Logo
Logo

ठूलीगाड नदीमा माछा मारे कारबाही


- दृष्टि न्युज/संवाददाता

0
Shares

डोटी, ६ पुस । यहाँको दक्षिणी क्षेत्रमा पर्ने ठूलीगाड नदीमा गैरकानूनीरूपमा माछा मार्न प्रतिबन्ध लगाइएको छ । जलीय जैविक विविधता संरक्षण गर्न बडीकेदार र जोरायल गाउँपालिकाले नदीमा माछा मार्न बन्द गर्ने निर्णय गरेको हो ।
जलचर संरक्षण ऐन कार्यान्वयनमा ल्याई जलीय जैविक विविधता संरक्षणमा ती दुई स्थानीय तह संयुक्त रुपमा जुटेका छन् । अब नदीमा तथा खोलामा बम विष्फोट गरी, विषादी प्रयोग गरी तथा करेन्ट प्रयोग गरी माछा मार्न बन्द गरिएको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जनाए । उनले भने, ‘हामीले छुट्टै कानून बनाएर स्थानीय नदी तथा खोलामा गैरकानूनीरूपमा माछा मार्न बन्द गराएका छौँ, कानूनविपरीत काम गर्ने जो–कोहीलाई कारवाही हुनेछ ।’
ती पालिकाले संयुक्त रुपमा जलचर संरक्षणसम्बन्धी समूह गठन गरी ठूलीगाड जलाधार क्षेत्रको संरक्षण गर्न थालेका छन् । गाउँपालिकाले संयुक्तरूपमा छुट्टै ऐन कानून बनाई समूह गठन गरेर समूहलाई नै नदी तथा माछाको संरक्षणको जिम्मा दिएको बडीकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताए । पछिल्लो समयमा विभिन्न विष्फोटक पदार्थ, करेन्ट लगाएर माछालगायत अन्य जलचर प्राणी मारिन थालेपछि र लोप हुने अवस्था आएको भन्दै स्थानीय तहले नीति बनाएर संरक्षणमा लागेका हुन् । स्थानीय तहले बनाएको ऐनमा नदीमा बम, विषादी प्रयोग गरी माछा मार्नेलाई कानूनबमोजिम कारवाहीसहित जेल सजायसमेत हुने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्