काठमाडौं । काठमाडौंको ठमेलस्थित चर्चित नाइट क्लब एलओडीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
ललितपुर जिल्ला अदालतले एलओडीका सञ्चालकहरु रुदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । क्लबमा बालिका प्रवेश गराएको आरोपमा उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो ।
पक्राउ पुर्जी जारी भएसँगै ललितपुर प्रहरी परिसरले उनीहरुको खोजी गरिरहेको छ । गत ३१ जेठमा एलओडीमा छिरेकी १६ वर्षीया बालिका सानेपामा बलात्कृत भएकी थिइन् । सो घटनामा प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान अगाडी बढाएको थियो ।
बलात्कृत नाबालिकले दिएको किटानी जहेरीको आधारमा पोखरा घर भई बागडोल बस्दै आएका ५० वर्षीय सुदनबहादुर कोइरालालाई पक्राउ गरी सोधपुछ गर्दा कोइरालाले पिडीत भनिएकी युवतीकाे उमेर नाबालिक नभएको वयान दिएका थिए । नाबालिक क्लबमा छिर्न नपाइने भन्दै उनले पिडित भनिएकी नाबालिक उमेर पुगेको युवती रहेको बताए ।
सोही वयानका कारण एलओडीका सञ्चालकद्वय श्रेष्ठ र सुवाललाई अनुसन्धान र कारबाहीको दायरामा ल्याउन प्रहरीले खोजिरहेको हो ।