक्त निवेदन किन पठाइयो भन्ने प्रश्न पनि उठेको छ । कतिपय यस्ता उजुरीमाथि महिला आयोगले प्रारम्भिक छानबिन गरेर मात्रै कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय पठाउने प्रचलन छ । तर, शान्ता बुढाथोकीको हकमा आयोगले प्रारम्भिक अनुसन्धान बिना कारबाहीको लागि जिल्ला प्रशासन कार्यालयमा पत्र पठाउनुले पनि यो घटना नियोजित देखिन्छ ।

स्रोतका अनुसार शान्ताकुमारी बुढाथोकीले उक्त बैंकबाट हामीनिट इन्डस्ट्रिजका लागि १० करोड, डायमी ट्रेडिङका लागि ८ करोड १७ लाख र तम्पिन्जो इन्डस्ट्रिजका नाममा २५ करोड र व्यक्तिगत कर्जा करिब ५ करोड लिएको बताइन्छ । बैंकका कर्मचारीका अनुसार एउटा प्रयोजनका लागि लिएको ऋण अर्को प्रयोजनमा लागनी गर्दा उक्त कम्पनी समस्यामा परेको देखिन्छ । नभए, दुई वर्ष अगाडिसम्म शान्ताले नियमित व्याज बुझाउँदै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्