नेपालमा केही समययता ‘जसले हान्यो, उसले जान्यो’ भन्ने खालको भाष्य निर्माण भइरहेको छ । जो जति म नै राज्य हुँ भन्ने लुइस १४ को मार्गमा अगाडि बढ्छ र कानुन मान्दिनँ भन्छ ऊ नै लोकप्रिय हुँदैछ ।
केही दिनयताका मनमौजी घटनाले नेपाली लोकतन्त्रलाई क्रमशः निरीह बनाउँदैछन् । परिमाणतः कतै देश नजानिँदो किसिमले ‘लोकप्रिय तानाशाह’को चरणमा प्रवेश त गरिरहेको छैन भन्ने सन्देह पैदा भएको छ ।
प्रसंग नेपालका केही लोकप्रिय अनुहारको हो । त्यस्तो अनुहारको कुरा गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकै नाम अग्रपंक्तिमा आउँछ ।
लामिछाने आफू जन्मेको देश नेपालको नागरिकता त्यागेर अमेरिकी नागरिक बनेका र आफूले बनाएको अमेरिकी नागरिकता पनि फेरि त्यागेर नेपाली नागरिक भएका व्यक्ति हुन् । एकै जुनीमा दुई–दुईपटक नागरिकता त्याग्ने लामिछाने आफ्नो महत्वाकांक्षा र स्वार्थपूर्तिका लागि एकजना मानिसले के–के गर्न सक्छ भन्ने ज्यूँदोजाग्दो उदाहरण हुन् ।
यस अतिरिक्त उनीसँग नेपालको सामाजिक मूल्य, मान्यता र आदर्शको कशीमा खह्रो उत्रन नसक्ने खालका विवाह–छोडपत्र र विवाहेत्तर सम्बन्धका शृंखलाबद्ध परिघटनाको लामो सूची छ । अमेरिकाबाट आर्थिकरूपमा टाट पल्टेर नेपाल फर्केका उनी अहिले जे–जस्तो विलासी जीवन बाँचिरहेका छन्, त्यो पनि संशयको घेरामै छ । यसको अर्थ उनको आर्थिक जीवन पनि पारदर्शी छैन ।
उनी सुरूदेखि नै नेपालको नागरिकता र राहदानीलाई समेत खेलाची सम्झेर कानुनसँग खेलिरहेका छन् । उनले अमेरिकी नागरिकका रूपमा भिसा लिएर नेपाल पसे । त्यसपछि पुरानै नेपाली नागरिकता निकालेर नयाँ नेपाली राहदानी बनाए, त्यही नागरिकताकै आधारमा पहिलो श्रीमतीसँग सम्बन्धविच्देछ गरे नयाँ श्रीमतीसँग विवाह दर्ता गरे । त्यही नागरिकताका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेर पार्टी सभापति भए । प्रतिनिधिसभा उम्मेदवार भए, अरूको उम्मेदवारीमा हस्ताक्षर गरे । चुनाव जितेर देशको उपप्रधानमन्त्री तथा गृहमन्त्री भए ।
यतिका सबै भएर अनेक राष्ट्रिय महत्वका अनेक निर्णय गरिसकेका रविको अन्ततः नागरिकता नै कायम रहेन । तर, दुर्भाग्य त्यही गैरनेपाली हैसियतमा प्राप्त पद र गरेका निर्णयहरू मान्य भए । अझ, केही समयअघि उनी नेपालको राष्ट्रिय झण्डा पनि उल्टो फर्फराइरहेका थिए ।
यस अतिरिक्त उनले अनेक विवादास्पद कुरा सार्वजनिकरूपमै बोलेका छन् । नानीका बाबु भनेर जसको उग्रविरोध गरे, उनकै उपप्रधान तथा गृहमन्त्री भए । गृहमन्त्रीका रूपमा पनि उनले राष्ट्रिय परिचयपत्र र रोडा–ढुंगा–गिट्टीसम्बन्धी पैसा चलखेल भएका अत्यन्त विवादास्पद निर्णय गरे ।
अझ यसो भनौँ, हिजो एक सञ्चारकर्मीका रूपमा वा चुनावमा उम्मेदवार हुँदा बोलेका कुरा र उठाएका प्रश्न रास्वपाका सभापति र सांसद–मन्त्री हुँदा उनको जीवनमा कहीँकतै ट्याली नै भएनन्, भइरहेका छैनन् ।
