Logo
Logo

प्रभु महालक्ष्मी लाइफको सीइओ रमेश भट्टराई नियुक्त


1.2k
Shares

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार भट्टराई नियुक्त भएका छन् । नेपाल बीमा प्राधिकरणले उनको नाम स्वीकृत गरेसँगै नियुक्त भएका हुन् ।

मर्जरपछि बनेको प्रभु र महालक्ष्मी लाइफको एकीकृत कारोबार शुक्रबारबाट सुरु हुँदैछ । दुवै कम्पनीबीच २०७९ असार ३० मा मर्जरका लागि प्रारम्भिक सहमति र गत जेठ ३ गते अन्तिम सहमति भएको थियो ।

सम्झौतामा महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईलाई मर्जरपछिको कम्पनीमा आगामी ४ वर्षको लागि नियुक्ति गर्ने सहमति भएको थियो ।

उक्त सहमतिलाई प्रभु र महालक्ष्मी लाइफको जेठ २६ गते भएको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि बीमा प्राधिकरणमा प्रस्ताव पठाइएको थियो । नियुक्तिलाई प्राधिकरणले स्वीकृति दिएको हो ।

व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक भट्टराई महालक्ष्मी लाइफ इन्स्योरेन्सको स्थापनाकालदेखि प्रमुख कार्यकारी अधिकृत हुन् । उनले २०३८ सालमा नेपाल बैंकको अधिकृतबाट बैकिङ करिअर प्रारम्भ गरेका छन् । ४२ वर्षदेखि बैंक र बीमा क्षेत्रमा निरन्तर सक्रिय छन् ।

भट्टराई २०५२ मंसिर १५ गते वीरगंजमा स्थापित महालक्ष्मी फाइनान्स लिमिटेडमा प्रथम पटक संस्थापक प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएका थिए । त्यसपछि निरन्तर नेपाल लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्