के प्रचण्ड भ्रममा छन् ? र, सोही भ्रममा विचलित भएका हुन ? बहुसंख्यक कम्युनिष्ट नेता, कार्यकर्ता र समर्थक यतिखेर यो प्रश्नको जवाफ खोजिरहेका छन् । यो प्रश्नको जवाफ खोज्न माओवादीको विचार, आदर्श र सिद्धान्तको आलोकमा प्रचण्डको विगत नियाल्नुपर्ने हुन्छ । विगत र वर्तमान नियाल्दा लाग्छ– राजनीतिक जीवनको उत्तरार्द्धमा प्रचण्ड अनेकौँ भ्रमहरूमा बाचिरहेको छन् ।
राजनीतिज्ञको रूपमा प्रचण्ड अगाडि र पछाडि पाइला चाल्न सक्ने गतिशील नेतृत्व हुन् । कठोर रूपमा प्रस्तुत हुँदा उनी ‘प्रचण्ड अडान’मा रहन्छन् । र, कोमल रूपमा प्रस्तुत हुँदा पानीको छालसँगै तरङ्गित हुनसक्ने धरातलको ‘पुष्पकमल’ बन्छन् । यसरी नै नेपाली राजनीतिमा प्रचण्डबारे अनेक धारणा बनेको छ । प्रचण्डबारे अति ‘हिंस्रक र न्यायको प्रतिमूर्ति’को रूपमा दुई विपरीत मानक पनि बनेको छ ।
जनयुद्धलाई फगत हिंसा मात्र ठान्नेहरूले प्रचण्डमाथि १७ हजारको हत्याराका रूपमा भाष्य स्थापित गरेका छन् । तर, जनयुद्धलाई आमूल मुक्तिको एउटा आँधिबेरी मान्नेहरूले प्रचण्डलाई मुक्तिदाताको रूपमा स्थापित गरेका छन् । नेपाल र विश्व राजनीतिमा प्रचण्डबारे यी दुई धारणा अझै पनि कायमै छ । र, रहन्छ ।
विभेदयुक्त पुरानै शासन व्यवस्थाको पक्षधरले प्रचण्डलाई हत्यारा नै भन्छन् । तर, मुक्तिको चाहनामा सयौँ वर्षदेखि प्रताडितहरूले मुक्तिदाता भन्छन् । किनकि, प्रचण्डको नेतृत्वमा सम्पन्न जनयुद्धले नै तमाम विभेदहरूको अन्त्य गर्याे । भलै, व्यवहारिक रूपमा विभेदहरु पूर्ण अन्त्य हुन बाँकी नै छन् । बिस्तारै अन्त्य हुन्छ नै ।
जनयुद्धमा प्रचण्ड विभेदविरुद्ध लड्ने मुक्तिदाताका मानक थिए । त्यसैको बलमा जनयुद्ध सम्पन्न भयो । जनयुद्धले स्थापित गरेका मुद्दाका आधारमा वर्तमान व्यवस्था स्थापित भयो । जुन व्यवस्थाले कुनै पनि प्रकारको विभेद स्विकार्दैन । यस अर्थमा, जनयुद्धका घाउहरूले पोल्दापोल्दै पनि प्रचण्ड र जनयुद्धबारे सकारात्मक बन्नुपर्ने हुन्छ ।
कुनै पनि सर्तमा युद्ध प्रिय हुँदैन । तर, प्रिय लागे या नलागे पनि युद्धका प्रभावहरू सबैसम्म पुग्छन् । सकारात्मक र नकारात्मक दुवै कोणबाट सबैलाई प्रभाव पार्छ । र, जनयुद्धको प्रभाव पनि सबै नेपालीमा त्यसरी नै परेको थियो । पुरानो सत्ताकै पक्षपोषकले जनयुद्ध अस्वीकार गरे, परिवर्तन र मुक्ति चाहनेले खुलेरै जनयुद्धलाई आत्मसाथ गरे ।
दश वर्षसम्म त्यसै युद्ध चलेन । बहुसंख्यक उत्पीडित वर्गको अभूतपूर्व साथ र सहयोगले युद्ध टिक्यो । र, जनताकै साथ र सहयोगमा पुरानो राज्यसत्ताको जरा काटिँदा राजतन्त्र ढल्यो, गणतन्त्र स्थापना भयो । त्यसैले त जनयुद्ध हुँदै संविधानसभाको निर्वाचनसम्म आइपुग्दा माओवादीलाई जनताले अभूतपूर्व साथ दिए, सहयोग गरे ।
युद्धलाई प्रेम गरेर जनताले माओवादीलाई सहयोग गरेका थिएनन् । माओवादीले अघि सारेका एजेन्डाका आधारमा मुक्तिको सपना देखेकाहरूले अन्तस्करणबाटै सहयोग गरेका हुन् । जतिखेर आफ्नो एजेन्डामा माओवादी प्रतिवद्ध थियो, आफ्नो मुद्दाप्रति इमानदार थियो । तर, माओवादीको त्यो प्रतिवद्धता र इमानदारिता संसदीय राजनीतिमा कायम रहन सकेन । आज एकपछि अर्को गर्दै समर्थन गुमाउँदै जानुको कारण यो नै हो ।
संसदीय यात्रामा पहिलो संविधानसभाको निर्वाचन माओवादीका लागि अभूतपूर्व उपलब्धि थियो । त्यो उपलब्धिको आधार माओवादीको क्रान्तिकारी धार थियो । माओवादीको क्रान्तिकारी छविसँग आम जनता आशावादी थिए । जनताले मुक्ति र समृद्धिको सपना माओवादीकै एजेन्डामा देखेका थिए । तर, पहिलो इनिङबाटै माओवादीले विचलनको यात्रा तय गर्यो । त्यसपछि माओवादीका लागि जनताको साथ र सहयोग टाढा हुँदै गयो ।