यद्यपि, बोलेर नै जनताको हत्केलामा आकाशका जूनतारा झार्न सक्ने लामिछानेको लोकप्रियताको ग्राफ घटेको छैन । नेपालको नागरिक नै नभई संघीय सांसद र उपप्रधानमन्त्री तथा गृहमन्त्री भएको सर्वोच्च अदालतको फैसलाका कारण सबै सार्वजनिक पद गुमाएका उनी त्यही निर्वाचन क्षेत्रमा भएको उपनिर्वाचनमा पहिलाको भन्दा भारी मतले विजयी भए ।
अझ, बागी युवा कांग्रेसी डा. स्वर्णिम वाग्लेलाई पार्टीमा भित्र््याएर राष्ट्रपति रामचन्द्र पौडेललेले जितेको कांग्रेसको बर्चस्व रहेको तनहुँको निर्वाचन क्षेत्र १ लाई समेत घण्टीमय बनाउन सफल भए । अर्थात्, रवि एक जटिल जीवन बाँचिरहेका एक विवादास्पद व्यक्तित्व हुन् ।
रह्यो लोकतान्त्रिक व्यवहारको कुरा– २०६२–६३ को लोकतान्त्रिक आन्दोलनको बेला अमेरिका रहेका नेपालीहरू आन्दोलनको पक्षमा प्रदर्शन गरिरहेको बेला, त्यतिबेला अमेरिकामै रहेका लामिछाने भने तत्कालीन राजा ज्ञानेन्द्रको पक्षमा उभिएर प्रदर्शनकारीको सत्तोसराप गरिरहेका थिए ।
अहिलेकै कुरा गर्ने हो भने पनि राष्ट्रिय स्वतन्त्र पार्टी लामिछानेको एक आर्मी बिग्रेडजस्तै छ । उनले आफू मन्त्री हुने अवस्था हुँदा सरकारमा जाने र आफू हुन नपाउँदा पार्टीलाई नै सरकारमा सामेल हुन नदिने मात्र गरेनन्, पार्टीमा एक किसिमको हुकुमीशासन नै चलाइरहेका छन् ।
यसरी हेर्दा लामिछानेको विगत पनि लोकतन्त्रविरोधी नै थियो, अहिलेको पनि लोकतन्त्रसम्मत छैन । एक किसिमको तानाशाही नै लादिरहेका उनी आज पनि लोकप्रिय छन् । उनलाई भगवान मान्ने र उनका लागि मर्न र मार्न तयार हुने मानिसको संख्या आज पनि लाखौं छ । अझ, सामाजिक सञ्जालमा त उनको पक्षमा एक किसिमको साइबर दस्ताले नै काम गरिरहेको छ ।
बालेनको सनक
अब कुरा गरौं काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहउर्फ बालेन शाहको । कुनै बेलाका र्यापर साह पढाइले इन्जिनियर हुन् । केही समय पढाइअनुसारकै कामको अनुभव लिएका साह आज पनि मुलतः एक विद्रोही र्यापर नै हुन् ।
सामान्यतः गाँजा सेवन र्यापरको एक आधारभूत चरित्र नै हो । र, आज पनि उनी त्यो बुटी कल्चरबाट बाहिर निस्कन सकेका छैनन् । उनले गर्ने कतिपय निर्णय त्यही बुटीको ‘साइड इफेक्ट’ भएको मान्नेको संख्या पनि ठूलो छ ।
काठमाडौं मुलुककै राजधानी सहर, राजनीतिक रूपमा सचेत र अलि बढी राष्ट्रवादी फ्लेभर भएको सहर मानिन्छ । यसो भन्दा अलि शोभनीय नहोला तर पनि सत्य के हो भने कुनै बेला काठमाडौं ‘मनु मखु, मर्स्या ख’ नै भन्थ्यो । बालेनको पृष्ठभूमि मनु हैन, मरस्या नै हो ।
यद्यपि, यसपटक काठमाडौँले मनुलाई हराएर मर्स्यालाई जितायो, त्यो पनि अभूतपूर्व बहुमतका साथ । कांग्रेसबाट कुनै बेलाका सर्वमान्य नेता गणेशमान सिंहकी बुहारी सिर्जना सिंह र एमालेबाट कुनै बेला काठमाडौँकै चर्चित मेयर केशव स्थापित उम्मेदवार थिए ।
