काठमाडौं, ६ पुस (एजेन्सी) । पछिल्लो समय अमेरिका र उत्तर कोरियाबीच पुन तनाव सिर्जना हुने संकेत देखिएको छ । हालै उत्तर कोरियाले अन्तर महादेशीय मिसाइल प्रशिक्षण गरेसँगै यी दुई देशबीच वाकयुद्ध सुरु भएको छ ।
यसैबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सिन्जो आबेबीच फोनवार्ता भएको जनाइको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार उनीहरुबीच उत्तर कोरियाले हालै गरेको भनिएको आणविक परीक्षण तथा कोरियाली प्रायद्वीपको बारेमा कुराकानी भएको छ ।
शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी प्रधानमन्त्री सिन्जो आबेलाई फोन गरेको ह्वाइट हाउसद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका प्रवक्ताले दिएको जानकारीअनुसार इरान र उत्तर कोरियाका विषयमा उनीहरुबीच कुराकानी भएको थियो ।
उनीहरुबीच हालै उत्तर कोरियाले आणविक परीक्षण गरेको र त्यसलगत्तै दिएको भनिएको एक धम्कीपूर्ण वक्तव्यका बारेमा समेत कुराकानी गरेको विज्ञप्तिमा उल्लेख छ । उत्तर कोरियाली उप विदेशमन्त्री रि ताय सङले हालैमात्र एक विज्ञप्ति प्रकाशन गरी अमेरिकाले आगामी क्रिस्मसमा कस्तो किसिमको उपहार खोजेको हो त्यो स्पष्ट होस् भनेर धम्कीपूर्ण भाषामा बोलको थिए ।
अमेरिकासँग पछिल्लो समयमा कूटनीतिक रुपमा विवाद जारी रहेका बेला इरानी राष्ट्रपति हसन रउहानी जापान पुगेको समयमा अमेरिकी राष्ट्रपति ट्रम्पले जापानी प्रधानमन्त्री आबेलाई फोन गरेका हुन् । राष्ट्रपति रउहानी शुक्रबार जापानको राजधानी टोकियो पुगेका छन् ।
पछिल्लो समयमा संयुक्त राज्य अमेरिका र इरानबीचमा आणविक विषयलाई लिएर विवाद जारी छ । यसैबेला उनको जापान भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ । दुई वर्षयता दुई पटकसम्म अमेरिका र उत्तर कोरियाबीच उच्चस्तरीय वार्ता भएको छ । ती वार्ताहरुमा उत्तर कोरियाको निशस्त्रीकरणका विषयमा सहमति भएको तर सो सहमति बमोजिम काम हुन नसकेको अमेरिकाको भनाई छ ।