काठमाडौं । नेपालका डिजिटल वालेट आईएमई पे, खल्ती र प्रभु पे ‘नेपाल पे’मा आवद्ध भएका छन् । यससँगै ग्राहकहरुले यी वालेटहरु प्रयोग गरी नेपाल पे क्युआरको मर्चेन्टमा क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् ।
नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी नेपाल पे क्युआर सञ्चालनमा ल्याइएको हो ।
क्युआर स्कीमको रुपमा पनि उपलब्ध रहेको उक्त नेपाल पे मा इस्युङ्गि एप, मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआवद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ । नेपाल पे क्युआरमा हाल २७ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरु र ३ भुक्तानी सेवा प्रदायकहरूले क्युआर मर्चेन्ट इनरोलमेन्ट सेवा उपलब्ध गराइरहेका छन् ।
२५ भन्दा बढी बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ र ९ वटा भुक्तानी सेवा प्रदायकहरूको वालेटहरूबाट नेपालपे क्युआरस्क्यान गरी भुक्तानी गर्न सकिन्छ भने अन्य संस्थाहरु पनि थपिने क्रममा छन् । आईएमई पे, खल्ती र प्रभु पे का क्रमशः ४० लाख, ३७ लाख र ९ लाख प्रयोगकर्ताहरु रहेका छन् ।
नेपाल पेको नेटवर्कमा ३ लाख ५० हजार क्युआर मर्चेन्टहरु छन् र हालै स्मार्ट क्युआरसंगको अन्तरआवद्धता पश्चात अब ६ लाखभन्दा बढि मर्चेन्टहरुको पहुँच हुनेछ । मर्चेन्टहरुको बिलिङ्ग प्रणाली वा पीओइस डिभाइस वा इकर्मस पोर्टलको पेमेन्ट गेटवेमा, फिजिकल वा डाइनामिकको रुपमा उक्त नेपाल पे क्युआर उपलब्ध रहेका छन् ।
आईएमई पे, खल्ती र प्रभुपे नेपाल पेसँगको यस साझेदारीले ग्राहकहरुलाई क्युआर सम्बन्धी भुक्तानीहरु गर्न थप सहज हुने विश्वास गरिएको छ ।