इतिहास बोकेका दुई ठूला पार्टी नेपाली कांग्रेस र नेकपा एमाले अनि ती पार्टीका पनि लोकप्रिय उम्मेदवारलाई दरकिनार लगाउँदै स्वतन्त्र हैसियतमा उठेका बालेन्द्रले जित्नु एक किसिमको आठौँ आश्चर्य नै थियो ।
यसरी म्याजिक जीत हात पारेका वालेन जुन तौरतरिकाका साथ अगाडि बढिरहेका छन्, त्यसले उनी बढी र्यापर र कम मेयर देखाएको छ । उनी उपमेयर, वडा अध्यक्षलगायतका निर्वाचित जनप्रतिनिधिलाई सुन्दैनन्, उनीहरूले भनेको मान्ने त धेरै टाढाको कुरा हो ।
उनी सनकका भरमा निर्णय गर्छन् र त्यसका लागि सारा जोडबल लगाएर भिडिरहन्छन् । उनी आफ्नो निर्णयमा सहमत नहुने व्यक्ति र संस्था कसैलाई पनि बाँकी राख्दैनन् । उनी एक स्थानीय तहका प्रमुख मात्र हुन् तर उनी न आफूमाथिका संघीय सरकारलाई मान्छन् न प्रदेश सरकारलाई नै गन्छन् ।
उनी ‘जङ्गेले बोलेपछि बोल्यो बोल्यो’ भन्दै मनमौजी किसिमले अगाडि बढिरहेका छन् । हुँदा हुँदा अब त उनी अदालतसँग पनि सिधै कुम जुधाउँन थालेका छन् । एक हैन, अनेक प्रकरणमा अदालतको आदेश समेत नमान्ने उर्दी जारी गरिरहेका छन् । लाग्छ, बालेन नै राज्य हुन् र उनले बोलेपछि त्यही नै कानुन हो र सबैले मान्नै पर्छ ।
वास्तवमा त्यस्तो हैन । बालेन बढीमा काठमाडौं महानगरपालिकाका मेयर मात्र हुन् र उनका आफ्ना पदीय सीमाहरू छन् । तर, नेपाली जनता उनले जे गरे पनि ठीक गरेको भन्दै मनमौजी शैलीको अनुमोदन गरिरहेका छन् । बालेनको लोकप्रियताको पारो अरू बढेको छ । पछिल्लो समयमा त उनको लोकप्रियता लामिछानेको भन्दा पनि माथि पुगेको हो कि जस्तो देखिन्छ ।
लिडर कम लेबर
नेपालका अर्का लोकप्रिय व्यक्तित्व धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ् राई हुन् । धरानजस्तो राजनीतिक रूपमा सचेत र दलीय व्यवस्थाप्रति प्रतिवद्ध सहरको मेयरमा स्वतन्त्र उम्मेद्वारी दिएर जितेका साम्पाङको जीत आफैंमा एक आश्चर्यको विषय हो ।
प्रायः सबै बोल्ने मात्र नेता भएको नेपालमा साम्पाङ गर्ने नेता हुन्, त्यो पनि आफैं सरिक भएर गर्ने नेता । जनपरिचालन गरेर आफैं काम गर्ने साम्पाङको शैली धेरै नेपालीलाई मन परेको छ । तर, साम्पाङ कम लिडर, बढी लेबर हुन् । उनको काम गर्ने चरित्र मनमौजी छ, सोच पनि मैले बोलेपछि सकियो भन्ने नै छ ।
लोकतन्त्र सबैलाई साथ लिएर चल्ने व्यवस्था हो भन्ने उनको दिमाखमा अझै रेकर्ड भइसकेको छैन । आफ्नो सुनाउने, अरूको पनि सुन्ने र सबैका राम्रा कुरा लिएर अगाडि बढ्नु नै लोकतन्त्रको सुन्दरता हो भन्ने सत्य उनले बुझेकै छैनन् । जहिले पनि म मात्र भन्ने साम्पाङ कहिलै हामी भन्दैनन् । स्वतन्त्र उम्मेद्वारका रूपमा जितेका उनलाई जनतामा भरोसा छ । र, उनको जनताको परिभाषा पनि आफ्नै छ ।
यसरी मूलतः एक तानाशाही चरित्रका साथ अगाडि बढिरहेका साम्पाङको पनि लोकप्रियताको पारो बढेको बढ्यै छ । सामाजिक सञ्जालमा उनको आफ्नै साम्राज्य छ । त्यही साम्राज्य उनी आफ्नो एजेण्टा सेटिङ गरेर अगाडि बढिरहेका छन् ।
