पोखरा । गण्डकी प्रदेश सरकारका तर्फबाट अर्थमन्त्री जीतप्रकाश आलेले असार १ गते प्रदेशसभामा पेश गरेको आगामी वर्षको बजेट शुक्रबार बहुमतले पारित भएको छ । गण्डकी प्रदेश सरकारले ३३ अर्ब ४२ करोेड ७२ लाख रुपैयाँको बजेट ल्याएको थियो । बजेटप्रति सत्तापक्षकै सांसदले तीव्र असन्तुष्टी जनाएका थिए ।
सरकारको नीति तथा कार्यक्रम र बजेटसँग तालमेल नभएको र सांसदको योजना काटेर कर्मचारीको योजना हालिएको भन्दै सत्तापक्षकै सांसदले असन्तुष्टि जनाएका थिए ।
विपक्षी दलका सांसदहरुले सरकारले स्थानीय तहलाई अनुदान घटाएको, बजेटका कार्यक्रमको चुहावट भएको, बिगतका सरकारका कार्यक्रमले बजेटले सम्वोधन नगरेको भन्दै विरोध जनाएका थिए । सरकारले गत वर्षभन्दा करिब डेढ अर्ब घटाएर बजेट ल्याएको थियो ।
एमालेले अनुदानका बजेटमा पालिकाले पठाएका योजना प्रदेश सरकारले हेरफेर गरेको भन्दै आपत्ति जनाएको थियो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र अर्थमन्त्री जीतप्रकाश आलेले वितरणमुखी होइन, परिणाममुखी बजेट ल्याइएको दाबी गरेका छन् ।
अघिल्लो वर्ष सरकारले ५ अर्बभन्दा धेरै राजस्व उठाउने लक्ष्य लिएको थियो । तर, ३ अर्बको हाराहारीमा मात्र उठ्न सक्ने देखिएको अवस्थामा अर्को वर्ष ५ अर्ब १६ करोड ९१ लाख उठाउने लक्ष्य बजेटले राखेको छ ।
सरकारले ल्याएको ३३ अर्ब ४२ करोेड ७२ लाख बजेटमध्ये चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख अर्थात कुल विनियोजित बजेटको ३८.१ प्रतिशत विनियोजन भएको छ । पुँजीगततर्फत २० अर्ब १९ करोड अर्थात ६०.४ प्रतिशत बजेट ल्याइएको हो ।
आगामी आर्थिक वर्षमा खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानिकरण अनुदानबाट ७ अर्ब ६२ करोड २५ लाख, राजश्व बाँडफाँडबाट ९ अर्ब ५ करोेडकोे अनुमान गरिएको छ । रोयल्टी बाँडफाँडबाट ४० करोड, ससर्त अनुदानतर्फत ४ अर्ब ९४ करोड, समपूरक अनुदानतर्फ ८४ करोड, विशेष अनुदानतर्फ ७० करोड प्राप्त हुने अर्थमन्त्री आलेले अनुमान प्रस्तुत गरेका छन् ।