म भित्र देव छ सधैँ बाचिरहेको
म भित्र कश्यप–दनु पुत्र छ सधैँ खित्काइरहेको
लगातार चलिरहेको छ युद्ध म भित्र
अठार दिनको महाभारत युद्धभन्दा अगि बढेर
त्यसैले मेरो मनको कुरुक्षेत्रमा यो कहिले सकिएन
अनवरतको यो सङ्घर्ष मेरो जीवनको म आफै भित्र
पानी घोटेपछि नै बत्ती बल्छ
सङ्घर्षबाट नै प्रेमको अभ्युदय हुन्छ
प्रेम अपार छ, सकार छ, बहु प्रकारको छ
वात्सल्य प्रेम, प्रियतमसँगको प्रेम, मित्रसँगको प्रेम
यदि समाहित हुन सक्छ सबै एकाकारमा भने
त्यहाँ मात्र मेरो विजय हुन्छ
त्यो एकाकार नै कर्म हो
चार योगको संयुक्त योग हो
यस्तो योगबाट गरिने कर्म नै ईश्वर
कर्म बिना कहाँ खोज्ने ईश्वरलाई ?
कर्म बिना त्यो सधैँ अप्राप्य छ
घण्टा बजाएको आवाज, ऋचाको वाचन
मुक्तिको राग, मोक्षको अनुराग सबका सब बेकार छ
ईश्वरले मालाई खोज्ने कर्मको लागि
मैले ईश्वर खोज्ने धर्मको लागि
मलाई जति ईश्वर चाहिन्छ
त्यत्तिकै ईश्वरलाई म चाहिन्छ
पात्र केवल म मात्र हु त्यो कर्मको
ईश्वर कहिले पात्र बन्न सक्तैन
कर्म नै त्यो सेतु हो हामी दुई बिचको
कर्म नै पुलेसो हो हाम्रो मिलनको
अनि मात्र अभ्युदय हुन्छ समर्पणको
समर्पणको पूर्णतामा सर्त हुँदैन
त्यो आफूले आफैलाई गर्ने न्यौछाबर हो
त्यस्तो अवस्थामा यदि पुग्न सक्यौ भने
ईश्वर भन्छन् – ‘चिन्ता लिँदै नलेऊ
जिम्मा मेरो, चिन्ता रहित अवस्थाको ।’