०००
यी तीन पात्र जनताद्वारा निर्वाचित जनप्रतिनिधि हुन् । लोकतन्त्रको सुन्दर विधि पनि यही नै हो । प्राविधिक रूपमा रवि लामिछानेको पार्टी भए पनि उनको मूल चरित्र पनि व्यक्तिवाद नै हो । यसरी हेर्दा यी तीनै पात्र लोकप्रियतावादका मानक हुन् । लोकप्रियतावाद मूलतः व्यक्तिवाद नै हो । यसमा विधि, पद्धति र व्यवस्था क्रमशः गौढ हुँदै जाँदा सेलिब्रेटीपन बढ्दै जान्छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि पछिल्लो समय यही पथ रोजेका छन् । फ्यानका नाममा अनुयायी संस्कृति भित्रिन्छ र त्यसले आलोचनात्मक चेतको मर्ममाथि प्रहार गर्दा विवेक बन्धकमा पर्छ ।
यो प्रवृत्ति लोकतन्त्रका लागि सबैभन्दा ठूलो चुनौती हो । त्यसमा पनि नेपालजस्तो विश्वभूमण्डलीयकरणको चपेटामा परिसकेको तर, त्यसका लागि आवश्यक स्रोत, साधन र पूर्वाधार तयार नभइसकेको देशका लागि त गम्भीर चुनौती नै हो ।
नेपालका यी तीन प्रतिनिधि पात्रले पनि अहिलेसम्म ‘फलानाले गरेनन्, म गरिदिन्छु’ भनेर कर्तव्यको हैन, अधिकारको मेनुमात्र बेचेको हो । तर, उनीहरुका स्वतन्त्र दुकान चलेका मात्र हैन, गजबले चलेका छन् । यी दुकान चल्दा कांग्रेस, कम्युनिष्टका नाममा वर्षौदेखि थापिएका पुराना ब्राण्डेड दुकान अप्ठ्यारोमा छन् ।
ती पसलका मालिक र कामदारमा अनिश्चितता र असुरक्षा बढ्दो छ । र, उनीहरू पनि के गर्दा लोकप्रिय भइन्छ भनेर सस्तो लोकप्रियताको भागदौडमा लागेका छन् । यो प्रतिस्पर्धाले नेपालको नयाँ लोकतन्त्र नै अप्ठ्यारोमा पर्ने त होइन भन्ने गम्भीर प्रश्न उठेको छ ।
०००
यो स्तम्भकार यतिबेला अष्ट्रेलियामा छ । अमेरिकापछि धेरै नेपाली पुगेको यो देशमा रहेका अधिकांश नेपाली युवा छन् र उनीहरू यतै बस्न सजिलो हुन्छ भनेर आएका हुन् । कम्तीमा पनि प्लस टू गरेर आइएल्समा ६ ल्याएका वा उनीहरूले जीवनसाथी छानेकाहरू भनेका नेपालका भविष्य हुन् । तर, सत्य के हो भने तिनै नेपालका भविष्य भने आफ्नो भविष्य नदेखेर यता आएका हुन् ।
सिड्नीमा भेटिएका एक युवा नेपालीले भने, ‘बालेन साह, रवि लामिछाने र हर्क साम्पाङ छन् र त नेपाल छ । अनि, हामीहरू यहाँ नेपालबाट आएका भन्छौँ । उनीहरू पनि नहुने भने नेपाल हुनुको अर्थ नै छैन ।’
उनले भनेको यो भनाइको तात्पर्य गहिरो छ । यो स्तम्भकारलाई त एक किसिमको ऐठन नै लगायो । जब एक युवा नेपाली बालेन साह, रवि लामिछाने र हर्क साम्पाङमा नेपाल देख्छ, त्यो नेपालको लोकतन्त्रका लागि गम्भीर चिन्ताको विषय हो ।
अझ यसो भनौ, कानुन हातमा लिएर मनमौजी तरिकाले लोकतन्त्रका मूल्य, मान्यता र आदर्शहरू फाँडिरहेका यस्ता ‘भष्मे डन’मा नेपालको भविष्य देख्ने अवस्था सिर्जना हुनु कदापि पनि शुभसंकेत हैन, हुन सक्दैन ।
यसबाट के प्रश्न उब्जिएको छ भने कतै नेपाल दलीय लोकतन्त्रको लिकबाट बाहिर निस्केर लोकप्रियतावादको तानाशाही–सुरुङतिर त प्रवेश गरिरहेको छैन ?