आज माओवादी झन्डै झन्डै रक्षात्मक पङ्क्तिमा पुगेको छ । हरेक निर्वाचनमा जनमत गुमाउँदै गएको छ । अस्तित्व रक्षाका लागि सबैखाले शक्तिको साथ खोज्नुपर्ने परिस्थिति बनेको छ । अरूले नथामे अस्तित्व नै गुम्ने खतराले माओवादी पिरोलिएको छ । यस्तो अवस्थामा आफूलाई करेक्सन गर्नुपर्ने माओवादी झनै स्खलित हुँदै गएको छ । नेतृत्व द्रुत गतिमा विचलित हुँदै जाँदा माओवादीको अस्तित्व नामेट हुने क्रम सुरु भएको छ ।
एक–एक गर्दै आफैले स्थापित गरेका मुद्दाहरू छोड्दै जाँदा आम उत्पीडित वर्गले माओवादीको साथ छोड्दै गए । तर, आफ्नै वर्गले साथ छोड्नुको कारण पहिल्याउन माओवादीले आवश्यक ठानेन । बरु, साथ छोड्नेहरूमाथि प्रतिशोधको भाव माओवादीमा बलियो बन्दै गयो । आफ्नै वर्गसँँग प्रतिशोध साँध्ने अवस्थामा पुग्दा माओवादीले झनै गुमाउँदै गएको छ ।
पहिचानको मुद्दा माओवादीले स्थापित गर्यो । सोही मुद्दाले जनयुद्ध सफल भयो । सोही मुद्दाकै आधारमा आजसम्म माओवादी अस्तित्वमा थियो । तर, प्रदेश १ को नामकरणको चरणसम्म आइपुग्दा माओवादीले औपचारिक रूपमा पहिचानको मुद्दा पनि छोड्यो । अब माओवादीसँग कुनै मुद्दा नै छैन । मुद्दा बिना राजनीति हुँदैन ।
माओवादीले पहिचानको मुद्दा आज आएर छोडेको होइन । २०७० मा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा सर्वनाक हार बेहोर्याे । त्यसपछि माओवादीको बुझाइ रह्यो– ‘आदिवासी जनजातिले भोट नदिएका कारण हारियो ।’ तर, आदिवासी जनजातिले भोट नदिनुको कारण माओवादीले खोजेन । ०७० को निर्वाचनमा माओवादी हार्नुको कारण एक–एक गर्दै धरातल बिर्सँदै जानु थियो । त्यो क्रम त्यस यताका हरेक निर्वाचनमा दोहोरिँदै आएको छ । त्यसैको प्रतिशोधका रूपमा प्रदेश १ मा माओवादीले पहिचानविरुद्ध मतदान गर्यो ।
नेपाली उक्ति झैँ माओवादी ‘हिँड्दै जाने, पाइला मेट्दै जाने’ जाने चरित्रमा प्रस्तुत हुँदै आएको छ । अर्थात्, संसदीय यात्रामा माओवादीले हरेक मोडहरूमा आफ्ना मुद्दा र प्रतिबद्धताहरु छोड्दै गएको छ, भुल्दै गएको छ । नेपाली जनतामा त्यसको गहिरो दुःख र प्रभाव परेको छ । जुन प्रभावको अवसर माओवादीमा प्रत्यक्ष देखिँदै गएको छ । त्यो प्रभावले सिङ्गो माओवादी ठूलो भ्रममा परेको छ ।
गहिरो भ्रममा परेर माओवादी पहिचानको विपक्षमा मात्र उभिएको छैन । कार्यकारी प्रमुखका रूपमा हिन्दू धर्म संरक्षणको जिम्मा प्रचण्डले लिएका छन् । भारत पुगेर गेरु धारण गरेका प्रचण्डले पशुपतिनाथ मन्दिरमा पूजापाठ गरेका छन् । त्यसरी नै माओवादीका नेता कार्यकर्ता पछि फर्कँदै छन् । यसको ‘ब्याक फायर’ अर्को निर्वाचनमा अवश्य देखिएला ।
माओवादीलाई हेक्का छैन– कि, हिन्दू धर्म र राजाको जिम्मा लिने शक्तिहरू अरू नै छन् । पहिचानको विरुद्ध न्वारानको बल लगाउनेहरू अरू नै छन् । र, वर्तमान व्यवस्थाविरुद्ध लड्नेहरू पनि अरू नै छन् । त्यसैले यी सबै प्रक्रियामा माओवादीले आफूलाई बिस्तारै सामेल गरिरहेको छ । आजका ‘प्रचण्ड हर्कत’हरू त्यसैको प्रतिविम्ब हुन् । त्यसको परिणाम माओवादीले कसो नभोग्ला ?
आफूलाई जति धेरै हिन्दूवादी भने पनि, जति धेरै पहिचान विरोधी देखाए पनि, त्यति नै धेरै मध्यम र बिचौलिया वर्गको प्रतिनिधिको रूपमा उभ्याए पनि माओवादीलाई कसैले विश्वास गर्ने छैनन् । आफ्नै गल्तीका कारण कमजोर हुँदै गएको वास्तविकता नबुझेर गहिरो भ्रममा फस्दै जाँदा माओवादीको दर्दनाक दुःखान्त टाढा देखिन्न ।