काठमाडौं । ठूला औद्योगिक घराना भ्याट छलीबाटै अर्बपति भएको कुरा बेला–बेला सार्वजनिक हुने गरे पनि तिनीहरुमाथि कडा कारबाही भएको देखिँदैन । जसका कारण हरेक वर्ष भ्याट छलीको घटना बढ्दै गएको छ ।
राज्यको माथिल्लो तहमा पहुँच हुनेहरुले नै भ्याट छली गर्ने हुँदा ठूला भ्याट छलीको काण्ड सेटिङमै ढिसमिस हुने गरेको पनि छ । एकातिर सरकार राजस्व उठेन भनेर पुर्पुरोमा हात राखेर बस्नुपर्ने अवस्था छ, अर्कोतिर नक्कली भ्याट बिल प्रयोग गरेर अर्बौअर्ब राजस्व लुट्नेहरुमाथि आक्रामक बन्न सकेको छैन ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जस्तै नक्कली भ्याट प्रकरणमा मुछिएका ठूला औद्योगिक घरानाका मालिकहरुलाई जेल पठाउन सकियो भने मात्रै भ्याट छली नियन्त्रण हुने आशा गर्न सकिन्छ ।
स्रोतका अनुसार आन्तरिक राजस्व विभागले अहिले पनि करिब दुई हजार फर्ममाथि भ्याट छलीको आरोपमा अनुसन्धान थालेको छ । अनुसन्धानबाट करिब १० अर्बभन्दा बढी भ्याट छली गरिएको पाइएको छ । ती फर्मको नाम सार्वजनिक गर्दै भ्याट छलीमा संलग्नमाथि कारबाही गर्न सकियो भने राजस्वमा पनि वृद्धि हुने छ ।